काठमाडौँ / कोरोना भाइरसको दोस्रो लहर तीव्र रूपमा फैलिएपछि सरकारले शहरी क्षेत्रका विद्यालय बन्द गर्ने निर्णय गरेको छ ।
सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले कोभिड – १९ सङ्कट व्यवस्थापन केन्द्र (सीसीएमसी)को सिफारिसबमोजिम उक्त निर्णय गरेको हो । विद्यालयको भौतिक कक्षा बन्द भए पनि भर्चुअल विधिबाट कक्षा सञ्चालन गरिने भएकोले पठनपाठन नरोकिने मन्त्रालयले जनाएको छ ।
पछिल्लो समय नयाँ भेरियन्टको कोरोना संक्रमण फैलिएपछि स्वास्थ्य मापदण्ड अपनाउनुपर्ने र कडाई गरिनुपर्ने आवज उठ्दै आएको थियो । सरोकारवाला निकायले स्वास्थ्य मापदण्ड पालना गरेर विद्यालय खोल्न पाउनुपर्ने भन्दै आएको भए पनि बालबालिकामा कोरोना संक्रमण देखिने क्रम बढेपछि स्वास्थ्य मन्त्रालयले नै विद्यालय बन्द गर्नुपर्ने बताउदै आएको थियो ।
त्यस्तै, सरकारले रात्रिकालीन व्यवसाय पनि बन्द गर्ने भएको छ । कोरोना संक्रमण फैलिन सक्ने भन्दै सरकारले बैशाख महिनाभरका लागि डान्स बार, क्लब, दोहोरी साँझलगायतका रात्रिकालीन व्यवसाय बन्द गर्ने निर्णय गरेको हो ।
यसैगरी अब धार्मिकस्थलमा समेत मापदण्ड तोकिएको छ । मन्त्रिपरिषद्को बैठकले धार्मिक स्थलमा २५ जना भन्दा बढी भेला हुन नपाइने निर्णय गरेको हो । पार्टी प्यालेस, मेला, महोत्सव, भिडभाड हुने कार्यक्रमहरू जिम खाना, स्वीमिङ पुललगायतका भिडभाड हुने स्थानमा पनि कडाइ गर्ने सरकारको निर्णय छ ।