अक्सिजनको अभाव चर्किएपछि सिलिन्डर खोज्दै सरकार

अक्सिजनको अभाव चर्किएपछि सिलिन्डर खोज्दै सरकार

अर्थ डबली
शनिवार, बैशाख २५ २०७८
अर्थ डबली
शनिवार, बैशाख २५ २०७८ (अर्काइभ बाट)
  • अक्सिजनको अभाव चर्किएपछि सिलिन्डर खोज्दै सरकार

    अक्सिजनको अभाव चर्किएपछि सरकारले दातृ निकाय र छिमेकी मुलुकसँग सहयोगको हात अघि बढाएको छ । 

    images
    images

    टेन्डर आह्वान गर्दा पनि कसैले सहभागिता नजनाएपछि स्वास्थ्य मन्त्रालयले युनिसेफ र चीनलाई अक्सिजन सिलिन्डर तत्काल उपलब्ध गराइदिन गुहारेको हो ।

    बालाजु औद्योगिक क्षेत्रस्थित एक अक्सिजन कारखानामा अक्सिजन सिलिन्डर भरेर अस्पताल पठाउने तयारी गरिँदै । अस्पताल भर्ना भएका अधिकांश कोरोना संक्रमितलाई अक्सिजन दिनुपर्ने अवस्था आएपछि मुलुकभर अक्सिजनको अभाव छ ।

    स्वास्थ्य सेवा विभागको व्यवस्थापन महाशाखाले अक्सिजनको हाहाकार कम गर्न एक साताअघि एक हजार थान सिलिन्डर खरिद गर्न खोज्दा पनि टेन्डरमा कसैले भाग लिएका थिएनन् ।

    स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदयेश त्रिपाठीले शुक्रबार स्वास्थ्य सचिव, विभागका महानिर्देशक, व्यवस्थापन महाशाखाका निर्देशक, औषधि व्यवस्था विभागका महानिर्देशकलगायतलाई बोलाएर आवश्यक स्वास्थ्य उपकरण र अन्य सामग्री तत्काल कसरी व्यवस्थापन गर्न सकिन्छ भनेर योजना मागेका थिए ।

     ‘यसअघि टेन्डर गर्दा कसैले इच्छा नदेखाएकाले फेरि छोटो अवधि राखेर टेन्डर निकाल्न निर्देशन आएको छ,’ व्यवस्थापन महाशाखाका निर्देशक डा। भीमसिंह तिंकरीले भने, ‘दाताहरूसँग पनि समन्वय गरिरहन्छौं । यता टेन्डर पनि निकाल्छौं ।’

    दातासँग मन्त्रालयले समन्वय गरिरहेको छ भने थप सिलिन्डर खरिद गर्ने जिम्मेवारी विभागले पाएको छ । मन्त्रालयका प्रमुख विशेषज्ञ डा. रोशन पोखरेलले चीनले उपलब्ध गराउने २० हजार सिलिन्डरमध्ये ३ हजार ५ सय सिलिन्डर छिट्टै आउने बताए ।

    मन्त्रालयले युनिसेफलाई सिलिन्डरको व्यवस्थापन गरिदिन आग्रह गरेको थियो । युनिसेफले बंगलादेशसँग सम्झौता गरे पनि उसले दिन नसक्ने बताएपछि चीनबाटै ल्याएर दिन लागेको तिंकरीले जानकारी दिए । ‘अक्सिजन सिलिन्डर बढाउन कुनै कसरत बाँकी राखेका छैनौं,’ उनले भने । 

    स्वास्थ्य सेवा विभागले अक्सिजन सिलिन्डर खरिदका लागि उत्पादक कम्पनीसँग पनि आग्रह गरिरहेको स्रोतले जनाएको छ । ‘मौखिक रूपमा सहमति जनाए पनि उनीहरू लिखित रूपमा दिन तयार भएका छैनन् । कारबाहीमा परिने डरले अघि बढ्न नचाहेको हुन सक्छ,’ स्रोतले भन्यो ।
    आजको कान्तिपुर दैनिकमा समाचार छ । 

    साताको लोकप्रीय