अफगानिस्तानमा रहेका सबै अमेरिकी सेनालाई आउँदो ११ सेप्टेम्बरसम्म त्यहाँबाट घर फर्काउने घोषणा हालै अमेरिकी राष्ट्रपति जो बाइडेनले गरेका छन् ।
सन् २००१ को सेप्टेम्बर ११ मा अमेरिकाको न्युयोर्क सहरमा हमला भएपछि अमेरिकाको नेतृत्वमा अफगानिस्तानसहितका देशमा पनि सैन्य हस्तक्षेप शुरु भएको थियो । त्यो कामको अगुवाई गरेको अमेरिकाकै नेतृत्वमा अफगानिस्तानमा पनि सेना पुगेको थियो ।
हप्ता दिन अघि यस्तो संयोग थियो कि तत्कालीन अमेरिकी राष्ट्रपति जर्ज डब्ल्यु बुसले २० वर्षअघि ह्वाइट हाउसको जुन हलबाट विश्वमा आतंकवाद विरुद्धको युद्धको घोषणा गरेका थिए ।
सोही हलबाट राष्ट्रपति जो बाइडेनले अमेरिकी सेना फिर्ता गर्ने घोषणा गरे। यसरी अमेरिकामा प्रवेश गरेका नेटो सैनिकलाई उनीहरु त्यहाँ पठाइएको २० औँ वर्षगाँठ पारेर फिर्ता गर्न लागिएको हो ।
यो घोषणाले अमेरिकी कूटनीतिक वृत्तमा नयाँ बहस शुरु भएको बताइएको छ । कतिपयले यसलाई विवादास्पद पनि भनेका छन् । आंतकवादका विरुद्धमा अफगानिस्तानमा के पर्याप्त सुरक्षा छ भन्ने प्रश्न पनि अहिले उठेको छ ।
एकातर्फ अफगान सरकार तथा तालिबानबीचको शान्ति प्रक्रिया शुरु भएको भए पनि टुङ्गोमा पुग्न सकेको छैन । यो शान्ति वार्ता सफल भएपछि अमेरिकी सेना फर्कने कुरामा सहमति भएको भए राम्रो हुने बताइएको थियो । तर त्यो सम्भव हुन सकेन ।
अमेरिकामा केही महिना मात्र अघि त्यहाँको अमेरिकी गुप्तचर एजेन्सीको प्रतिवेदनले अन्तर अफगान शान्ति सम्झौता बिना नै सेना फर्काउँदा केही वर्षभित्र नै काबुलमा अहिलेको सरकार नरहने र यसले गर्दा फेरि देशमा अल कायदाको उदय हुन पनि सक्ने देखाएको थियो । त्यसैले पनि कतिपयले यो अवस्थाको बारेमा अहिले व्यापक विचार विमर्श गरिरहेका छन् ।
वर्तमान राष्ट्रपति जो बाइडेन अफगानिस्तानमा सधैँ युद्ध मात्र गरिरहने होइन भन्ने पक्षमा रहेका थिए ।
त्यसैले पनि बाइडेनले सेनाको बर्हिगमनको समयसीमा अब नलम्ब्याउने बताएका हुन् । बाइडेन उनको प्रशासनले पूर्वी एशियामा बढ्दो सुरक्षा चुनौतीलाई पनि मनन् गरेको बुझिएको छ ।
अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पको समयमा तालिबानसँग सन् २०२१ को मे १ सम्म अमेरिकी सेना फर्काउनुपर्ने सहमति भएको थियो । यस अवधिभित्र सेना फिर्ता नगरिए युद्ध सुरु हुन पनि सक्ने चेतावनी तालिवानले बारम्बार दिने गरेका छन् ।
अमेरिकी राष्ट्रपति जो बाइडेनले युद्धग्रस्त मुलुक अफगानिस्तानबाट आगामी सेप्टेम्बर ११ भित्र सबै अमेरिकी सेना फिर्ता गर्ने तयारी गर्नुभएको उहाँ निकट अमेरिकी अधिकारीले पनि बताएका छन् ।
अमेरिकी इतिहासमै अमेरिकी फौज कुनै मुलुकमा झण्डै २० वर्ष बसेको यो पहिलो घटना हो । कतिपयले अमेरिकी सेनाको अफगानिस्तानबाट फिर्ती भएसँगै तालिबानको विजयका रुपमा पनि लिएका छन् ।
झण्डै ४० वर्षदेखि युद्धमा रहेको अफगानिस्तानमा शान्ति ल्याउने प्रयास स्वरुप टर्कीले सर्वपक्षीय अन्तर्राष्ट्रिय शान्ति सम्मेलन गर्ने घोषणा लगत्तै सेना फिर्तीबारे अमेरिकी अधिकारीको यस्तो भनाइ सार्वजनिक भएको हो । यद्यपी तालिबान समूहले उक्त सम्मेलन बहिस्कार गर्ने बताएका छन् ।
गत हप्ता ह्वाइट हाउसमा अमेरिकी राष्ट्रपति जो बाइडेनले भन्नुभयो– हामीले अब अफगानिस्तानमा जारी रहेको युद्धको अन्त्यको घोषणा गरिसकेका छौँ, त्यहाँ रहेका अमेरिकी सेना हामीले फिर्ता गर्ने भएका छौँ । त्यस सम्बोधनका क्रममा उहाँले यही मे १ तारिखदेखि नै अमेरिकी फौज फिर्ता गर्ने प्रक्रिया शुरु हुने पनि उनले बताएका थिए ।
समाचारमा जनाइएअनुसार सन् २००१ मा अमेरिकी हवाई हमला घोषणा गरिएको ह्वाइट हाउसको कक्षबाट उनले सो कुराको घोषणा गरेको हुन्।
