काठमाडौँ / साताको अन्तिम कारोबार दिन बिहीबार नेप्से परिसूचक २५.८३ अङ्क अर्थात १ प्रतिशतले बढेर २ हजार ६११.११ बिन्दुमा उक्लिएको छ ।
पछिल्लो समय लगानीकर्ताहरूको मन अस्थिर हुँदा बजारमा निकै उतारचढाव देखिएको छ । केही लगानीकर्ताहरू कोरोना भाइरसका कारण सरकारले जारी गरेको निषेधाज्ञाका कारण अन्य व्यवसाय बन्द रहे पनि शेयर बजार भने खुल्ने कुराले उत्साहित छन् ।
अन्य क्षेत्रमा हुने लगानी शेयर बजारमा गर्न सकिने अनुमान गरिएको छ भने केही केही लगानीकर्ताहरू कोरोना संक्रमणका त्रासले बजार घट्न सक्ने भन्दै लगानीकर्ताहरू सुरक्षित हुन चाहान्छन् । यी लगानीकर्ताहरु पर्ख र हेरको अवस्थामा रहदा त्यसको असर बजारमा पर्दै आएकोमा आज बिहीबार निषेधाज्ञाको पहिलो दिन भने बजार १ प्रतिशतले बढेको हो ।
आज कूल २१७ ओटा कम्पनीको शेयर ५० हजार ६७३ पटक व्यापार हुँदा ९८ लाख १८ हजार ४६ कित्ता शेयर खरिदबिक्री भएको छ भने ४ अर्ब ५७ करोड १९ हजार रुपैयाँ बराबरको कारोबार भएको छ । नेप्से बढेसँगै बजार पूँजीकरण रकम पनि बढेर ३६ खर्बमा उक्लिएको नेप्सले जनाएको छ ।
आज कारोबारमा आएका लगानी र होटल तथा पर्यटन समूहबाहेक सबै समूहको परिसूचकमा हरिायली छाएको छ । यसदिन बैंक समूहको परिसूचक ०.४३ प्रतिशत, विकास बैंक समूहको ०.९८ प्रतिशत, वित्त समूहको ०.४२ प्रतिशत र जलविद्युत समूहको ३.२१ प्रतिशतले परिसूचक बृद्धि भएको छ ।
यसैगरी जीवन बीमा समूहको ०.८५ प्रतिशत, उत्पादन तथा प्रशोधन समूहको १.८७ प्रतिशत, म्युचुअल फण्ड समूहको ०.०९ प्रतिशत, लघुवित्त समूहको ०.८६ प्रतिशत, निर्जीबन बीमा समूहको ०.९८ प्रतिशत, व्यापरिक समूहको ३.५७ प्रतिशत र अन्य समूहको २.५४ प्रतिशतले परिसूचक बृद्धि भएको छ ।
आज महिला लघुवित्त वित्तीय संस्था र सिङ्गटी हाइड्रोको शेयरमूल्य सर्वाधिक बढी १० प्रतिशतले बृद्धि भएको छ भने विशाल बजार कम्पनीको पनि ९.९९ प्रतिशतले शेयरमूल्य बृद्धि भएको छ । बढेको बजारमा श्री इन्भेष्टमेन्ट फाइनान्सका लगानीकर्ताहरुले सबैभन्दा बढी २.८२ प्रतिशतले गुमाएका छन् भने नेपाल हाइड्रोको शेयरमूल्य पनि २.३० प्रतिशतले घटेको छ ।
बिहीबारको कारोबार रकममा एनसिसि बैंकको हिस्सा सर्वाधिक रहेको उक्त कम्पनीको ३० करोड ९६ लाख ९४ हजार रुपैयाँ बराबरको शेयर कारोबार भएको हो । त्यस्तै, शिवम् सिमेन्टको पनि १८ करोड ७२ लाख २२ हजार रुपैयाँ बराबरको शेयर कारोबार भएको छ ।