काठमाडौं/ जनताको स्वास्थ्यमा खेलवाड नगर्न सरकारसँग नेकपा माओवादी केन्द्रले आग्रह गरेको छ । आज सोमबार एक प्रेस विज्ञप्ति जारी गर्दै अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले तत्काल ध्यान दिन सरकारसँग आग्रह गरेका छन् ।
अध्यक्ष प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओली कोरोना कहरबाट जनतालाई जोगाउन सुरक्षा गर्न तिर ध्यान केन्द्रीत गर्न छाडेर कार्यक्रमको उद्घाटन गर्दै रिवन काट्नमा समय बढि गएकोतर्फ संकेत गरेका छन् ।
‘कोरोना भाइरसको दोस्रो लहरको महामारी फैलिएको घटनाले सिंगो देश आक्रान्त छ । कोरोनाको कारण निधन भएका नागरिकप्रति हार्दिक समबेदना प्रकट गर्दै तिनका शोकाकूल परिवारजनमा प्रचण्डले समबेदना प्रकट गरेका छन् ।
स्वास्थ्य सेवा प्रभावकारी बनाई जनतालाई राहत दिन केन्द्रीत हुनुको सट्टा वर्तमान सरकार उद्घाटनमा केन्द्रीत हुने आचारणले मुलुकले अप्ठेरो दिनको सामाना गर्नु परेको विज्ञप्तिमा छ ।
‘म सरकारसँग जनताको स्वास्थ्यमा खेलवाड नगर्न तथा उच्च प्राथमिकताका साथ सबै स्थानीय निकायमा स्वस्थ्य उपकरण र सामाग्रीको समुचित व्यवस्था मिलाउन विशेष आग्रह गर्दछु’ उनले विज्ञप्ति मार्फत भनेका छन् ।
महामारीको सबैभन्दा बढि मार श्रमजीवि जनसमुदायलाई पर्ने भएकोले उनीहरुका लागि खाद्यान्न तथा अन्य विशेष सहयोगको व्यवस्था मिलाउन सरकारका साथै निजी क्षेत्रसँग पनि अपील गरेका छन् ।
खुला सीमा भएको भारतमा एकै दिन लाखौं व्यक्ति संक्रमित हुनुका साथै केही हजारको मृत्यु भएको तथ्याङ्कले पनि स्थिति भयावह बन्ने तर्फ सचेत रहनुपर्ने भएको प्रचण्डले बताएका छन् ।
साथै स्वयंसेवीका रुपमा महामारीविरुद्धको लडाइँमा सावधानीपूर्वक नेतृत्व लिन पार्टीका नेता कार्यकर्तालाई आग्रहसमेत गरेका छन् ।
हेर्नुहोस् प्रचण्डको विज्ञप्ति