च्याउखेती गरेर गाउँमै आत्मनिर्भर बने शुक्लाफाँटाका राना, बार्षिक आम्दानी कति ?

च्याउखेती गरेर गाउँमै आत्मनिर्भर बने शुक्लाफाँटाका राना, बार्षिक आम्दानी कति ?

सोमवार, कार्तिक १७ २०८२
सोमवार, कार्तिक १७ २०८२
  • images
    images
    च्याउखेती गरेर गाउँमै आत्मनिर्भर बने शुक्लाफाँटाका राना,  बार्षिक आम्दानी कति ?

    कञ्चनपुर / शुक्लाफाँटा नगरपालिका–६ कसरौलका २९ वर्षीय वीरबहादुर राना  आधुनिक प्रविधिबाट च्याउखेती गरेर गाउँमै आत्मनिर्भर किसानको उदाहरण बनेका छन् ।

    अठार महिने कृषि (जेटिए) अध्ययन गरेका रानाले हाइटेक टनेलमा मौसमी र बेमौसमी  च्याउ उत्पादन गर्दै वार्षिक रु १५ लाखभन्दा बढी च्याउ बिक्री गरेर कमाउँछन् । खर्च कटाएर उनले वर्षमा झण्डै रु १० लाख नाफा कमाउने गरेका छन् ।

    रानाले चिसो मौसममा कन्या र गर्मीमा मिल्की च्याउको खेती गर्छन् । मिल्की च्याउ डल्ला राखेको १५ दिनमा र कन्या च्याउ २० देखि २५ दिनमा तयार हुने उनी बताउँन् । पिँकी च्याउको पनि उत्पादन गरे पनि बजार अभावका कारण हाल त्यो खेती स्थगित गरिएको रानाले बताए ।

    महेन्द्रनगर र झलारी बजारमा बेमौसमी कन्या च्याउको थोक मूल्य प्रतिकिलो रु ३५० र मौसमी समयमा रु १०० मा बिक्री गरेको छ भने मिल्की च्याउ प्रतिकिलो रु ४०० मा बिक्री हुने गरेको छ । बढ्दो माग सँगै उनले बाह्य बजारमा पनि च्याउको आपूर्ति गर्दै आएका छन् ।
     
    विवाह, भोजभतेर र चाडपर्वमा च्याउको माग बढी हुने गरेको छ । हाल उनले मोटरसाइकलमार्फत माग आएका ठाउँमा च्याउ ढुवानी गर्दै आएका छन् । वि.सं. २०७७ मा जेटिए अध्ययनका क्रममा विद्यालयमा पढेको ज्ञानलाई व्यवहारमा उतार्दै उनले घरकै गोठको एक कुनामा पहिलोपटक च्याउखेती गर्न सुरू गरेका थिए । घरमा उपलब्ध भाँडाकुँडामै पराल उमालेर, खटियामा सुकाएर २५ वटा परालका डल्ला बनाएर बीउ राख्दा राम्रो उत्पादन भएपछि उनले यसलाई व्यावसायिक रूपमा विस्तार गरेका हुन् । 

    पहिलो पटमै सफलता पाएपछि उनले बाँसको झुपडीमा ५०० परालका डल्ला राखेर मौसमी च्याउखेती सुरू गरे । बजारमा सहज बिक्री भएपछि व्यवसाय विस्तारको हौसला मिलेको उनले सम्झिए । हाल रानासँग च्याउखेतीका लागि फलामका ६ वटा हाइटेक टनेल रहेका छन् । छवटै टनेलमा निरन्तर बाह्रै महिना च्याउ उत्पादन भइरहेको छ । पराल काट्न, उमाल्न र सुकाउन आधुनिक मेसिनको प्रयोग हुने गरेको छ । केही उपकरण र टनेल अनुदानमा प्राप्त भए पनि धेरैजसो उपकरण उनले आफ्नै आम्दानीबाट खरिद गरेका हुन् ।  
    आधुनिक प्रविधिको प्रयोगले समय, जनशक्ति र खर्च तीनैमा बचत हुने उनको भनाइ छ । च्याउ उत्पादनमा उनका श्रीमतीसहित घर परिवारका सदस्यले साथ दिने गरेका छन् । कामको चाप अधिक भएका बेला कामदारलाई ज्यालादारीमा राखेर काम लिने गरेका छन् ।

    “बिक्री नभएको च्याउ सुकाएर दोब्बर मूल्यमा बेच्न सकिन्छ”, उनले भने, “त्यसका लागि अहिले आधुनिक इलेक्ट्रोनिक ड्रायर खरिद गर्ने योजना बनाएको छु ।” हाल उनको च्याउ उत्पादनमा झण्डै रु २० लाख बराबरको लगानी रहेको छ । उनी भविष्यमा लगानी बढाएर डल्ले च्याउको उत्पादन सुरू गर्ने तयारीमा रहेका छन् ।

    रानाले च्याउखेतीमा गुणस्तरीय बीउको प्रयोग अत्यावश्यक रहेको बताए । “बीउ राम्रो भए उत्पादन बढी हुन्छ, कमसल बीउ भए फसल पनि कमजोर हुन्छ”, उनले भने, “त्यसैले बीउ उत्पादकहरूले गुणस्तरमा ध्यान दिनुपर्छ ।”

    च्याउमा पनि अन्य बालीजस्तै रोगब्याधि लाग्ने भएकाले समयमै उपचार आवश्यक हुने रानाको भनाइ छ । उनले विद्यालयमा सिकेको कृषि ज्ञानले नै आजको सफलताको बाटो देखाएको बताए । “च्याउखेतीलाई अझै विस्तार गर्न आधुनिक तालिम र प्रविधिको आवश्यकता छ”, उनले भने, “कृषिसम्बन्धी निकायले त्यसमा चासो देखाउनुपर्छ ।”

    हालसम्म आफ्नै प्रयासमा च्याउखेती विस्तार गर्दै आएका राना अन्य युवाका लागि पनि प्रेरणाको स्रोत बनेका छन् । गाउँमा बस्दै आधुनिक प्रविधिबाट सफल हुन सकिन्छ भन्ने सन्देश उनको सफलताले दिएको छ । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय