काठमाडौँ / सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सको ‘सानिमा रिलायन्स सरल तथा एकल जीवन बिमा योजना’ बिमितहरूको रोजाइमा परेको छ । आकर्षक सुविधाहरूले भरिपूर्ण भएकोले पनि यो योजना ग्राहकको रोजाइमा परेको हो ।
यो बिमालेखमा न्यूनतम बिमा शुल्कमै अधिकतम बचत तथा रक्षावरण सुविधा उपलब्ध छ । यो योजनामा भुक्तानी तरिका समेत लचिलो रहेको छ । यसमा बिमितहरूले दुई तरिकाबाट बिमाशुल्क भुक्तानी गर्न सक्नेछन् ।
पहिलो, बिमितले बिमा गर्ने बेलामा नै एकमुष्ट बिमाशुल्क भुक्तानी गर्न सक्नेछन् । अर्को, तरिकाचाहीँ बिमा अवधिभर किस्ता–किस्तामा बिमा शुल्क तिर्दै जाने हो । यसमा बिमितले त्रैमासिक, अर्धवार्षिक र वार्षिक भुक्तानीका विकल्पहरू रोज्न सक्नेछन् ।
यो बिमा योजनामा बिमितले अतिरिक्त शुल्क भुक्तानी गरेर ४ किसिमका सुविधा प्राप्त गर्न सक्छन् । जसअन्तर्गत बिमितले दुर्घटना मृत्यु सुविधा, पूर्ण स्थायी असक्तता, बिमा शुल्क छुट सुविधा र घातक रोग रक्षावरण सुविधा प्राप्त गर्नेछन् । बिमालेख चालु रहेको अवस्थामा बिमितको दुर्घटना बाट मृत्यु भएको खण्डमा बिमाङ्क रकमको दोब्बर रकम सम्म आश्रितले एकमुष्ट भुक्तानी प्राप्त गर्न सक्नेछ ।
साथै पूर्ण स्थायी अशक्तता सुविधाअन्तर्गत बिमितलाई बिमाङ्कसम्मको रकम अधिकतम् १२० महिनासम्म मासिक किस्तामा भुक्तानी गरिनेछ ।
यसका साथै बिमा शुल्कमा छुट सुविधासमेत पाइनेछ । यदि बिमित कुनै दुर्घटनापश्चात पूर्ण स्थायी असक्तता भएमा उसको तिर्न बाँकी बिमा शुल्क पुरै मिनाहा हुनेछ ।
घातक रोग रक्षावरण सुविधाअन्तर्गत बिमित कुनै घातक रोगको शिकार बनेको अवस्थामा उसले ५० लाख रुपैयाँसम्मको एकमुष्ट भुक्तानी पाउनेछ ।
जसमा विभिन्न १८ घातक रोग (क्यान्सर, मिर्गौला फेल (अन्तिम चरणको मिर्गौला फेल), प्राथमिक पल्मोनरी एटेरियल हाइपरटेन्सन, मल्टिपल स्क्लेरोसिस, प्रमुख अंग प्रत्यारोपण, पक्षाघात, पार्किन्सन लगायत) समावेश छन् ।
बिमा बचतका लागि मात्रै नभई भविष्यमा हुन सक्ने घातक रोगको जोखिम कभर गर्नका लागि पनि यो बिमा योजनामा बीमितहरूको आकर्षण बढ्दो छ ।
यस बिमा योजना खरिद गर्न बिमितको उमेर कम्तिमा १८ वर्ष पुगेको हुनुपर्ने छ भने बढीमा ६० वर्ष कायम गरिएको छ । त्यस्तै बिमा अवधि न्यूनतम् ७ वर्षको र अधिकतम ५२ वर्षको हुनेछ ।
बिमितहरूले न्यूनतम २५ हजार बिमाङ्क बराबरको बिमालेख खरिद गर्न सकिने यो योजनामा अधितममा भने बिमितको आयस्रोतको आधारमा बिमाङ्क रकम निर्धारण गरिनेछ ।
यस योजनामा बिमितहरूले बिमाअवधि समाप्ति पश्चात् बिमाङ्क रकम र पूरा अवधिको बोनस एकमुष्ठ रूपमा पाउनेछ । बिमा अवधिभित्र बिमितको मृत्यु भएमा बिमाङ्क रकम र सो अवधिसम्मको बोनस बिमितको हकवालाले पाउनेछन् ।
सानिमा रिलायन्सको यो बिमा योजनाले बचत गर्ने बानीको विकास गर्न सहयोग पुर्याउने छ । यसले भविष्यमा आउन सक्ने जोखिमबाट आर्थिक सङ्कटलाई सहजता प्रदान गर्न सघाउँछ ।
नेपालमै उत्कृष्ट जीवन बिमालेख प्रदान गरिरहेको सानिमा रिलायन्सले नेपाली समाजको आवश्यकता पहिचान गरी सोहीअनुसार फरक र नयाँ किसिमका बिमालेखहरू ल्याइरहेको छ ।