झापा / मेचीनगर नगरपालिकाको वडा नं १५ नीलकोठीस्थित ब्रिकेट उत्पादन गर्ने बायोग्यास कारखानामा आज बिहान भीषण आगलागी भएको छ।
जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी राकेश थापाका अनुसार बिहान ३ बजेतिर शुरु भएको आगलागी साढे ८ बजेसम्म नियन्त्रण गर्न नसकिएको बताए ।
आगो निभाउन सशस्त्र प्रहरी, नेपाल प्रहरी र सर्वसाधारणको ठूलो सङ्ख्याले सघाएका थिए । भद्रपुर, मेचीनगर, बिर्तामोड, दमक, पथरी र उर्लाबारीबाट आगो निभाउन दमकल थिए ।
कारखानामा काठ दाउराको ठूलो थुप्रो रहेको हुँदा आगो निभ्न मुस्किल भएको अग्नि नियन्त्रणमा खटिएकाहरुले बताए ।
धुलाबारीबाट करीब सात किलोमिटर दक्षिण भद्रपुरसँग सीमा जोडिएको गाउँमा भद्रपुरका आदित्य पराजुलीलगायत उद्योगीले ब्रिकेट कोइला उत्पादनका लागि कारखाना सञ्चालन गरेका थिए ।
आगलागीको क्षतिको विवरण यकिन नभइसकेको प्रहरीको भनाइ छ ।