मानव जाति : कति उत्कृष्ट प्राणी ? तथ्य, कथ्य र सत्य

मानव जाति : कति उत्कृष्ट प्राणी ? तथ्य, कथ्य र सत्य

हामी सुगालाई पिजडांमा राखेर होस् वा गाईबस्तुलाई बाँधेर, सिकार खेल्ने नाममा होस् वा मासु खानलाई वर्षेनी मानिसले लाखको संख्यामा होइन, करोडमा पनि होइन, अर्बौंको संख्यामा पशुपञ्छीहरुको हत्या गरिरहेका हुन्छौं ।

अर्थ डबली
बिहिवार, चैत १९ २०७७
अर्थ डबली
बिहिवार, चैत १९ २०७७ (अर्काइभ बाट)
  • मानव जाति : कति उत्कृष्ट प्राणी ? तथ्य, कथ्य र सत्य

    यस जगतमा अमिवा, पारमेशियम जस्ता एक कोषीय जीव देखि माछा, भ्यागुता, सर्प, चराचुरुङ्गी जातका प्राणीहरु एवं कुकुर, बिरालो, गाईबस्तु जस्ता स्तनधारी पशुहरु रहेका छन् । यसमध्ये मानिसको जात पनि एक हो ।

    images
    images

    यस विषयका वैज्ञानिकहरुले यो मानव (Homo sapiens) जातिलाई  प्राणी जगत (Animal kingdom) मा सबभन्दा माथिल्लो दर्जामा राखेका छन् (हेर्नुहोस चित्र १) । विशेष प्रकारको शारीरिक बनावट, वौद्धिक चेतना र विवेकशीलता जस्ता गुणहरु मानिसमा मात्र पाइन्छ भन्ने आधारमा मानिसले मानिसलाई अरु प्राणीहरुभन्दा माथि राखेको हुनुपर्दछ ।

    धर्मशास्त्रहरुमा समेत मानिसको चोलालाई देवचोला (देवताहरुको जन्म तथा जीवन) भन्दा पनि उत्तम चोलाको रुपमा मान्ने गरेको पाइन्छ । मानिसहरुले यथोचित प्रयत्न गरेमा देवीदेवताहरुले पनि नपाउने परमानन्दको स्थिति (यो दुःखी भवसागरबाट पार पाउने अवस्था) मानिसलाई प्राप्त हुनसक्छ भन्ने मान्यताका आधारमा यो भनिएको हुनुपर्दछ ।

    आम रुपमा हामी मानिसहरु अरु प्राणीहरुभन्दा आफूलाई उत्कृष्ट छौं भनेर मान्दछौं, सर्वोत्कृष्ट नै ठान्दछौं । म पनि यही ठान्दथें । अहिले आएर साच्चै मानव जाति अरु प्राणीहरुभन्दा उत्कृष्ट हो त भन्ने कुरामा दुविधा उत्पन्न भइरहेको छ । के अरु प्राणीहरु (वनस्पतिहरु समेत) माथि भनिए झैं तल्ला स्तरका हुन् त भन्ने खुलदुली लागिरहेकोले यो लेखमा यस सम्बन्धी चर्चा गर्ने जमर्को गरेको छु ।

    1.JPG

    १. मानिसका आम क्रियाकलाप र उत्कृष्टता

    जन्मदेखि मृत्युसम्मलाई जीवनमान्दा बाच्नका लागि खानेकुरा खानु, प्राणीजगतलाई निरन्तरता दिन सन्तान उत्पादन गर्नु र यी कामहरुबाट थकित शरिरलाई पुनःताजगीका लागि आराम गर्नु यी प्राणी मात्रका आधारभूत क्रियाकलापहरु हुन् । कमिला देखि कुकुरसम्म, भूसुना देखि हात्तीसम्मका प्राणीहरु सबैले यी क्रियाकलापहरु गर्दछन्, गरिरहेका हुन्छन् ।

    हामीले परापूर्वकालदेखि आजसम्म र नेपालदेखि अमेरिकासम्मका मानिसहरुलाई नियाल्यौं भने ९९ प्रतिशत भन्दा पनि बढी मानिसहरु पनि जीवनकालभरि यिनै आफू र आफ्नो परिवारको लाउने, खाने, बस्ने; विवाह गर्ने, केटाकेटी जन्माउने र हुर्काउने जस्ता आम प्राणीहरुले गर्ने क्रियाकलापहरुमा मात्र केन्द्रित भइरहेको पाउदछौं ।

    एक प्रतिशत भन्दा पनि कम मानिसहरुले गर्ने विशेष कार्यहरुलाई आधार मानेर ९९ प्रतिशत भन्दाबढी मानिसहरुले गर्ने कार्यलाई छाडनु तथ्याङ्क शास्त्रीय नियम अनुसार तर्कसंगत (Significant) मानिदैन ।

    यसरी मानिसको आम क्रियाकलाप हेर्दा, मानिसको जातलाई अरु प्राणीहरुभन्दा उत्कृष्ट जातमा राख्नु पर्ने आधार भेटिदैंन । उनीहरु भन्दा भिन्न कार्य नगर्ने हामी मानव जातिलाई हेरेर अरु प्राणीहरुले के सोच्दछन् हामीलाई एक रति थाह छैन । यस अर्थामा मानिस आफूले आफूलाई सर्वोत्कृष्ट प्राणीको रुपमा घोषणा गर्नु उसको अहंकार होइन र ?

    २. मानिसको जीवनयापन र उत्कृष्टता

    कोही पनि मानिस दुखी जीवन जिउन चाहदैन, सबै सधै सुख पूर्वक आनन्दमय जीवन जिउन चाहन्छन्, अर्थात परम खुशीमा रम्न चाहन्छन् । के आफूले चाहेको कुरा प्राप्त गर्न मानिसको जातले सकिरहेको छ त ? एक छिन यतातिर हेरौं ।

    कुनै पनि मानिसको सुख / दु:ख, रमाइलो / नरमाइलो, खुशी/बेखुसी, आनन्द / पिडा जस्ता जीवनयापनका अनुभूतिहरु मुलत तीन कुराको अवस्थितिमा आधारित हुन्छः शरीर (Body), मन (Mind) र भावना (Emotion) ।

    भौतिक सुख शरीरले अनुभव गर्ने कुरा हो भने मानसिक शान्तिको अनुभूति मनले गर्दछ । रिसराग, लोभमोह, ईष्याद्वेष रहित आनन्दमय जीवनयापन अविचलित मनोभावद्वारा प्रकटित हुन्छ ।

    (क) शारीरिक सुख समेत कम, उत्कृष्टतामा चाहिं दम ?

    बाटोघाटो, विजुलीपानी, उद्योगधन्दा जस्ता भौतिक विकासका कारणले भौतिक सुखमा मानव जीवन आजका दिनमा अन्य प्राणीहरुको जीवनभन्दा अगाडि छ भनेर मान्न सकिन्छ । यो पनि अरु प्राणीहरुको आहारविहार, वसोबासका क्षेत्रहरुमा मानिसले अतिक्रमण गरेर प्राप्त गरेको हो ।

    परन्तु अस्वस्थकर खानपिन, रहनसहनले गर्दा विभिन्न प्रकारका रोगव्याधीबाट आजपनि मानिसको जात उत्तिकै छटपटाइ रहेकोछ । दिनमा दशौंथरी औषधी खाँदै, ऐयाआत्थु गर्दै जीवन काटिरहेको छ । हो अरु प्राणीहरु पनि विरामी पर्दछन्, तर एकदम कम मात्रामा  ।

    अन्य जन्तुजनावरको कुरा छाडौं, हामीले गाउँघरमा पालेका गाईभैंसी, भेडाबाख्रा, सहरबजारमा पाल्ने गरिएका कुकुर, विरालाहरु घरका मानिसहरुभन्दा कम विरामी हुनेगरेको हामीले देखेका छौं । यसबाट शारीरिक सुखमा पनि हामी मानिसहरु अरू प्राणीभन्दा अगाडि छौं बन्ने देखिदैन ।

    हामी आम मानिसहरु जहिले पनि हतारमा रहने र हरदम टेन्सनयुक्त जीवन विताइरहेका हुन्छौं । विश्वमा रहेका मनोरोगीहरुको संख्या, आत्महत्या, हत्या, बलत्कार, झैझगडा, युद्धहरुलाई हेर्‍यौं भने यो स्वतः प्रष्ट हुन्छ ।  

    (ख) मानसिक शान्ति भने नगण्य, उत्कृष्टतामा कसरी हुन्छ परिपूर्ण ?

