काठमाडौँ / वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग महानिर्देशक कुमार प्रसाद दाहालले बजार अनुगमनका क्रममा अधिकतम खुद्रा मूल्य (एमआरपी) लागू भए नभएको हेर्ने कामलाई ‘आतंककारी’ शैली भन्न नमिल्ने बताएका छन् । उनले राम्रो काम गर्नेलाई ‘आतंकारी’ र नगर्नेलाई ‘चोर’ भनिदिने प्रवृत्तिलाई हटाउन आग्रह गरे ।
मंगलबार नेपाल राष्ट्रिय व्यवसायी महासंघसँगको छलफलमा बोल्दै उनले अनुगमनका क्रममा जाँदा कर्मचारीहरूलाई व्यवसायीहरूले ‘आतङकारी’को रूपमा लिने गरेको भन्दै यसरी नबुझिदिन आग्रह गरेका हुन् ।
उनले भने, ‘बजारमा अनुगमनका क्रममा सरकारी निकायका प्रतिनिधिलाई कसैको पसल, उद्योग, घर वा व्यवसायिक क्षेत्रमा जाँदा आतंककारीका रूपमा बुझिदिनुहोला । हामी यहाँहरूले नियुक्ति गरेका कर्मचारी हौँ । हाम्रा कमीकमजोरी केही छन् भने भनिदिनुहोला । सरकारी कर्मचारीहरूलाई काम नगर्ने, अल्छी कर्मचारी, चोर, फटाहा, घुसिया भन्छौँ, काम गरे आतङ्कारी भन्छौँ । बिगार्न त हामी सबैले माथिदेखि तलसम्म बिगारेका छौँ । कोही पनि अछुतो छैनौँ ।’
उनले अनुगमनका क्रममा पुलिस, पत्रकार, उपभोक्ताकर्मी कसैलाई पनि नलाने भन्दै प्रेस विज्ञप्तिमार्फत जानकारी गराउने गरेको बताए । प्रेस विज्ञप्तिमार्फत जानकारी गराउँदा पनि बेइज्जत भए इज्जत हुने काम गर्नुस् भन्दै आक्रोश पोखे ।
‘हामीले अनुगमनका क्रममा पुलिस, पत्रकार लगेका छैनौँ । छ भने मलाई भन्नुस् । अनुगमनमा उपभोक्ता अधिकारकर्मी पनि जानुभएको छैन । त्यो कानूनमा पनि छैन । कर्मचारीहरू नै जानुहुन्छ । प्रेस विज्ञप्ति (रिलिज) निकाल्छौँ । प्रेस रिलिजमा निकालेर जानकारी गराउँदा पनि केही साथीहरूलाई बेइज्जत भए इज्जत हुने काम गर्नुस् न । मेरो जवाफ यदि हो । काम गर्नेलाई आतङ्ककारी भन्दिने, काम नगर्नेलाई चोर भन्दिने प्रवृत्तिलाई आजैदेखि हटाइदिनु होला । त्यसपछि मात्र हामी सफल बन्छौँ,’ उनले भने ।
यसैगरी उनले एमआरपीमा उद्योगी र आयातकर्ताको बाहेक अरुको अधिकार नभएको भन्दै यदि भए त्यो स्पष्ट रूपमा चोरी गरेसरह हुने बताए ।
‘एमआरपी दुई प्रकारको हुन्छ । एउटा उद्योगीको एपआरपी अर्को आयातकर्ताको एमआरपी, तेस्रो एमआरपी नै हुँदैन । यदि एमआरपी हुन्छ भने ऊ आयातकर्ता हुनैपर्यो, उद्योगी हुनैपर्यो । तेस्रोको एमआरपी हुँदैन । त्यो अधिकार कानूनले दिदैन । अधिकारले नदिएको काम गर्नु भनेको चोरी हो ।’