काठमाडौँ / बैंक अफ काठमाण्डू लिमिटेडले कालिमाटी फलफूल तथा तरकारी बजार बिकास समितिको व्यवस्थापन रहेको माछापोखरीमा अवस्थित तरकारी बजारमा डिजिटल भुक्तानी (क्यूआर कोड) सेवा शुरू गरेको छ ।
आफ्नो डिजिटल कारोबार विस्तार गर्ने क्रममा यही चैत २७ गते शुक्रबार एक औपचारीक कार्यक्रमबीच बैंकले उक्त सेवा सञ्चालनमा ल्याएको हो ।
नेपाल राष्ट्र बैंकका भुक्तानी प्रणाली विभागका कार्यकारी निर्देशक भुवन कडेंलले उद्घाट्न गरेको उक्त कार्यक्रममा कालिमाटी फलफूल तथा तरकारी बजार बिकास समितिका सहायक कार्यकारी निर्देशक अर्जुन अर्याल तथा बैंकका प्रमुख कार्यकारी अधिकृत शोभन देव पन्तकोलगायतको उपस्थिति रहेको थियो ।
उक्त औपचारिक शुभारम्भ कार्यक्रममा नेपाल राष्ट्र बैंकका भुक्तानी प्रणाली विभागका कार्यकारी निर्देशक कडेंलले फलफूल तथा तरकारी खरिद गरी डिजिटल तवरले क्यूआर कोड स्क्यान गरी भुक्तानी गरे ।
उक्त कार्यक्रममा सम्बोधन गर्दै निर्देशक कडेंलले डिजिटल तवरले भुक्तानी गर्ने व्यवस्था मिलाएकोमा बैंक अफ काठमाण्डू लिमिटेड र कालिमाटी फलफूल तथा तरकारी बजार बिकास समितिलाई धन्यवाद ज्ञापन गरे ।
त्यस्तै, बैंकका प्रमुख कार्यकारी अधिकृत पन्तले नगदरहित कारोबारको अभियानलाई बैंकले प्राथमिकतामा राखेर अगाडी बढाइ रहेको जानकारी गराए ।
साथै, उक्त कार्यक्रममा कालिमाटी फलफूल तथा तरकारी बजार बिकास समितिका सहायक कार्यकारी निर्देशक अर्यालले डिजिटल भुक्तानी प्रणालीको व्यवस्थापनमा सहयोग गरेकोमा बैंक अफ काठमाण्डू लिमिटेडलाई धन्यावाद ज्ञापन गरे ।
हालसम्म बैंक अफ काठमाण्डू लिमिटेडले ९० शाखा कार्यालयहरु, ७८ एटिएम र १० एक्स्टेन्सन काउन्टरहरुबाट आफ्ना ग्राहक महानुभावहरुलाई उत्कृष्ट बैंकिङ्ग सुविधा प्रदान गर्दै आइरहेको छ ।