उनले भनेका थिए “यो अमेरिकाको सबैभन्दा लामो युद्ध अन्त्य गर्ने बेला हो र यसै अनुसारको निर्णय हामीले अब गरिसकेका छौँ ।” अमेरिकी अधिकारीहरूका अनुसार सन् २००१ को सेप्टेम्बर ११ मा अमेरिकाको वर्ल्ड ट्रेड सेन्टरमा भएको आतंकवादी हमलाको २० औँ वार्षिकी पारेर सैनिकहरूलाई फिर्ता ल्याउन लागिएको हो ।
अमेरिकी राष्ट्रपति बाइडेनको यो घोषणासँगै सेप्टेम्बर ११ अघि नै सबै अमेरिकी सैनिकले अफगानिस्तान छाड्ने भएका हुन् । यतिखेर अफगानिस्तानमा नौ हजार ६०० नेटो सैनिक रहेका छन् ।
ती नेटो सैनिकमध्ये कम्तीमा पनि २ हजार ५०० जना अमेरिकी सेना रेहका छन् । तर पनि अफगानिस्तानमा रहेका अमेरिकी सैनिकको संख्या भने समय समयमा थपघट भइरहने गर्दछ । तर पनि अमेरिकी सञ्चारमाध्यमहरूले भने अहिले अफगानिस्तानमा रहेको अमेरिकी सेनाको कुल संख्या ३ हजार ५०० को नजिक रहेको जनाएका छन् ।
राष्ट्रपति बाइडेनले अफगानिस्तानमा २ हजार ४८८ जना अमेरिकी सेनाको यस लामो युद्धका क्रममा निधन भएको जानकारी पनि दिएका थिए । साथै उनले यस युद्धका क्रममा २० हजार भन्दा बढी अमेरिकी सेना घाइते भएका पनि जानकारी दिनुभएको समाचारमा जनाइएको छ ।
उता विदेशी सेनाले अफगानिस्तान छाडे पनि लडाइँ जारी रहने सम्भावनामा तालिबानका तर्फबाट देखिन्छ । राष्ट्रिय गुप्तचर निकायले गत हप्ता सार्वजनिक गरेको मूल्याङ्कन प्रतिवेदनमा तालिबान समूह आफूले सैन्य विजय हासिल गर्नसक्ने खतरा देखाएको छ ।
धेरै वटा शहरमा नियन्त्रण कायम गरिरहेका अफगानी सेनाले आफूले पुनःकब्जामा लिएका नयाँ क्षेत्र वा सन् २०२० मा छाडेका क्षेत्रलाई आफ्नो नियन्त्रणमा राखिरहन सङ्घर्ष गर्नु परेको प्रतिवेदनमा छ । अफगान नागरिकले युद्धबाट ठूलै क्षति व्यहोर्नु परेको छ र खासगरी अफगान महिलामा तालिबानको सक्रियता र उदयले थप त्रास उत्पन्न गराएको छ ।
अफगानिस्तानमा सुन्नी इस्लामको बाहुल्यता छ । अफगानिस्तानको सत्ता सन् १९९६ देखि २००१ सम्म तालिबान समूहले कब्जा गरेका थिए ।
तालिबान समूहलाई परास्त गर्न भन्दै एक दशकअघि अफगानिस्तानमा अमेरिकी सेनाको संख्या एक लाखको हाराहारीमा थियो । तर पूर्वराष्ट्रपति ट्रम्पको कार्यकालमा यो संख्या ३ हजार ५०० मा आइपुगेको छ ।
उता दक्षिण एसियाली देश अफगानिस्तानमा शान्ति सुरक्षा प्रदान गर्ने काममा खटिइरहेका नेटो सैनिकले सन् २०१४ को अन्त्यमा अफगानिस्तान छोडेपछि त्यहाँको सुरक्षा व्यवस्था कमजोर हुँदै गइरहेको पनि कतिपयको भनाई छ ।
सन् २००१ मा अमेरिकाको न्युयोर्कस्थित ट्वीन टावरमा अल कायदाको आतङ्ककारी आक्रमणमा सयौँं निर्दोष व्यक्ति मारिएपछि उक्त सञ्जालका नेता ओसामा बिन लादेनलाई खोजी गर्ने क्रममा अमेरिकी नेतृत्वमा नेटो सेना अफगानिस्तान प्रवेश गरेको थियो ।
मध्य तथा दक्षिण एसियाली क्षेत्रमा विगत कम्तीमा पनि दुई दशकभन्दा बढी समयदेखि अत्यन्त अशान्त रहेको देश अफगानिस्तानबाट सन् २०१४ को डिसेम्बर ३१ बाट नेटो आवद्ध प्रायः सैनिक फर्किएका थिए ।
नेटो सैन्य बलको फिर्तीसँगसँगै अफगानिस्तानमा मात्र नभएर दक्षिण एसियामा नै प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा भोलिको अफगानिस्तानको सुरक्षा अवस्थालाई लिएर चिन्ता छाएको थियो ।
युद्ध सकिएको तथा देशको सुरक्षा अब अफगानिस्तानी सेना स्वयंले गर्न सक्ने नेटो सैन्यबल फर्किए पनि त्यहाँ केही अमेरिकी सेनालाई थप केही समय फिर्ता नलग्ने निर्णय गरिएको थियो ।
ती सैनिकलाई युद्ध गर्न मैदानमा भने नखटाइने तर अफगानिस्तानी सैनिकलाई युद्धकला सम्बन्धि तालिम, सल्लाह र सहयोग मात्र गरिने घोषणा भएको थियो । (अन्तर्राष्ट्रिय संचार माध्यमको सहयोगमा तयार पारिएको)