पाकिस्तानले लगातार दोस्रो दिन भारतमाथि ड्रोन र मिसाइल आक्रमण गरेको छ। भारतीय सञ्चारमाध्यमका अनुसार, बिहीबार पाकिस्तानले जम्मू कश्मीर, पञ्जाब र राजस्थानका ११ सहरहरूलाई लक्षित गर्दै ड्रोन आक्रमण गरेको हो।
जम्मू कश्मीरका जम्मू, साम्बा, केरन, तंगधार, कर्नाह, अखनूर, आरएस पुरा सेक्टर र अरनिया यी आक्रमणका प्रमुख लक्ष्य थिए। साथै, पञ्जाबको पठानकोट र राजस्थानका जैसलमेर र पोखरण सहरहरू पनि पाकिस्तानी ड्रोनको निसानामा परेका छन्।
पाकिस्तानी ड्रोनहरूले जम्मू विमानस्थल र पठानकोट वायुसेना स्टेसनलाई लक्षित गरे तापनि भारतीय वायु रक्षा प्रणालीले ती आक्रमणहरूलाई विफल पारेको जनाएको छ ।
पाकिस्तानले राजस्थानको जैसलमेरमा पनि ड्रोन आक्रमण गरेको छ। यसैक्रममा, राजस्थानका सबै सीमावर्ती जिल्लाहरूमा ब्ल्याकआउट लागू गरिएको छ।
पञ्जाब, जम्मू कश्मीर र राजस्थानमा उच्च सतर्कता अपनाइएको छ। पञ्जाबका जालन्धर र अमृतसर सहरहरू, साथै बीकानेर र श्रीगंगानगरमा पूर्ण अन्धकार छ। जम्मू, किस्तवाड, अखनूर, साम्बा र पठानकोटमा पनि पूर्ण ब्ल्याकआउट लागू गरिएको छ। आरएस पुरा सेक्टरमा पाकिस्तानबाट भारी गोलाबारी भइरहेको छ, र स्थानीयहरूले विस्फोटको आवाज सुन्ने बताएका छन्।
नियन्त्रण रेखा नजिकका कुपवाडा र बारामुल्ला क्षेत्रमा दुवै तर्फबाट गोलाबारी भइरहेको जानकारी प्राप्त भएको छ।
यसै बीच, धर्मशालामा पञ्जाब किंग्स र दिल्ली क्यापिटल्सबिचको आईपीएल खेल रद्द गरिएको छ। मैदानका फ्लडलाइटहरू बन्द गरिए र दर्शकहरूलाई मैदान खाली गर्न भनिएको थियो।
खेल रोकिएको समयमा पञ्जाबले १०.१ ओभरमा एक विकेट गुमाएर १२२ रन बनाएको थियो। प्रभसिमरन सिंह र श्रेयस अय्यर अविजित थिए, जबकि प्रियांश आर्यले ७० रन बनाएर आउट भएका थिए।