    हामी आम मानिसहरु जहिले पनि हतारमा रहने र हरदम टेन्सनयुक्त जीवन विताइरहेका हुन्छौं । विश्वमा रहेका मनोरोगीहरुको संख्या, आत्महत्या, हत्या, बलत्कार, झैझगडा, युद्धहरुलाई हेर्‍यौं भने यो स्वतः प्रष्ट हुन्छ ।  

    विश्व स्वास्थ्य संगठनका अनुसार सन् 2018 मा प्रति एकलाखमा जनसंख्यामा रुसमा ३२ जना (मुलकभरमा कुल ४५ हजार), दक्षिण कोरियामा २७ जना (कुल १४ हजार), जापानमा १९ जना (कुल २४ हजार), फ्रान्समा  १८ (कुल १२ हजार), जर्मनीमा १४ (कुल ११ हजार जना) ले आत्माहत्या गरेको देखिन्छ (हेर्नुहोस् चित्र २ (क)) ।

    उसैको तथ्याङ्क अनुरुप विश्वमा एक अर्ब मानिसहरु अर्थात् सात जनामा एकजना चिन्ता (Anxiety), डिप्रेसन (Depression), स्किजोफ्रेनिया (Schizophrenia) जस्ता कुनै न कुनै किसिमको मनोरोगबाट ग्रसित छन् भन्ने देखाउँदछ (SINGLECARE TEAM, 2018) ।

    चित्र २ (ख) मा देखाइए बमोजिम चिकित्सा विज्ञानले यत्रो योगदान गर्दा पनि मनोरोगीहरुको संख्या नघट्नु र अमेरिका र यूरोपमा अन्यत्र भन्दा बढी प्रतिशतमा मनोरोगी रहेबाट भौतिक प्रगतिले मानसिक शान्ति दिन सक्ने रहेनछ भन्ने देखाउँदछ ।

    2.JPG

    3.JPG

    चित्र २ (ख) विश्वमा मनोरोगीको अवस्था

    चिडियाघरमा राखेका वा घरमा पालेका केही नगण्य जनावरहरुमा बाहेक अन्य प्राणीहरुमा मनोरोग भेट्टाइएको देखिदैन । मानिसहरु बाहेक अरुप्राणीहरुले नत मनमा भ्रान्ति भएर आत्माहत्या नै गरेको पाइन्छ  । यसरी पक्षबाट हेर्दा पनि मानव जातिलाई अन्य प्राणीहरु भन्दा उत्कृष्ट भन्न सकिने आधार भेट्टाइदैन ।

     (ग) जसमा द्वेषरहित मनोभावनाको कमी, उही उत्कृष्टतामा धनी?

    जुन मानिस प्रेमल छ, करुणाले भरिएको छ उसलाई हामी असल मानिसको रुपमा लिने गर्दछौं, रिसाह, हिंस्रक चरित्रकोलाई होइन । त्यसैले हामी मानिसहरुले उत्कृष्टताको एउटा जवरदस्त सूचकको रुपमा द्वेषरहित मनोभावनालाई लिने गर्दछौं ।

    हामीले मानेको यस सूचकलाई एकपटक व्यावहारिकताको कसीमा राखेर हेर्‍यौं भने आम रुपमा हामीमा यो चरित्रको अभाव भेट्टाइन्छ । आफू बाँच्नको लागि छोडेर मानिस बाहेक अन्य कुनै पनि प्राणीहरुले अरुको हत्या गर्दैनन् ।

