गलेश्वर / म्याग्दीका एक व्यक्तिले छ वर्षसम्म कोरियामा कठोर परिश्रम गरेर कमाएको रु एक करोड स्वदेश फर्केर आफ्नै गाउँमा पशुपालन र रेष्टुरेन्टमा लगानी गर्नुभएको छ ।
म्याग्दीको बेनी नगरपालिका–१ रत्नेचौरका ४० वर्षीय रमेश रावलले छ वर्ष कोरियामा कमाएको पैसा गाउँमै पशुपालन र रेष्टुरेन्टमा लगानी गरेका हुन् ।
रावलले बेनी–बागलुङ सडक खण्डको रत्नेचौरमा रु ५० लाखको लगानीमा गाईभैँसी पालन शुरु गरेका हुन् ।
गत सालदेखि गाईभैँसी पालन शुरु गरेका रावलको पशु फर्ममा आठवटा गाई र पाँचवटा भैँसी छन् । गाई र भैँसीबाट दैनिक १०० लिटर दूध उत्पादन हुने र त्यो दूध बेनी र बागलुङको बजारमा रहेका दूध डेरीमा बिक्री गर्दै आएको रावलले बताए।
गत वर्ष कोरोनाका कारण लकडाउन भएपछि उनले गाईभैँसीपालन शुरु गरेका थिए । रावलले अहिले रु ५० लाखको लगानीमा पशु फार्म नजिकै रेष्टुरेन्ट सञ्चालनका लागि संरचना निर्माण गर्दै गरेको बताए। आधुनिक किसिमको रेष्टुरेन्टको भौतिक संरचनाको निर्माण कार्य अन्तिम चरणमा पुगेको उनको भनाइ छ ।
पशुपालनबाट आम्दानीसमेत हुन थालेपछि रावलले रेष्टुरेन्ट सञ्चालन गर्न थालेको बताए । रेष्टुरेन्ट सञ्चालन गर्नका लागि आकर्षक भवनहरु निर्माण हुँदैछन् । यसमा उनले रावलले ५० लाख लगानी गरेका छन् ।
“रु ५० लगानी गरेर गत वर्ष पशु फर्म सञ्चालन गरेँ, अहिले होटल पनि सञ्चालन गर्नुपर्यो भनेर रु ५० लाख जतिको लागतमा व्यवस्थापन कार्य चलिरहेको छ”, रावलले भने।
वर्षौँदेखि बाँझो पल्टिएको आफ्नो जमीनमा उहाँले पशु फार्म र रेष्टुरेन्ट सञ्चालन गरेका हुन् ।
बागलुङ र म्याग्दी दुवैतिरका मानिसलाई पायक पर्ने ठाउँमा पाँच कोठाको आकर्षक रेष्टुरेन्ट निर्माण भइरहेको छ । विशेषगरी म्याग्दी र बागलुङका ग्राहकलाई लक्षित गरी होटल सञ्चालन गरेका उनले बागलुङदेखि मुक्तिनाथ र गलेश्वर जाने आन्तरिक तथा बाह्य पर्यटकले समेत सेवा लिन सक्ने बताए।
रावलले आफ्नो पशु फर्ममा चार जनालाई रोजगारीसमेत दिनुभएको छ । उनीहरुलाई राम्रो सेवा सुविधा दिएर राखेको रावल बताउछन्। “युवाहरुले गाउँमा काम गर्न मान्दैनन्, सबै विदेशतिर जान खोज्छन्, गाउँमा काम गर्ने मान्छे पाउन पनि साह्रै मुस्किल छ”, उनले भने।
दूध बेचेरै मासिक रु एक लाख कमाउँदै आएका रावलले समयको मागलाई चिनेर राम्रोसँग व्यवसाय गर्न सक्ने हो भने आफ्नै गाउँठाउँमा विदेशमा भन्दा बढी कमाइ गर्न सकिने बताए।
विदेश जाने भनेर हुरुक्क नहुन पनि रावलले युवा पुस्तालाई आग्रह गर्नुभयो । “महामारी होस् वा अन्य कुनै विपत्ति, आखिर फर्किनु पर्ने त आफनै गाउँमा हो”, उनले भने “अप्ठ्यारो पर्दा मात्र होइन, जोश, जाँगर, उमेर र वर्गत छँदै आफ्नो माटोको सुगन्धलाई चिन्न सक्नु पर्दोरहेछ । नत्र पछि पछुताउनुको विकल्प हुँदोरहेनछ ।”