विराटनगर / कोशी प्रदेशका सांसदहरू सवार गाडीलाई एक प्रहरी अधिकृत (डीएसपी) सवार कारले ठक्कर दिँदा दुर्घटना भएको छ । सोमबार दिउँसो भएको यस सवारी दुर्घटनामा मानवीय क्षति नभएको प्रहरीले जनाएको छ।
पूर्वतर्फ जाँदै गरेको बा ५ च ३५२० नम्बरको रातो कारले विराटनगरतर्फ आउँदै गरेको बिएइ १४०६ नम्बरको सांसद सवार गाडीलाई ठक्कर दिएको हो। सांसद सवार गाडीमा नम्बरलाल धिमाल, राधाकृष्ण खनाल, मैया श्रेष्ठ लावती, र विद्या चाम्लिङ सवार थिए।
प्राप्त जानकारीअनुसार, सांसद सवार सवारीलाई ठक्कर दिने कार झापा जिल्ला प्रहरी कार्यालयमा कार्यरत प्रहरी नायब उपरीक्षक (डीएसपी) खगेन्द्र खड्काले चलाइरहेका थिए।
सांसदहरूको गाडी भने दमक नगरपालिका–१ निवासी ४० वर्षीय भेषराज श्रेष्ठले चलाइरहेका थिए। उक्त दुर्घटना कोशी प्रदेशसभाको बैठकमा सहभागी हुन सांसदहरू विराटनगर आउँदै गर्दा भएको हो।
आजकै बैठकमा प्रदेश सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यसूची रहेको छ। सांसद राधाकृष्ण खनाल झापाबाट निर्वाचित एमाले सांसद हुन् भने नम्बरलाल धिमाल एमालेकै समानुपातिक सांसद हुन्। विद्या चाम्लिङ नेकपा (एकीकृत समाजवादी)की समानुपातिक सांसद हुन्।
प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको जानकारी दिएको छ। दुर्घटना कसरी र कुन परिस्थितिमा भयो भन्ने विषयमा विस्तृत विवरण संकलन भइरहेको मोरङ प्रहरीले जनाएको छ।