    मानिसबाट भने उसको मनोरञ्जनका लागि होस् वा मोजमस्तीका लागि पशुपँक्षीहरु माथि अत्याचार गरिरहेको पाइन्छ । सुगालाई पिजडांमा राखेर होस् वा गाईबस्तुलाई बाँधेर, सिकार खेल्ने नाममा होस् वा मासु खानलाई वर्षेनी मानिसले लाखको संख्यामा होइन, करोडमा पनि होइन, अर्बौंको संख्यामा पशुपञ्छीहरुको हत्या गरिरहेका हुन्छौं ।

    विश्व खाद्य संगठनको आँकडा अनुसार सन् २०१४ मा विश्वमा ५० अर्बजति कुखुरा मासुका लागि मारिए, डेड अर्बजति सुंगुर, ६५ करोड भेडाच्याङ्ग्रा, ४५ करोड खसीबोका र ३० करोड जति गाईगोरु काटिए  (हेर्नुहोस चित्र ३) ।

    सर्वोत्कृष्ट छु भनेर ठान्ने मानिसले आफूभन्दा कमजोर र निर्दोष प्राणीहरु प्रति प्रेम दर्शाउनु पर्ने होइन, करुणा जाग्नु पर्ने होइन । खोइ त त्यो भाव । उल्टै हत्या, अनि उत्कृष्ट प्राणी रे मानव जाति, पत्याउने कसरी ?

    4.JPG

    चित्र ३ मानिसले वर्षमा मासुका लागि गरिने जनावरको हत्याको संख्या

    दोस्रो विश्वयुद्ध पछि (सन् १९४६ देखि २०१६ सम्मको ७० वर्षमा) विश्वमा भएका बिभिन्न लडाइहरुमा ८६ लाख भन्दा बढी मानिसहरुले ज्यान गुमाएको पाइन्छ (हेर्नुहोस चित्र ४) ।

    सन् २०१४ भनेको त ६,७ वर्ष पहिले मात्र त हो नि । यस वर्षमा समेत एक लाख भन्दा बढी मानिसहरुलाई आफ्नै जातकाले मारे । के आफ्नो अभिष्ट (महत्वाकांक्षा / स्वार्थ) पूरा गर्न आफ्नै जातलाई समेत मार्न उद्धत मानवलाई उत्कृष्ट प्राणीको दर्जामा राख्नु न्यायोचित हुन्छ ?

    5.JPG

    चित्र ४ लडाइका कारणले १९४६ देखी २०१६ सम्ममा भएको मानवीय क्षति

    ३. पर्यावरण विनासका कारक, उत्कृष्टताका संवाहक ?

    स्वच्छ हावा, शुद्ध पानी, यथेष्ट वनस्पति, उर्वर जमीन जस्ता प्राकृतिक संपदाका कारणबाट मात्र यस जगतका सबै प्राणीहरुको जीवन संभव भएको र यसले निरन्तरता पाएको हो ।

    यस्तो आफैलाई नकारात्मक असर गर्ने, अरु प्राणीहरुको त कुरै छाडौं आफ्नै (मानव जातिकै) सन्ततिहरुको जीवनलाई कष्टकर बनाउन लाग्ने प्राणी मानव यो दुनियामा कुनै छ भने मानव जातिमात्र हो । पर्यावरण विनासका कारक हामी मानव, प्राणीहरुमा उत्कृष्टता कार्यका संवाहक भनेर कसरी भन्न मिल्छ ?

     

    अनियन्त्रित जनसंख्या बृद्धि, अब्यबस्थित शहरीकरण र औद्योगिकीकरण, गैर-नवीकरणीय प्राकृतिक संसाधनको अत्याधिक दोहन आदिका कारणले हावा र पानी प्रदुषित भइरहेका छन् (हेर्नुहोस् चित्र ५), जमीनको उर्वराशक्ति घटिरहेको छ, प्राणवायु (अक्सिजन) उत्सर्जन गर्ने वनजंगल कम भइरहेको छ ।

    जलवायु परिवर्तनका कारणले अतिवृष्टि भई बाढीपहिरो र भूक्षय बढदो छ, गाउँवस्ती डुवानमा परिरहेछन्; अल्पवृष्टिले गर्दा कृषियोग्य जमिन बाँझो छ, खाद्यसंकटको स्थिति पैदा भइरहेछ; हिमालका हिउँपग्लेर सकिने, नदीनालामा वहाव कम हुन गई, जलसंकट पैदाहुने संभावना बढदोछ; समुद्र सहत बढनाले कतिपय देशहरुको अस्तित्व नै नरहने हो कि भन्ने परिस्थिति बन्दै छ ।

