एसियन थाई फुड्स प्रालिले ४० करोड रुपैयाँको लगानीमा कपिलवस्तुमा चाउचाउ उद्योग सञ्चालनमा ल्याएको छ। कपिलवस्तु नगरपालिका–६, गोबरीमा करिब अढाई बिघा क्षेत्रफलमा फैलिएको यो उद्योग कम्पनीको दोस्रो शाखा हो।
मोरङबाट दुई दशकअघि व्यवसायिक यात्रा सुरु गरेको कम्पनीले अब कपिलवस्तुमा ‘प्रीति’, ‘टुपीएम’, ‘रमपम’जस्ता चर्चित ब्रान्डका चाउचाउ उत्पादन गर्न थालेको छ।
कम्पनीका प्रबन्धक महेश जाजुका अनुसार, यहाँ उत्पादित चाउचाउहरू देशभर बिक्रीवितरण हुने मात्र होइन, ३० भन्दा बढी मुलुकमा निर्यातसमेत भइरहेको छ।
उद्योगमा अन्य स्न्याक्स तथा मसला उत्पादन गर्ने मेसिनहरू पनि जडान गरिएको र आगामी ६ महिनाभित्र ती उत्पादनसमेत सुरु हुने योजना रहेको उनले जानकारी दिए।
“देशको मध्यभागमा पर्ने स्थान, राम्रो सडक सञ्जाल, र सजिलो पहुँच भएकाले वितरणमा निकै सहजता हुने देखिएको छ,” जाजुले भने, “स्थानीय स्तरमा पनि उल्लेख्य रोजगारी सिर्जना भएको छ।”
हालसम्म उद्योगमा ४० करोड रुपैयाँ लगानी भइसकेको छ भने थप २० करोड रुपैयाँ चालु पुँजीका लागि आवश्यक पर्ने बताइएको छ।