काठमाडौँ / मित्रराष्ट्र संयुक्त अधिराज्य बेलायतको वेल्स, ब्रेकनमा सम्पन्न ‘Exercise Cambrian Patrol 2025 ’मा नेपाली सेनाको टोलीले सर्वोत्कृष्ट प्रदर्शन गर्दै स्वर्ण पदक प्राप्त गरेको छ।
असोज २३ देखि २५ गतेसम्म सञ्चालन भएको उक्त अन्तर्राष्ट्रिय सैन्य अभ्यासमा नेपाली सेनाले उत्कृष्ट अङ्क प्राप्त गर्दै आफ्नो गौरवपूर्ण परम्परा कायम राखेको हो।
सन् १९६० देखि वार्षिक रूपमा आयोजना हुँदै आएको यस अभ्यासमा यस वर्ष संयुक्त अधिराज्य बेलायतसहित ३३ राष्ट्रका ११७ वटा टोलीहरूको सहभागिता थियो। नेपाली सेनाले सन् २०१४ देखि निरन्तर रुपमा उक्त प्रतियोगितामा भाग लिँदै आइरहेको छ।
दुई दिनभित्रमा करिब ५० किलोमिटर दूरी पार गर्नुपर्ने यस अभ्यासमा सहभागी टोलीहरूले हतियार, करिब ५० पौण्ड तौल बराबरका उपकरण तथा बन्दोबस्ती सामग्रीसहित विभिन्न चुनौतीहरू पार गर्नुपर्छ। अभ्यासका क्रममा तयारी, सूचनासङ्कलन, घाइते र बिरामीको व्यवस्थापन लगायतका क्षमताको परीक्षण गरिन्छ।
यससँगै नेपाली सेनाले यसअघि पनि सन् २०१७, २०१९ र २०२४ मा स्वर्ण पदक जितिसकेको छ। निरन्तर उत्कृष्ट प्रदर्शनमार्फत नेपाली सेनाले अन्तर्राष्ट्रिय स्तरमा आफ्नो दक्षता र व्यावसायिक क्षमताको पहिचान पुनः स्थापित गरेको छ।

.gif)
.gif)
.gif)