    यो हरितगृह ग्याँस उत्सर्जनको कारणले हुनगइरहेको जलवायु परिवर्तनको दुष्कार्यमा विश्वका वुद्धिमान र विवेकशील मानिसहरु धेरै बस्छन् भनेर मानिदै आएका समृद्धशाली मुलुकहरुको भूमिका बढी रहेकोछ ।

    यस्तो आफैलाई नकारात्मक असर गर्ने, अरु प्राणीहरुको त कुरै छाडौं आफ्नै (मानव जातिकै) सन्ततिहरुको जीवनलाई कष्टकर बनाउन लाग्ने प्राणी मानव यो दुनियामा कुनै छ भने मानव जातिमात्र हो । पर्यावरण विनासका कारक हामी मानव, प्राणीहरुमा उत्कृष्टता कार्यका संवाहक भनेर कसरी भन्न मिल्छ ?

    6.JPG

                           Source: Online

    चित्र ५ जल तथा वायु प्रदुषण

    ४. विभेदपूर्ण आस्था र व्यवस्थाका पक्षपाती, हुन्छ कसरी उत्कृष्ट जाति ?

    दुनियाका सबै मानिसहरुका गुणहरु एकै प्रकारका हुन सम्भव छैन किनभने उसमा अन्तरनिहीत गुण डिएनएद्वारा निर्धारित हुन्छ । त्यसैले व्यक्ति व्यक्तिमा फरकफरक गुणहरु हुन्छन् । जो तन मन धन लगाएर भित्रैदेखि ज्ञानको खोजीमा लागि परिरहन्छ, यसैमा रमाउँदछ, उ ब्राह्मण गुणको हो ।

    जो शक्तिको खोजीसंग सम्बन्ध राख्दछ, पद र प्रतिष्ठलाई सर्वोपरि मान्दछ, त्यो मानिसलाई क्षेत्रीय गुणको मानिन्छ । जसको लागि धन दौलत सबैथोक हो, उ वैश्यगुणको हो । जसको आकाङ्क्षा श्रमसंग जोडिएको हुन्छ उ शुद्र गुणको हो ।

    विश्वका सबै व्यक्तिले ज्ञान खोजे, यो जगत चल्न सक्दैन, अस्तित्व नै समाप्त भएर जान्छ । त्यसैगरी सबैजना मानिसहरुले शक्ति रोजे, संसारमा झैझगडा, लडाइ र युद्ध सिवाय केही रहँदैन र यदुवंशको समाप्ति जस्तै हाम्रो पनि हविगत हुनपुग्छ । संसारका साराले धन-सम्पत्तीमात्र चाहेको भए, मानिस सबै मर्ने थिए र धन लुकाउने सेफमात्र बाँकी रहने थियो ।

    सम्पूर्ण मानिसहरुले श्रममात्र गरेको भए, संस्कृति, सभ्यता, कला, विज्ञान, दर्शन केहीको पनि विकास हुन सक्दैन थियो । यो जगत सहज रुपमा चल्नलाई यी चारै गुणका मानिसहरुको जरुरी हुदो रहेछ र जीव विकास क्रममा क्रमशः यो प्रकटित हुदै गएको हुनुपर्दछ । यसबाट यी चारै वर्ण एकअर्काका पूरक हुन् भन्ने सहजै बुझिन्छ । यो उँचनिचको विभाजन हुदै होइन । श्रम पनि उत्तिकै माथि छ जति ज्ञान छ ।

    त्यसैले यसमा कोही तल र कोही माथि भन्ने प्रश्न नै उठ्दैन । गुणका आधारमा समाजलाई परिचालन गर्न सहज होस् भनेर शुरु गरिएको व्यवस्थालाई तँ तल्लो जातको म उपल्लो जातको भनेर जातिय भेदभावको जगेर्णा गर्ने, मलजल गर्ने र बढवा दिने मानवको जाति कसरी उत्कृष्ट श्रेणीमा पर्दछ ?

