काठमाडौँ / नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक सातौँ दिनमा बढेको छ । लगाता ६ दिन घटेको बजार आज १९.३० अङ्कले बढेर २६२८.३६को बिन्दुमा पुगेको हो ।
आज ३२४ कम्पनीको १ करोड ६२ लाख ५ हजार ५५८ कित्ता सेयर ७१ हजार २८७ पटक खरिद बिक्री हुँदा ७ अर्ब ३५ करोड ८८ लाख ५५ हजार रुपैयाँ बराबरको कारोबार भएको छ । जुन अघिल्लो कारोबार दिन आइतबारको भन्दा कम हो । सोमबार बैंकिङ समूहका लगानीकर्ताहरूको आकर्षण बढेको छ ।
जसमा सर्वाधिक बढी विकास बैंक समूह १.८८, बैंकिङ समूह १.१७ प्रतिशत र निर्जीवन बिमा १.१२ प्रतिशतले बढेको छ ।
त्यस्तै, वित्त समूह ०.७० प्रतिशत, हाइड्रोपावर ०.९४ प्रतिशत, लगानी सूह ०.७२, जीवन बिमा ०.४१, अन्य ०.४४, उत्पादन तथा प्रशोधन ०.२८ प्रतिशतले परिसूचक बढीको छ ।
यसैगरी, लघुवित्त ०.१३, म्युचुअल फण्ड ०.२३ र व्यापारिक समूह ०.५७ प्रतिशतले बढेको छ । अधिकांश समूहको परिसूचक बढ्दा आज होटल तथा पर्यटन समूह भने १.२४ प्रतिशतले घटेको छ ।
आजको कारोबारमा सप्तकोशी डेभलपमेन्ट बैंक, सिन्धु विकास बैंक र ओम मेगाश्री फर्मास्युटिकल्स लिमिटेडको सेयर मूल्य सर्किट लेभलमा बढेको छ ।
त्यस्तै, तेह्रथुम पावर कम्पनीको सेयर मूल्य ९.९८ प्रतिशत, कर्पोरेट डेभलपमेन्ट बैंक ९.७९ प्रतिशत र ग्रीन डेभलपमेन्ट बैंक ९.४६ प्रतिशतले बढेको छ ।
यता, वीन नेपाल लघुवित्तको सेयर मूल्यमा भने आज नेगेटिभ सर्किट लागेको छ । यो कम्पनीको सेयर मूल्य १० प्रतिशतले घटेर प्रतिकित्ता २ हजार ४४४ रुपैयाँ कायम भएको हो ।
कारोबार रकमका आधारमा आज सबैभन्दा बढी राधी विद्युत् कम्पनी लिमिटेडको ५९ करोड ७६ लाख ३५ हजार रुपैयाँ बराबरको सेयर किनबेच भएको छ ।