माओवादी छोडेर नयाँ अभियान घोषणा गर्दै जनार्दनले भने – स्वार्थको राजनीतिमा सहभागी भएँ, कमजोरी स्वीकार गर्छु

माओवादी छोडेर नयाँ अभियान घोषणा गर्दै जनार्दनले भने – स्वार्थको राजनीतिमा सहभागी भएँ, कमजोरी स्वीकार गर्छु

मंगलवार, कार्तिक १८ २०८२
मंगलवार, कार्तिक १८ २०८२
  • images
    images
    माओवादी छोडेर नयाँ अभियान घोषणा गर्दै जनार्दनले भने – स्वार्थको राजनीतिमा सहभागी भएँ, कमजोरी स्वीकार गर्छु

    काठमाडौँ / नेकपा माओवादी केन्द्र विभाजित भएपछि पार्टीका पूर्वउपमहासचिव जनार्दन शर्मा ‘प्रभाकर’, पूर्वसचिव राम कार्की, पूर्व स्थायी समिति सदस्य अञ्जना विशुंखे लगायतले पार्टी छोडेर नयाँ राजनीतिक अभियान सुरु गरेका छन्।

    मङ्गलबार ललितपुरमा आयोजित पत्रकार सम्मेलनमा शर्माले आफ्ना विगतका कमजोरी स्वीकार गर्दै अब इमान्दारीका साथ नयाँ अभियानमार्फत सङ्कल्प पूरा गर्ने प्रतिबद्धता व्यक्त गरे। 

    उनले भने, “आजसम्म आम जनता, मतदाता, कार्यकर्ता र समर्थनहरूलाई दुरुपयोग गरेर स्वार्थ केन्द्रित शासन गर्ने प्रवृत्ति जन्मियो त्यसमा हाम्रो पनि कमी छ। हामीले पनि गल्ती गरेका छौँ, हामी पनि त्यसमा सहभागी छौँ, त्यसप्रति क्षमा चाहन्छौँ। अब आफ्ना कमजोरीलाई स्वीकार गर्दै नयाँ अभियानमार्फत अघि बढ्ने सङ्कल्प गर्छौँ।”

    शर्माले नयाँ राजनीतिक अवधारणासहित ‘प्रगतिशील अभियान, नेपाल’ नामक अभियानको घोषणा गर्दै उक्त अभियानमार्फत ‘तेस्रो र नयाँ बाटो’ विकास गर्ने प्रतिबद्धता व्यक्त गरे। 

    उनका अनुसार यो अभियान कुनै नयाँ पार्टी होइन, तर विखण्डित वाम र प्रगतिशील शक्तिहरूलाई एकीकृत समाजवादी आन्दोलनको दिशामा अघि बढाउने वैचारिक र राजनीतिक प्रयास हो।

    पत्रकार सम्मेलनमा उनले विगत आठ दशकदेखि चलेका जनआन्दोलन, जनयुद्ध र हालैको जेनजी विद्रोहका सहिदप्रति श्रद्धाञ्जली अर्पण गर्दै समाजवादी एकता र श्रमजीवी जनताको हितमा समर्पित नयाँ आन्दोलनको खाका प्रस्तुत गरे।

    शर्माले थपे, “हामी एउटा ऐतिहासिक मोडमा छौँ। एउटा जोखिम, एउटा चुनौती, एउटा सम्भावना बोकेर उपस्थित भएका छौँ। हामीले सहिद र वेपत्ताका सपनाहरू पूरा गर्ने, घाइते योद्धाहरूका अपेक्षाहरू पूरा गर्ने, उनका परिवारजनका आशा र विश्वास पूरा गर्ने जिम्मा लिन तयार छौँ।”

    उनले आफ्नो विगतको राजनीतिक संघर्ष र नेकपा बनाउँदा गरेको वृहद् वामपन्थी एकताको स्मरण गर्दै भने, “केहीले भन्न खोज्दै छन् कि नेकपा बनाउँदा हस्ताक्षर गरिएको थियो, अहिले विरोध भइरहेको छ। त्यसमा कुनै तर्क छैन। त्यो ऐतिहासिक कदम देशको राजनीतिक अस्थिरता समाप्त गर्न गरिएको थियो। हामी अहिले भिन्न दृष्टिकोणबाट अघि बढ्न चाहन्छौँ।”

    अभियानको मुख्य लक्ष्य नेपालमा समाजवादी एकता, समानता र स्वाधीनताको प्रवर्द्धन गर्नु र नयाँ पुस्तालाई नेतृत्वमा ल्याउनु रहेको शर्माले बताए। उनका अनुसार, नेपालका मजदुर, किसान, उत्पीडित जाति, लिङ्ग र क्षेत्रका जनताको पक्षमा बोल्ने नयाँ राजनीतिक शक्ति निर्माण गर्ने आवश्यकता छ, र वर्तमान मुख्य दलहरूले जनताको विश्वास गुमाइसकेका छन्।

    शर्माले सबै वाम, लोकतान्त्रिक र प्रगतिशील शक्तिहरूलाई एकजुट हुन आह्वान गर्दै भने, “यो देशलाई निराशाबाट आशातर्फ लैजान, समानता र स्वाधीनताको मार्गमा अघि बढाउन, नयाँ पुस्ताको हातमा भविष्य सुम्पनु हाम्रो साझा जिम्मेवारी हो।”

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय