काठमाडौँ / अत्तरखेलस्थित नेपाल मेडिकल कलेजमा छालासम्बन्धी उपचारमा अत्यधिक रूपमा प्रयोग भइरहेको स्टेरोइडको नियन्त्रित र सुरक्षित प्रयोगबारे क्षमता विकास तथा सचेतना कार्यक्रम सम्पन्न गरिएको छ।
लेजको छाला रोग विभागद्वारा आयोजित उक्त कार्यक्रममा काठमाडौँ उपत्यकाका ३५ जना फार्मासिस्टहरूको सहभागिता रहेको थियो।
‘टपिकल स्टेरोइडको दुरुपयोगः एक मौन सार्वजनिक स्वास्थ्य खतरा – रोकथाममा फार्मासिस्टको भूमिका’ शीर्षकमा आयोजित अभिमुखीकरण कार्यक्रममा एक्जिमा, सोरायसिस, डर्माटाइटिस र एलर्जीजन्य छालाका समस्यामा चिकित्सकको सिफारिसअनुसार स्टेरोइड सुरक्षित र प्रभावकारी हुने जानकारी दिइयो।
पछिल्लो समय स्टेरोइडको अनियन्त्रित प्रयोग र दुरुपयोग बढ्दै जाँदा छाला पतलो हुने, रक्तचाप र ब्लड सुगर बढ्ने, रगतका नसाहरू देखिने लगायत शारीरिक जटिलता देखा पर्दै गएको विशेषज्ञहरूले बताए ।
उनीहरूले विशेषज्ञ परामर्श बिना फार्मेसीबाट स्वेच्छाले स्टेरोइड क्रिम प्रयोग गर्ने प्रवृत्ति बढेपछि समस्या गम्भीर बन्दै गएको बताएका छन्।
सौन्दर्य प्रयोजनका लागि गोरोपन तथा दाग हटाउन प्रयोग हुने स्टेरोइड मिश्रित क्रिमले तत्कालीन प्रभाव देखाए पनि दीर्घकालीन रूपमा स्ट्रेच मार्क, डावर, एड्रिनल ग्रन्थिमा असर, बच्चामा वृद्धिमा समस्या, तथा जटिल छाला रोगको जोखिम बढ्ने चेतावनी दिइयो।
फार्मासिस्टहरूले स्टेरोइड दुरुपयोग रोक्न जनचेतना अभिवृद्धि, प्रेस्क्रिप्सनबिना औषधि नबेच्ने, बिरामीलाई फाइदाभन्दा जोखिमबारे जानकारी दिने र विशेषज्ञ चिकित्सकसँग सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गरे।
कार्यक्रममा नेपाल डर्माटोलोजिस्ट, भेनेरोलोजिस्ट र लेप्रोलोजिस्ट सोसाइटी, फार्मेसी एसोसिएसन अफ नेपाल तथा इन्टरनेशनल लिग अफ डर्माटोलोजिकल सोसाइटीको सहकार्य रहेको थियो।
कार्यक्रमका प्रमुख अतिथि नेपाल मेडिकल कलेजका प्राचार्य प्रा.डा. मोदनाथ मरहठ्ठाले स्टेरोइडको दुरुपयोग रोकथामका लागि स्वास्थ्यकर्मी, फार्मासिस्ट तथा संस्थागत संयोजन आवश्यक रहेको बताउँदै यस्ता कार्यक्रम निरन्तर आयोजना गर्नुपर्नेमा जोड दिए ।

.gif)
.gif)
.gif)



