बेमौसमी वर्षाले अदुवामा क्षति, मूल्य खस्किएपछि किसान मारमा

बेमौसमी वर्षाले अदुवामा क्षति, मूल्य खस्किएपछि किसान मारमा

मंगलवार, कार्तिक १८ २०८२
मंगलवार, कार्तिक १८ २०८२
  • images
    images
    बेमौसमी वर्षाले अदुवामा क्षति, मूल्य खस्किएपछि  किसान मारमा

    दाङ / दाङको तुलसीपुर उप-महानगरपालिका–१९ छिल्लीकोटका किसान विकास खड्काको बारीमा अनुमानित ५० क्विन्टल अदुवा छ । यतिबेला बारीको अदुवा खनेर बजार पठाइसक्नु पर्ने हो । तर बजार भाउ नभएका कारण खड्काले अदुवा अझै खनेका छैनन् । 

    गत वर्ष यही याममा रु ५५ देखि ६० प्रतिकिलो अदुवा बेच्नुभएका खड्कालाई अहिले बजार भाउले निकै खिन्न बनाएको छ । बजार भाउ रु ३० देखि ३५ रहेका कारण अदुवा खन्ने जाँगर नलागेको उनले बताए । 

    अन्य कृषि बाली छोडेर अदुवा रोपेका उनी यो वर्ष भाउ नपाउँदा निराश छन् । खड्काले भने, “यो वर्ष अदुवा बिक्रीबाट लगानी पनि नउठ्ने अवस्था छ, बजार भाउ नपाउँदा यो वर्ष अझै खनेको छैन ।” बेमौसमी वर्षाले पनि अदुवामा केही क्षति गरेको उनी बताउँछन् । उनले गत वर्ष रु २ लाखको अदुवा बिक्री गरेका थिए ।

    छिल्लीकोटकै पलबहादुर खड्काले पनि गत वर्ष अदुवाले भाउ पाएको देखेर रु ५० हजारको बीउ किनेर अदुवा लगाए । तर अहिले अदुवाको भाउ सुनेर उनी पनि निराश छन् । बीउ किन्दाखेरिकै ५० हजारको सावाँब्याज अहिले रु ६५ हजार पुगेको छ । अदुवाको बीउ किन्दा लिएको ऋणको साँवाब्याज कसरी तिर्ने भन्ने पिरलो उनलाई छ । 

    बजारमा व्यापारीले सस्तोमा भारतबाट अदुवा भित्र्याउँदा स्थानीयले उत्पादन गरेको अदुवा बिक्री नहुने अवस्था भएको छ ।  उनले भने, “बीउको ऋण तिर्न समस्या छ । अहिलेको अवस्थामा रहेको मूल्यमा अदुवा बिक्री गर्दा ऋण तिर्न पनि पुग्दैन ।” पहाडी क्षेत्रमा जङ्गली जनावरले क्षति नगर्ने र राम्रो आम्दानी हुने भएपछि अधिकांश किसानले अदुवा रोप्ने गरेका छन् । तर मूल्य नपाउँदा किसान मर्कामा परेको स्थानीय पूर्णबहादुर पुन बताउँछन् ।

    उनका अनुसार यहाँका स्थानीय ३०/३५ घरले अदुवाखेती गर्ने गरेका छन् ।  छिल्लीकोट क्षेत्रबाट मात्रै वार्षिक ६०० क्विन्टल बढी अदुवा बिक्री हुने गरेको छ । अदुवाको बजारीकरणमा स्थानीय सरकारले सहयोग गरेमा सहज हुने उनीहरूको आशा छ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय