भेडापालनमै भविष्य खोज्दै म्याग्दीका युवा आस्मन

भेडापालनमै भविष्य खोज्दै म्याग्दीका युवा आस्मन

मंगलवार, कार्तिक १८ २०८२
मंगलवार, कार्तिक १८ २०८२
  • images
    images
    भेडापालनमै भविष्य खोज्दै म्याग्दीका युवा आस्मन

    म्याग्दी /  धवलागिरि गाउँपालिका-४, मुदी सिङकोसका २५ वर्षीय आस्मन पुर्जा मगर अहिले आफ्नो अधिकांश समयको भेडीगोठमै बिताउँछन्। हिउँदमा बेँसीतिर र बर्खायाममा उच्च पहाडी खर्कतिर घुम्ती गोठमा भेडाबाख्रा चराउन व्यस्त रहने उनी केही वर्षअघिसम्म भने रोजगारीको खोजीमा शहरधाउन बाध्य थिए ।     

    बुबा मनलाल र आमा फिस्टीका सात भाइ छोरा र एक छोरीमध्ये कान्छो आस्मनले कक्षा ९ सम्म मात्रै अध्ययन गरे । उनले पोखरा, नयाँपुल र बेनीमा रेष्टुरेन्टमा पनि काम गरेका थिए तर ती सबै काम छाडेर उनी अहिले गाउँमै भेडापालन गर्न फर्किएका हुन् । 

    “आफ्नै माटोमा सम्भावना छन् भन्ने लागेर भेडापालन सुरू गरेको हुँ, मेरो स्वदेशमै आत्मनिर्भर बन्ने सपनालाई आर्थिक लगानीको जरूरी थियो, त्यही बेला कोरियामा रहेका साथी अनिल पाइजाले साथ दिए र यो सम्भव भएको हो,” पुर्जाले भने । किसानी मावि बिममा पढ्ताका सहपाठी अनिलले भेडापालनका लागि सुरूआती लगानी गरिदिएपछि आफ्नो भेडापालन गर्ने सपना पूरा भएको उनले बताए । 

    भेडापालनमा करिब १३ लाख रुपैयाँ लगानी गरेका पुर्जालाई साथी अनिलले मात्रै करिब रु ६ लाख सापटी दिएका छन् भने बाँकी रकम पुर्जा आफैँले जुटाएका छन् । उनकाे गोठमा हाल करिब १०० भेडा छन् । भेडीगोठमा भेडाको सङ्ख्या थपिने क्रम जारी छ । यही याममा मात्र उनका करिब २५ भेडा ब्याउने तयारीमा छन् । निकट भविष्यमा भेडाको सङ्ख्या बढाएर भेडीगोठलाई आम्दानीको स्रोत बनाउने पुर्जाको योजना रहेकाे छ ।

    जेठदेखि असोजसम्म जिरबाङ पिक, बुकी र मूलखर्कका हरियालीमा राखिने भेडीगोठलाई हिउँद लागेपछि भने सिङकोस गाउँ वरपर झारिन्छ । स्थानीय बासिन्दाले देवीदेवताको भाकल पूरा गर्न साँढले पूजा गर्ने चलन भएकाले भेडीगोठमा उत्पादन भएका साँढका लागि बजारको अभाव छैन । खसी भने मासुका लागि गाउँलेहरूले गोठमै पुगेर खरिद गर्छन् । 

    “बुबाले पनि घुम्तीगोठमा भैँसीपालन गर्नुभएको हो, सानोमा पनि म दाइहरूसँग गोठमा बसेको थिए, आफ्नै पुर्खाको माटोमा पसिना बगाउन पाइरहेको छु,” उनले भने । 

    पुर्जाको भेडापालनले युवाहरूले विदेशमा गएर मात्र सम्भावना खोज्नु पर्दैन, आफ्नै गाउँमा पनि अवसरहरू छन् भन्ने सन्देश दिएको स्थानीयवासी बताउँछन् । पुर्जाको बुबा ७१ वर्षीय मनलालले अझै चोयाको डोको, डालो बुन्छन् । उनका दुई छोराले बाख्रापालन, एक छोराले गोठमा भैँसीपालन गर्दै आएका छन् ।  एक छोराले जिप चलाउँछन् । दुई छोराले गाउँमा च्याउ, टुसालगायत बिक्री गरेर जीविकोपार्जन गर्दै आएका छन् ।          

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय