काठमाडौँ / चौधरी फाउण्डेशन, नबिल बैंक लिमिटेड र वीर अस्पतालबीच आईसीयू वार्ड र अक्सिजन प्लान्ट स्थापनाका लागि सम्झौता भएको छ ।
कोभिड–१९ को दोस्रो लहरका कारण नेपालमा उत्पन्न स्वास्थ्य सङ्कटलाई मध्यनजर गर्दै फाउण्डेसन तथा नबिल बैंकले वीर अस्पतालमा आईसीयू वार्ड र अक्सिजन प्लान्ट स्थापना गर्न लागेको हो ।
नेपालको सबैभन्दा पुरानो तथा ब्यस्त अस्पताल मध्येको एक वीर अस्पतालमा १८ शय्याको अत्याधुनिक आईसीयू वार्ड र नयाँ भवनमा अक्सिजन प्लान्ट स्थापना गरिनेछ । फाउन्डेशनले केही दिन अघि सार्वजनिक गरेको विज्ञप्तिअनुसार सुदूरपश्चिम प्रदेशको धनगढी नगरपालिका र कर्णाली प्रदेशको राजधानी रहेको सुर्खेत नगरपालिकामा एक/एक वटा अक्सिजन प्लान्ट स्थापना गरिनेछ र
वीर अस्पताल, धनगढी र सुर्खेतमा स्थापना गरिने अक्सिजन प्लान्टको क्षमता ५० क्युबिक लिटर प्रतिघण्टा रहनेछ भने यसले एक दिनमा ४० लिटर क्षमताका १५० सिलिण्डर अक्सिजन भर्न सकिनेछ ।
तत्काल अक्सिजन कन्सन्ट्रेटर आयात गरी अक्सिजनको चर्को अभाव खेपिरहेका अस्पतालहरूलाई उपलब्ध गराउन प्रतिबद्ध रहेको चौधरी फाउण्डेसनका अध्यक्ष एवं प्रतिनिधिसभा सदस्य विनोद चौधरीले बताएका छन् ।
अक्सिजन कन्सन्ट्रेटरहरू काठमाडौं र बाहिरका अस्पतालहरूमा वितरण गरिनेछ । आपतकालीन स्वास्थ्य व्यवस्थापनका लागि करिब १० करोड रुपैयाँ खर्च हुने अनुमान गरिएको छ ।
कोरोना महामारीले देशभरका नागरिकलाई आक्रान्त बनाएको र यसको नियन्त्रणका लागि आपतकालीन स्वास्थ्य व्यवस्थापनको आवश्यकता रहेकोले फाउण्डेशनले योजना अघि सारेको उनको भनाइ छ ।
चौधरी फाउण्डेसनले गत वर्ष कोरोना महामारीको पहिलो लहरका बेला देशभरका दुई सयभन्दा बढी स्वास्थ्य केन्द्रमा पीपीई, स्यानिटाइजर, मास्क उपलब्ध गराएको थियो । साथै, देशका अस्पतालहरूलाई भेन्टिलेटरसहित आवश्यक स्वास्थ्य उपकरण उपलब्ध गराइएको थियो ।
चौधरी फाउन्डेशन नेपालको प्रमुख उद्योग समूह मध्ये एक हो। कम्पनीले खाद्य तथा पेय, विद्युत तथा घरेलु प्रयोगका विद्युतीय उपकरण, बियर, चुरोट, वित्तीय संस्था, पूर्वाधार, होटल, आवास विकास, अटोमोबाइल, अस्पताल, स्कूललगायतका क्षेत्रमा लगानी गरेको छ।
तस्बिरः रोशन सापकोटा÷रासस