काठमाडौँ / गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका कारण क्षति भएका भौतिक संरचनाको हालसम्म रु २३ अर्ब २२ करोड ७८ लाखबराबरको बिमा दाबी गरिएको छ ।
नेपाल बिमा प्राधिकरणले उपलब्ध गराएको पछिल्लो विवरणअनुसार निर्जीवन बिमा कम्पनीहरूले रु एक अर्ब ५८ करोड ५६ लाखबराबरको भुक्तानी गरिसकेका छन् ।
बिमाबापतको रकम सहज र शीघ्र रूपमा उपलब्ध गराउन प्राधिकरणले देखाएको सक्रियताका कारण धमाधम अग्रिम रूपमा भुक्तानी गरिएको जनाइएको छ ।
हालसम्म कुल तीन हजार ९९ बिमा दाबीको आवेदन परेको प्राधिकरणले जनाएको छ । कुल दाबीमध्ये सम्पत्ति बिमा छ सय ५३, मोटर बिमा दुई हजार २०६, इन्जिनियरिङ तथा ठेक्का जोखिम बीमा एक सय ९०, परिवहन बिमा १२ र अन्य बिमा ३८ रहेका छन् ।
त्यसैगरी, कोशी प्रदेशमा तीन सय ९६, मधेसमा तीन सय ५५, वाग्मतीमा एक हजार ६६९, गण्डकीमा दुई सय १२, लुम्बिनीमा दुई सय ४६, कर्णालीमा २२ र सुदूरपश्चिम प्रदेशमा एक सय ९९ बिमा दाबीको आवेदन परेको छ । प्राधिकरणका अनुसार यो विवरण यही असोज २३ गतेसम्मको हो ।
प्राधिकरणका अनुसार सिद्धार्थ इन्स्योरेन्स कम्पनीमा सर्वाधिक बढी अर्थात् रु पाँच अर्ब ६१ करोड ४४ लाखबराबरको बिमा दाबीको आवेदन परेको छ ।
सो कम्पनीले रु ५९ करोड ४४ लाखबराबरको रकम बिमितलाई भुक्तानी गरेको छ । त्यसैगरी, दी ओरियण्टल इन्स्योरेन्समा रु पाँच अर्ब २४ करोड ४७ लाखबराबरको बिमा दाबीको आवेदन परेको छ । सो कम्पनीले रु पाँच लाख ७० हजार बराबरको रकम भुक्तानी गरेको छ ।
आइजिआई प्रुडेन्सियल इन्स्योरेन्समा रु दुई अर्ब ७५ करोड ९७ लाखबराबरको बिमा दाबीको आवेदन परेको छ । सो कम्पनीले रु ३० करोड ४३ लाखबराबरको रकम बिमितलाई वितरण गरेको छ । शिखर इन्स्योरेन्समा रु दुई अर्ब ४० करोड ८६ लाखबराबरको बिमा दाबी भएको छ । सो कम्पनीले रु ३१ करोड ९४ लाखबराबरको रकम उपलब्ध गराएको छ ।
मुलुकभर हाल कुल माइक्रो इन्स्योरेन्स कम्पनीसहित १८ निर्जीवन बिमा कम्पनी सञ्चालनमा छन् । गत भदौ २३ र २४ गतेको आन्दोलनका कारण भएको आगजनी र तोडफोडमा परेका निजी संरचनाको हकमा बिमा भए पनि सरकारी र सार्वजनिक सम्पत्तिको भने बिमा नभएको पाइएको छ ।

.gif)
.gif)
.gif)