    अझ जन्मस्थानका आधारमा, लिङ्गका आधारमा, छालाको रंगका आधारमा पक्षपाती व्यवहार गर्ने हामी मानिसलाई कुन सूचकलाई हेरेर उत्कृष्ट प्राणीमा दर्ता गराउने ?  एउटा मुखले सबैको परमात्मा एकै हो भन्दै, अर्को मुखले अरुको धर्म भन्दा आफ्नो धर्मलाई उचो ठान्ने र त्यही अनुरुपको निकृष्ट व्यवाहार गर्ने मानिसले, सबैलाई समान ठान्ने अन्य प्राणीहरु भन्दा कसरी उत्कृष्ट भनेर दावी गर्न मिल्छ ?    

    ५. तथ्य, कथ्य र सत्य

    यस जगतका सबै प्राणीहरु प्रत्यक्ष वा परोक्ष रुपमा एक अर्कोमा आश्रित छन् ( हेर्नुहोस् चित्र ६) । त्यतिमात्र नभएर माटो, पानी, प्रकाश/ताप, हावा जस्ता तत्वहरु विना हामी मानव जातिको मात्र होइन कुनै पनि प्राणीहरुको अस्तित्व रहदैन । रुखविरुवाले हामीलाई अक्सिजन दिन्छ, उसलाई हामी कार्वनडाइअक्साइड दिन्छौं । अक्सिजन विना हामी कति बाच्न सक्छौं ? ५ मिनेट, ७ मिनेट । त्यसैले के हाम्रो आधा अस्तित्व रुखविरुवामा अडेको छैन ?

    र उसको हामीमा । हामीले फोहर भन्ने गरेका बस्तुहरु झिंगाजस्ता किटपतङ्गहरुले नकुहाइदिने हो भने यो संसार हड्डी, मासु र यस्तै फोहोरको थुप्रो बाहेक के हुन्थ्यो होला? त्यसै गरी मनिस लगायतका प्राणीहरुलाई हानी गर्ने बस्तुहरुलाई माटोमा रहेका शुक्ष्मजीवाणुहरु (Microorganisms) ले विघटित (Decompose)  गराएर हाम्रो वरिपरिको वातावरण स्वच्छ र शुद्ध बनाइदिएकामात्र छैनन्, हामीले खाने धान, मकै, गहुं जस्ता अन्नवाली, काउली, गाँजर जस्ता तरकारी एवं हामीलाई स्वादिष्ट लाग्ने स्याउ, सुन्तला जस्ता फलफूल आदिको लागि पौष्टिक तत्व (मल) तयार गरिदिएका छन् ।

    यसबाट नै मानव जाति, अन्य प्राणीहरु तथा धरतीको सहज निरन्तरता संभव छ । यसमा सबैको कल्याण छ । तथ्यले सत्य यही नै हो भन्दछ। त्यसैले प्रेमल बन्ने तिर लागौं, सबै प्राणीहरु अस्तित्वका एक अंश हुन भन्ने तथ्यलाई हार्दिकता पूर्वक स्वीकार गरौं । 

    माटोमा रहेका  मलरुपी यिनै पोषकतत्वहरु, सूर्यको प्रकाश र पानीबाट तयार हुने अन्नबाली, सागसब्जी, फलफूल विना के हाम्रो अस्तित्व सम्भव छ? यसबाट जगत संचालनका लागि सम्पूर्ण चरअचर (जीव/निर्जीव) बस्तुहरुको आआफ्नै महत्व छ, स्वधर्म (स्वकर्म) छ भन्ने स्वतः देखिन्छ।

    यी सबै बस्तुहरुको सन्तुलनबाट मात्र अस्तित्वको निरन्तरता संभव छ । वास्तविकता (तथ्य) यही हो । यस अर्थमा यहाँ केवल मानव जाति जस्तै अन्य जातका प्राणीहरु पनि हामी जस्तै समान हैसियतका हुन भन्ने भावको कुरा गर्न खोजिएको हो । माथि गरिएको चर्चा मानवजाति अरुभन्दा खराब जाति हो भन्न खोजिएको पनि होइन ।

    मानव जातिमा अरुप्राणीहरुको भन्दा बुद्धि, विवेक प्रयोग गर्ने क्षमता बढी छ । यसलाई खेलाउने चञ्चल मन छ, सही कि गलत छुट्याउन सक्ने अन्तरचेतना छ । यी भित्र काम (Lust/craving, क्रोध (Anger), लोभ (Greed), मोह (Delusion), मद (Arrogance, Vanity) र मात्सर्य (Jealousy) जस्ता दुष्ट (Enemy) र प्रेम, क्षमा करुणाजस्ता प्रेमल गुणहरु लुकेका हुन्छन् ।

    यी गुणहरुको उपयोगद्धारा हाम्रो जीवन चलेको हुन्छ । जब मानिसमा पहिलो प्रकारका अनुदार गुणहरु हावी हुन्छन्, उ आफ्नो बुद्धि, शारीरिक, पदीय वा अन्य तागतको प्रयोग गरी आफूले चाहेको कुरालाई सहयोगी हुने यो वा त्यो कथ्य (Logic) को पहिले आविष्कार गर्दछ, त्यसपछि प्रयोग गर्छ ।

    अहंकारी बन्दै जान्छ र आफूलाई सर्वश्रेष्ठ घोषणा गर्दछ । यसरी मानिसद्धारा आफ्नो फाइदाको लागि बनाइएको कथ्य नै आजको उसको र अरु प्राणीहरुको दुःखको कारण हो ।

    7.JPG

    चित्र ६ पर्यावरणीय चक्र, प्राणी-प्राणी र प्रकृति-प्राणी-मानव बीचको अन्तरसम्बन्ध

    चित्र ७ मा देखाएको जसरी जति हामीमा स्वार्थपूर्ण भावना बढदै जान्छ (जति हामी आफू वा आफ्नो परिवार केन्द्रित हुन्छौं) त्यति नै हामी दुःखी, चिन्तित, मनोरोगी हुन्छौं । अर्कोतर्फ हामी जति उदार हुदै जान्छौं, उत्तिनै मनमा शान्ति, भावनामा स्थिरता आउँछ ।

    यसबाट नै मानव जाति, अन्य प्राणीहरु तथा धरतीको सहज निरन्तरता संभव छ । यसमा सबैको कल्याण छ । तथ्यले सत्य यही नै हो भन्दछ। त्यसैले प्रेमल बन्ने तिर लागौं, सबै प्राणीहरु अस्तित्वका एक अंश हुन भन्ने तथ्यलाई हार्दिकता पूर्वक स्वीकार गरौं । 

    मानिस र मानिसका बीचमा, मानिस र अन्य प्राणीहरुको बीचमा समन्यायिक व्यवाहार गरौं । प्रकृतिलाई प्रेम गरौं । भवतु सब्ब मंगलम (सबैको कल्याण होस्) !

    9.JPG

    सन्दर्भ सामाग्रीहरु

    SINGLECARE TEAM, 2018, Mental health statistics 2021, https://www.singlecare.com/blog/news/mental-health-statistics/

    Ritchie, H. , 2018, Global mental health: five key insights which emerge from the data, https://ourworldindata.org/global-mental-health#:~:text=Around%201%2Din%2D7%20people,4%20percent%20of%20the%20population

    WHO, 2018, World Health Organization (Suicide Rates 2018), https://worldpopulationreview.com/country-rankings/suicide-rate-by-country

    Roser, 2021, War and Peace, https://ourworldindata.org/war-and-peace

    Shadhguru, 2016, Inner Engineering, A Yogi’s guide to joy, Spiegel, New York,

    ओशो, २०७१, गीता-दर्शन (सम्पादक महेन्द्र प्रकास सिवाकोटी), मधुवन प्रकाशन, पुतलीसडक, काठमाडौं

    नोटः चित्र ७ बाहेक, यस लेखमा राखिएका चित्रहरु बिभिन्न इन्टरनेटबाट लिइएका हुन् ।

    साताको लोकप्रीय