प्रतिनिधिसभा सदस्यको एकै स्वर : ‘जसरी हुन्छ जनतालाई बचाऔँ’

प्रतिनिधिसभा सदस्यको एकै स्वर : ‘जसरी हुन्छ जनतालाई बचाऔँ’

अर्थ डबली
आइतवार, बैशाख १२ २०७८
अर्थ डबली
आइतवार, बैशाख १२ २०७८ (अर्काइभ बाट)
  • प्रतिनिधिसभा सदस्यको एकै स्वर : ‘जसरी हुन्छ जनतालाई बचाऔँ’

    काठमाडौँ  / प्रतिनिधिसभा सदस्यले जनताको जीवन रक्षा पहिलो प्राथमिकता भएकाले कोभिड–१९ नियन्त्रणका सबै संयन्त्रलाई चलायमान बनाउनुपर्नेमा जोड दिएका छन् । 

    images
    images

    उनीहरूले विगतबाट पाठ सिकेर कमजोरी हटाउँदै स्वास्थ्य मापदण्डलाई पूर्ण पालना गरी नागरिकको जीवनरक्षामा लाग्न संसदीय समितिमार्फत आह्वान गरेका छन् । 

    “कानून निर्माता हामीले जनतालाई बचाउन के गर्ने हो,  त्यो हेरौँ, अब हाम्रो एउटै उद्देश्य हुनुपर्छ, कसरी हुन्छ जनतालाई बचाऔँ भन्ने, त्यसमा सांसदको भूमिका के हुने, संसदीय समितिले कसरी योगदान दिने”, नेकपा (एमाले)का सदस्य नवराज सिलवालले भन्नुभयो, “त्यसतर्फ समितिको ध्यान जाओस् ।”

    तराई प्रभावित भइरहेको सन्दर्भ जोड्दै सिलवालले आजको राज्यव्यवस्था तथा सुशासन समितिको बैठकमा निकट भविष्यमा काठमाडौँ उपत्यका प्रभावित हुने अवस्था देखिएको तर्फ राज्यको ध्यानाकर्षण गराए। हुन त समितिको यही वैशाख ९ गतेको बैठकले  १६ बुँदे निर्देशन जारी गर्दै कोभिड–१९ सङ्क्रमण नियन्त्रणका लागि भरपर्दो उपाय अवलम्बन गर्न राज्यलाई निर्देशन दिएको थियो ।  सांसदले कोरोना नियन्त्रणमा लाग्ने संयन्त्रलाई थप प्रभावकारी बनाउनुपर्ने आवश्यकतामा जोड दिए।

    एमालेकै लालबाबु पण्डितले भारतको अवस्था दयनीय रहेकाले अब नेपालमा पनि त्यो स्थिति आउनसक्ने भनी चिन्ता प्रकट गरे। “निषेधात्मक आदेश जारी गर्नुपर्ने पनि हुन सक्छ, विशेष ध्यान दिनुपर्छ”, उनले भने। सोही दलका खेमप्रसाद लोहनी र लक्ष्मी चौधरीले आवश्यकतानुसार अनुगमन गरेर सङ्क्रमण रोकथाममा सबै संयन्त्र लाग्नुपर्नेमा जोड दिए। 

    यतिबेला नागरिक बचाउनु नै ठूलो कुरा भएको जनाउँदै नेपाली कांग्रेसका मोहनप्रसाद पाण्डेले भने, “अस्पताल पर्याप्त बनाउनुप¥यो, औषधि पर्याप्त राख्नुप¥यो, जिल्लाका सबै निकायलाई प्रभावकारी परिचालन गर्नुपर्छ, आफूले गर्नुपर्ने कामबाट राज्य बाहिर गएको छ, यसमा समितिको आवश्यक निर्देशन जरुरी छ ।” 

    कांग्रेसकै  देवेन्द्रराज कँडेलले कोभिडमा राज्य संयन्त्रले कसरी काम गरिरहेको छ भन्नेमा संसदीय समितिको ध्यान त्यसतर्फ जानुपर्नेमा जोड दिए। “वीर अस्पतालमा भएको अक्सिजन प्लान्ट चल्न सकिरहेको छैन, अनुदानमा बाहिरबाट आयात गर्ने कुरा हुँदैछ, आफ्नो भइरहेकालाई चलाउन नसक्ने, अनि बाहिरबाट ल्याएर सम्भव छ ?”, उनले प्रश्न गर्दै भने। अब जनतालाई कसरी सुरक्षित पार्न सकिन्छ भन्नेतर्फ समितिले ध्यान दिनुपर्नेमा उनको जोड थियो । 

    नेपाल मजदूर किसान पार्टीका प्रेम सुवालले आवश्यक स्वास्थ्य सुरक्षा मापदण्ड अपनाएर भए पनि मुख्य क्षेत्रको अनुगमन जरुरी रहेको बताए । 

    विषम् परिस्थितिमा सरकार, संसद् र संवैधानिक निकाय चलायमान हुनैपर्नेमा उनको जोड थियो । उनले समितिबाट भएको निर्देशन कार्यान्वयन भयो कि भएन भनेर अनुगमन जरुरी रहेको बताए। विगतमा पनि सीमाक्षेत्रबाट आएका नेपालीको सुरक्षित व्यवस्थापन हुन नसक्दा कोरोना फैलिएको उदाहरण पेश गर्दै उनले अहिले पनि त्यही अवस्था आएको विचार राखे। 

    नेकपा (माओवादी केन्द्र)की रेखा शर्माले भौतिकरुपमा उपस्थित भएर अन्य वैकल्पिक विधि अपनाएर कोभिड–१९ सङ्क्रमण नियन्त्रणको अवस्थाको अध्ययन गरी आवश्यक सुझाव दिनुपर्ने औँल्याइन् । 

    जनता समाजवादी पार्टीका रामसहायप्रसाद यादव र माओवादी केन्द्रका महेश्वरजङ्ग गहतराजले सरकारले आफैँले जारी गरेको आदेश आफैँले उल्लङ्घन गरिरहेका भनी आलोचना गरे । उनीहरूले कोभिड–१९ सङ्क्रमण नियन्त्रणका लागि भइरहेका कारवाहीको अनुगमन गरी राज्यलाई आवश्यक निर्देशन जरुरी रहेको बताए।

    सांसद छक्कबहादुर लामाले वर्तमान जटिलावस्थामा राज्यव्यवस्थासमितिले वाच डगको भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिए । “हरेक गतिविधिको जानकारी लिएर नेतृत्वलाई सही दिशानिर्देशन गर्नु जरुरी छ”, लामाले भने, “सही समयमा सही निर्णय नगर्दा अवस्था जटिल हुन सक्छ भन्नेतर्फ समितिको ध्यान जानुपर्छ ।” 

    साताको लोकप्रीय