कफी संसारका सबैभन्दा बढी मूल्यमा बिक्री हुने वस्तुहरूमध्ये एक मानिन्छ । कतिपयले कफीलाई तेल पछिको मूल्यवान् वस्तु मान्दछन् ।
रोपिएको ३ देखि ४ वर्ष भित्रमा कफी फल्न थाल्दछ भने एउटै बोटले लगभग ४० वर्षसम्म उब्जनी दिइरहन्छ । कफी एक वनस्पति तथा यसबाट बनाइने पेयपदार्थ हो ।
कफीको बोट दश मिटरसम्म अग्लो हुन सक्छ तर सामान्यतया छोटो पारिन्छ । कफीको उत्पति अफ्रिकाको इथियोपियामा भएको थियो र हाल यसको खेती दक्षिण अमेरिका, मध्य अमेरिका र दक्षिणपूर्व एसियामा हुन्छ । धेरै देशको अर्थतन्त्रमा यसको ठुलो भुमिका रहेको छ ।
नेपालमा वि.सं. १९९५ मा हिरा गिरीले भित्र्याएका थिए । वि.संं २०३२ सालमा नगदे बालीको स्तरमा कफी खेतीका लागि प्रोत्साहन गरिएपछि वि.सं. २०४७ सालमा कृषकहरूको संगठन स्थापित भयो । वि.सं. २०४९ को ऐन अनुसार राष्ट्रिय चिया तथा कफी विकास बोर्डको स्थापना भयो ।
मध्य पहाडका ४० जिल्लाहरूमा कफी खेती गरिएको छ । केही जिल्लाहरूमा भने व्यवसायिक रूपमा खेती गरेको पाइन्छ ।पाल्पा, स्याङ्जा, पर्वत, अर्घाखाँची, कास्की, लमजुङ, तनहुँ, गोरखा, ललितपुर, धादिङ, मकवानपुर, म्याग्दी, सिन्धुपाल्चोक, काभ्रे आदि जिल्लामा कफी खेतीको विस्तार हुँदै गयो ।
भौगोलिक, हावापानी र माटोको हिसाबले नेपालका मध्य पहाडी जिल्लामा अराबिका कफीको राम्रो सम्भावना देखिएपछि इलाम, संखुवासभा, झापा, पाँचथर, तेह्रथुम, धनकुटा, भोजपुर खोटाङ, उदयपुर, ओखलढुङ्गा, रामेछाप, सिन्धुली, नुवाकोट, प्यूठान, रोल्पा, दाङ, रुकुम, सल्यान, सुर्खेत, दैलेख डोटी, डडेलधुरा, रसुवा, खोटाङ र बैतडी जिल्लामा पनि व्यवसायिक कफी खेतीको सुरुवात भएको छ । यी बाहेक नेपालका अन्य मध्य पहाडमा पर्ने सबै जिल्लामा फाटफुट रूपमा कफी खेती भइरहेको छ ।
रूपन्देहीको मणिग्राममा पहिलो कफी प्रशोधन केन्द्र ‘नेपाल कफी कम्पनी प्रा.लि’को २०४० मा स्थापना भएसँगैँ अन्तर्राष्ट्रिय बजारमा नेपाली कफीको बिक्री वितरण सुरू भयो । आर्थिक वर्ष २०५२÷५३ मा १६ टन कफी हल्यान्ड पठाइएको थियो ।
नेपालमा अरेबिका जातको कफीको उत्पादन गरिन्छ । करिब ८०० मिटर उचाइमा विषादीको प्रयोग बिना नै कफी खेती हुने भएकाले विश्व बजारमा अर्गानिक, र चिसो हावापानीमा उत्पादित कफीको रूपमा चिनिन्छ ।
नेपाल सरकारले कफी नीति २०६६ पास गराएको र कफी नीति कार्यान्वयन निर्देशिका २०६६ स्वीकृत गराएको छ ।
नेपालको विषेशतः मध्य पहाडी जिल्लामा कफी खेती गरिबी निवारण, रोजगारी सिर्जना, वातावरण सुरक्षा तथा दिगो आय आर्जन गर्ने एक लोकप्रिय खेतीको रूपमा स्थापित हुँदै आएको छ ।
हाल देशको मध्य तथा पश्चिम पहाडी जिल्लामा समुद्र सतहबाट ८०० मिटरभन्दा माथि हिउँ, तुषारो नपर्ने ठाँउसम्म लगाइएको कफी गुणस्तरीय कफीको रूपमा उत्पादन भई विदेशतर्फको निर्यातले देशको अर्थतन्त्रमा समेत सकारात्मक प्रभाव पार्न सक्ने सङ्केत देखिएको छ । अन्तर्राष्ट्रिय बजारमा नेपाली कफीको माग दिनानुदिन बढ्दै गइराखेको परिप्रेक्ष्यमा कफी उत्पादन क्षेत्रको विस्तार गर्नुको उद्योगको समग्र विकास गर्नु आजको आवश्यकता रहेको छ ।
नेपालमा अहिले करिब तीन हजार कृषक प्रत्यक्ष र अप्रत्यक्ष रूपमा कफी खेतीमा लागेका छन् । २०७२ को उत्पादन रेकर्डअनुसार कुल एक हजार सात सय ६० हेक्टर क्षेत्रफलमा करिब ४५० मेट्रिक टन ग्रीन बीन उत्पादन भएको छ । विश्व बजारमा नेपालबाट उत्पादित प्राङ्गारिक कफीको माग दिन प्रतिदिन बढी रहेको छ ।
कुल उत्पादनमध्ये ७० प्रतिशत कफी कोरिया, जापान, अमेरिका, जर्मनी निर्यात हुने गरेको छ । अन्तर्राष्ट्रिय बजारमा नेपाली कफीको मागलाई हिसाब नै गर्ने हो भने वार्षिक १० हजार मेट्रिक टनभन्दा बढी छ तर उत्पादन नै कम भएको कारण उक्त मागको पाँच प्रतिशत पनि निर्यात हुन सकेको अवस्था छैन ।
नेपाली कफी निर्यातबाट वार्षिक करिब साढे सात करोड वैदेशिक मुद्रा आर्जन गरेको छ तर अन्य मुलुकबाट नौ करोड बराबरको विभिन्न ब्रान्डको धूलो कफी नेपाल आयात गरिन्छ । यसले के देखाउँछ भने अन्तर्राष्ट्रिय बजारमा मात्र नभई नेपाली बजारमा पनि नेपाली अर्गानिक कफीको माग बढिरहेको छ ।
हावापानी
चिसो, आद्र्र र तुसारोरहित हावापानी कफीका लागि उपयुक्त मानिन्छ । उष्ण तथा उपोष्ण उच्च क्षेत्रमा कफी राम्ररी फस्टाउँछ । वार्षिक ५० इन्च (१२७ से.मि.) वर्षा र छोटो सुख्खा याम कफीका लागि उपयुक्त हुन्छ । उर्वर, गहिरो र पानी हुनु राम्रो हुन्छ ।
ठूलो हावाहुरीले कफीको उत्पादन घटाउन सक्ने हुँदा अग्ला अग्ला रूखका छहारीमा कफी लगाउने गरिन्छ । नेपालमा विविध किसिमको भौगोलिक बनावट तथा हावापानी भएको हुँदा संसारका जुनसुकै देशमा लगाउन सकिने जुनसुकै जातका कफी लगाउन सकिने अवस्था छ ।
साथै भौगोलिक हिसाबले हेर्ने हो भने नेपालको मध्य पहाडी जिल्लाको ८ देखी १७ सय मिटरसम्मको उचाइसम्म अराविका जातको कफी खेती गर्न सकिन्छ ।
अराविका जातको कफी खेतीको लागि आवाश्यक पर्ने ७० देखी ८० प्रतिशत सापेक्षिक आद्रता, १६०० देखि २५०० मिलिमिटरसम्म वर्षा र कम्तीमा १० देखि १२ घण्टा घाम लाग्ने र १५ देखि २५ डिग्री सेन्टीग्रेड तापक्रम, अधिकांश उत्तर–पूर्वी र दक्षिण–पूर्वी मोहडा यही भौगोलिक क्षेत्रभित्र पाइन्छ ।
नेपालका सबै पहाडी जिल्लामा कृषि लगायत ग्रामीण सडकका साथै यातायात सञ्जालको विकास हुने क्रम बढ्नुको साथै पछिल्लो समयमा सरकारका विभिन्न कार्यक्रमअन्तर्गत सिँचाइ, बिजुली सबै ठाउँमा पुगिसकेको कारण नेपालमा कफी खेतीको राम्रो सम्भावना देखिन्छ ।
रोपाइ र बिरुवा घर
कफीका बोटमा फल्ने दानाहरूलाई नै बिउका रूपमा प्रयोग गरिन्छ । प्रशोधन नगरिएका कफीका दानालाई रोपेर बिरुवा उमार्न सकिन्छ । ठुलठुला ड्याङ बनाएर छहारीयुक्त बिरुवा घरमा कफीका दाना रोप्न सकिन्छ । टुसा हालिसकेपछि बिरुवालाई ड्याङ्बाट उखेलिन्छ र मलिलो माटो भरिएका बेग्लाबेग्लै भाँडामा रोपिन्छ ।
स्थायी रूपमा रोप्न लायक नहुन्जेलसम्म ती बिरुवालाई चर्को घामबाट जोगाएर राखिन्छ भने नियमित रूपमा पानी पनि हाल्ने गरिन्छ । खास गरी चिसो याममा बिरुवा रोपिन्छ । यसो गर्दा बिरुवाका वरिपरिको माटो चिसो रहन्छ र बिरुवाका जराले चाँडै माटो समाउँछन् ।
कफी बाली उठाउने
कफीका नयाँ बोटमा फल लाग्नका लागि ३ देखि ४ वर्ष लाग्दछ । कफीका फललाई कफी चेरी भनिन्छ । जब कफीका दाना पाक्दछन् ती चम्किला गाढा रङका हुन्छन् ।
यसपछि टिप्ने बेला हुन्छ । हातले वा औजारको प्रयोग गरेर कफी टिप्न सकिन्छ । हातले टिप्नु पर्दा बढी श्रमको आवश्यकता हुनाका साथै प्रशोधन गर्न पनि गाह्रो हुन्छ । निम्नलिखित दुई तरिकाबाट कफी टिप्ने गरिन्छ ।
क) एकै पटकको टिपाइ
एकै पटक सबै दानाहरू टिपिन्छ । हातैले वा औजारहरूको प्रयोग गरेर यो काम गर्न सकिन्छ । हाँगामा रहेका सबै चेरीहरूलाई एकैपटक टिपिन्छ ।
ख) छानेर टिपिने
पाकेका चेरीहरूलाई छानीछानी हातले टिपिन्छ । कफी टिप्ने व्यक्तिले ८÷१० दिनको अन्तर पारेर रूख रूख चहार्ने गर्नुपर्ने हुन्छ । उटा कुशल व्यक्तिले एक दिनमा १०० देखि २०० पाउन्डसम्म कफीका दाना टिप्न सक्छ जसबाट २० देखि ४० पाउन्डसम्म कफीका दाना निकाल्न सकिन्छ । दिनभरि टिपिएको कफीलाई भेला गरिन्छ र प्रशोधन गर्ने ठाउँमा लगिन्छ ।
कफीका गुणस्तरीय बीउ उत्पादन तथा नर्सरी व्यवस्थापन, कफीको बोटको काँटछाँट , तालिम र पुनर्योबनिकरण ।
कफीका गुणस्तरीय बीउ उत्पादन तथा नर्सरी व्यवस्थापन
बीउको छनौट
कफीका लागि बीउको छनौट गर्दा माउ बोट कम्तीमा ८ बर्षको हुनपर्छ ।
बोटका कफीका दानाहरू पुष्ट, स्वस्थ एवं मध्यम आकारको हुनुपर्छ ।
कफीका दानाहरू परिपक्क साथै हेर्दा राम्रो देखिने खालको हुनुपर्छ ।
माउ बोटको मध्य भागका हागाहरुबाट र मध्य भागमा रहेका राम्रोसँग पाकेका कफीका दानाहरू टिप्नु पर्दछ ।
कफीका दानाहरूलाई पानीले भरिएको बाल्टिनमा खन्याउने र बाल्टिनमा माथि उत्रेका दानाहरूलाई हटाउनु पर्दछ ।
बाल्टिनमा ढुवेका दानाहरूलाई जम्मा गनुपर्दछ ।
पानीमा डुबेका कफीका दानाहरूलाई हातले मिचेर वा पल्पर मेशिनको सहायताले बोक्रा हटाउन सकिन्छ ।
बोक्रा हटाइ सकेपछि फक्लेटा बनाउनु पर्दछ ।
उक्त फक्लेटाहरू मध्य कुहिएका, बिग्रिएका र मसिना फक्लेटाहरू हटाइदिनु पर्दछ ।
त्यसपछि ती फक्लेटाहरूलाई राम्रोसँग चालिएको खरानीको धुलो फक्लेटाको सतहमा पर्ने गरी मिलाउनु पर्दछ ।
यसरी खरानी दलेको बीउलाई छहारीमा मान्द्रोमा राखी हावा खेल्न पाउने गरी सुकाउनु पर्दछ ।
छहारीमा सुकाउदा दिनको तीन पटकसम्म चलाउनु पर्छ जसले गर्दा बीउ एकनासले सुक्न पाउछ ।
सुकाएको पाँच दिन पछि बढी भएको खरानी हटाउनु पर्छ ।
त्यसपछि बीउलाई केही बाक्लो गरी फेरि छायाँमा सुकाउनु पर्छ ।
यसरी कफीको बीउ रोप्नको लागि तयार हुन्छ ।
तयारी बीउलाई एक महिनाभित्र रोप्नु पर्छ ।
नर्सरीको लागि जग्गाको छनौट
कफी नर्सरीको लागि राम्रो उर्वराशक्ति भएको दोमट माटो भएको बिरुवाको बृद्धि विकास राम्रोसँग हुन सक्ने स्थानको छनौट गर्नु पर्दछ ।
छनौट गरिएको जग्गाबाट झारपात ढुंगा आदि हटाई जमिनलाई ३–४ पटक खनजोत गरी डल्ला फोरी माटोलाई मसिनो र बुर्बुराउँदो बनाउनु पर्छ ।
व्याडको तयारी
जमिन तयार भई सकेपछि १ मीटर चौडाई, आवश्यकता अनुसार लम्बाई र उचाई १५ से.मी.का ब्याडहरूको बीचमा १.५ फिटको बाटो राख्नु पर्छ ।
यसरी बनाइएको ब्याडमा ६ भाग जङ्गलको माटो, ४ भाग कम्पोष्ट वा गोबर मल र १ भग बालुवा मिसाई ब्याडको माथिबाट १ इन्च बाक्लो हुनेगरी राख्नु पर्छ ।
तयारी बीउलाई फागुन महिनामा रोप्नु उपयुक्त मानिन्छ ।
बीउ रोप्ने समय र तरिका
तयार पारिएको ब्याडमा लामो लठीको सहायताले २.५ से.मी. को फरकमा १.५ से.मि. गहिराइका सिधा लाइनहरू बनाई २.५ से.मी.को फरकमा बीउलाई घोप्टो पारी रोप्नु पर्छ ।
नर्सरी ब्याडमा बीउ रोपी सकेपछि खर वा परालले पातलो गरी ब्याडलाई ढाकी हजारीद्वारा पानी दिनु पर्छ ।
बीउ रोपेको ४५–६० दिन भित्रमा बीउ उम्रन्छ ।
बीउ उम्रन थालेपछि नर्सरी ब्याडमा राखेको छापो हटाउनु पर्छ र नर्सरी ब्याडमा छहारीको राम्रो व्यवस्था गर्नुपर्छ ।
दोश्रो नर्सरीमा बिरुवा स्थानान्तर
कफीको बीउ ब्याडमा उम्रन शुरु गरेपछि जब बिरुवा टोपी अवस्थामा जान्छ त्यसपछि दोश्रो नर्सरीमा स्थानान्तरण गनुपर्छ ।
बिरुवा स्थानान्तरण २ तरिकाले गर्न सकिन्छ ।
पोलिथिन ब्यागमा बिरुवा सार्ने तरिका
जंगलका माटो ६ भाग, कम्पोष्ट वा गोबर मल २ भाग र बालुवा १ भाग मिसाई यस मिश्रणलाई मसिनो बनाउनु पर्छ ।
यसरी मिश्रण तयार गरी सकेपछि ९/६ इन्चको पोलिथिन ब्यागमा उक्त मिश्रणले ब्याग नखुम्चने गरी भुर्न पर्छ ।
पोलिथिन ब्याग भरी सकेपछि ब्यागको बीच भागमा बिरुवा रोप्नु पर्छ ।
बिरुवा रोपेको ब्यागलाई बासको कप्टेराले बनाएको १ मिटर चौडाई र आवश्यकता अनुसारको लम्बाई भएको चौकोस भित्र ५–६ फिट अग्लो छाप्रोको व्यवस्था भएको स्थानमा मिलाएर राख्नु पर्छ रहजारीद्वारा पानी दिनुपर्छ ।
जमिनमा तयारी ब्याडमा बिरुवा सार्ने तरिका
पहिला बीउ जमाउन बनाएको जस्तै ब्याड तयार गरी बिरुवाको टोपी अवस्थामा दोश्रो नर्सरीमा एक बिरुवादेखि अर्को बिरुवाको दूरी ३० से.मि.कायम गरी रोप्नु पर्छ ।
बिरुवालाई रोपी सकेपछि हजारीद्धारा पानी दिनु पर्छ ।
यसरी स्थानान्तरण गरेका बिरुवालाई चर्को घाम, पानी र असिनाबाट बचाउन छाप्राको व्यवस्था गनुपर्छ ।
कफीका जातहरू र यसको पहिचान
१. टिपिका
इथोपियाबाट यसको शुरु भई (अरबिया)यमनमा खेतीको रूप लिएको बोट ३-४ मीटर अग्लो हुन्छ ।
हाँगा बलिया र प्रतिकूल अवस्था सहन सक्ने क्षमता हुन्छ ।
फेदका हाँगा लामा र टुप्पोतर्फका हाँगा छोटा हुन्छन् ।
पात फिका हरिया रङ्गका हुन्छन् ।
छाहारीको बढी आवश्यकता पर्छ ।
यो जात १२००-१६०० मीटरको उचाइमा राम्रो हुन्छ ।
२. बोर्बन
शुरुमा बोर्बन फ्रान्सको बोर्बन टापुमा खेती गरेको पाइयो ।
बोर्बनको काण्ड र मुख्य हाँगाको कोण ४५ भन्दा कम हुन्छ ।
बोट ३ मीटरको अग्लो हुन्छ ।
यसका पातहरू चौडा र किनारा खुज–मुजिएको हुन्छन् ।
फल साना हुन्छन, बाक्लो गरी लाग्छन्, छिट्टै पाक्छन् ।
फल उत्पादन टिपिकाको तुलनामा २०–३० बढी हुन्छ ।
धेरै सहायक हाँगाहरू निस्कन्छन् र आख्ला बीचको तरी लामो हुन्छ ।
यो जात ९००–१५०० मीटरको उचाइमा राम्रो हुन्छ ।
३. पाकास
यो एल.साल्भाडोरमा बर्वोनबाट विकास भएको जात हो ।
यसको बोट होचो र हाँगा मझौला हुन्छन् ।
पात ठूलो एवं गाढा हरियो रङ्गको हुन्छ ।
यसको हाँगाको आख्ला बीचको दूरी छोटो हुन्छ ।
समुद्र सतहबाट ४०० मी। देखि १००० मीटरको उचाइमा लगाउन सकिने ।
नेपालमा अध्ययन भैरहेको ।
मुख्य हाँगासँग अन्य सहायक हाँगाले ९० को कोण बनाउछन् ।
फल धेरै लाग्छ तर फलको साइज मझौला हुन्छ ।
४. पाकाभारा
एल–साल्भाडोरमा विकास गरिएको जात हो ।
बोट मध्यम अग्लो हुने, हाँगा बाक्लो लाग्ने आख्ला बीचको दूरी कम हुने र जरा गहिरो जाने हुन्छ ।
पात ठूला र तल लत्रिएका एवं किनारा खुम्चिएका हुन्छन् ।
टुप्पाको मुना खैरो तामा रङको हुन्छ ।
फल निकै ठूला र लाम्चा हुन्छन् ।
यसको खेती समुद्र सतहको ११०० देखि १६०० मीटरसम्मको उचाइमा गरिएको छ ।
५. टेकिसिक
यो जात बोर्बनबाट एल–साल्भाडोरमा छनोट गरिएको हो ।
यसको बोट मध्यम अग्लो सोली आकारको हुन्छ ।
हाँगाहरु ठूला र अन्तर –आख्लाको दूरी मध्यम लामो हुन्छ ।
यसका सहायक हाँगाहरू धेरै निस्कने र राम्रो बृद्धि हुने गर्छन् ।
यसका पात साना देखि मध्यम साइजका हुन्छन्र टुप्पाको मूना हरियो हुन्छ ।
यसलाई ८००–१३०० मीटरको उचाइमा लगाउन सकिन्छ ।
६.क्याटिसिक
यो जात क्याटिमोर जातको कफीबाट एल–साल्भाडोरमा छनोट गरिएको हो ।
यसको बोट पाकास जस्तै सानो सुलुल परेको हुन्छ तर हाँगा केही ठूला हुन्छन् र फल ठूलो लाग्छ ।
रोगसँग लड्ने क्षमता हुन्छ ।
मूनाना हरियो रङ्गको हुन्छ ।
यो जात ६०० देखि १००० मीटरको उचाइमा राम्रो भएको पाइएको छ ।
७. क्याटुरा
ब्राजिलमा बोर्बन जातको कफीको बोटमा प्राकृतिक परिवर्तन आई उत्पत्ति भएको जात हो ।
बिरुवाको आकार र रूप करिब पाकासको जस्तै हुन्छ तर फल ठूला हुन्छन् ।
बोट सोली आकारको हुन्छ ।
पात ठूला र किनारा खुम्चिएको हुन्छन् ।
अन्तर आख्लाको दूरी कम हुन्छ ।
यसको टुप्पाको मुना खैरा राता रङको हुन्छन् ।
फलको रङ रातो र पहेंलो दुबै हुन्छ ।
५०० देखि १२०० मीटरको उचाइमा राम्रो हुन्छ ।
८. सेलेक्सन
यो जात भारतमा विकास गरिएको जात हो ।
बोटको उचाई मध्य र हाँगा बाक्ला हुन्छन् ।
फलको आकार ठूलो हुन्छ ।
उत्पादन क्षमता बढी छ ।
यो जात नेपालमा राम्रो पाइएको छ ।
५००–१२०० मीटरको उचाइमा यसको खेती राम्रो पाइएको छ ।
९. काबेरी
पोर्चुगलबाट प्राप्त क्याटिमोर जात भारतमा लगाई त्यसबाट छनौट गरी विकसित गरिएको जात हो ।
यसको उचाइ मध्यम खालको हुन्छ ।
आंख्ला अन्तरको दुरी कम भएको, फल लागेका हाँगा नुग्ने, झोलिने र प्रशस्त फल लाग्दछ ।
लगाएको २ वर्षमै फल लाग्न शुरु हुने , चाडै फुल्ने अगौटे जात हो ।
१०. क्याटुआई
ब्राजिलमा विकास भएको जात हो ।
यसको बोट मध्यम होचो, हाँगा ठुला, आंख्ला बीचको दुरी कम हुन्छ ।
यसको सहायक हाँगाहरूको मुख्य हाँगासँगको कोण कम हुन्छ ।
फल रातो र पहेंलो दुवै रङ्गको हुन्छ ।
११. क्याटिमोर
ब्राजिलमा विकास गरिएको जात
बोट सानो सोली आकारको हुन्छ ।
जराको माथिल्लो भागमा हुने हुँदा यसलाई बढी चिस्यान र मलिलो माटो आवश्यकता पर्छ ।
फल चांडो पाक्छ ।
यसलाई ६०० देखि १००० मीटरको उचार्इ मा लगाउन सकिन्छ ।
कफीको बोटको कांटछांट ,तालिम र पुनर्योबनिकरण
कफीको बोटलाई उपयुक्त आकारको बनाउन र कफीको बोटबाट बढी भन्दा बढी उत्पादना लिनको लागि काँटछाँट र तालिम गर्ने कार्य महत्वपूर्ण कार्य हो ।
यो एक जटिल प्रक्रिया हो जुन कार्य कफीको जात र लगाइएको स्थान अनुसार फरक - फरक तरिकाले गर्ने गरिन्छ ।
तालिम
कफीको बोटको उत्पादनशील हाँगाहरूको बृद्धि एवं विकास गराउन बोटको आकार बनाउने कार्यलाई बोटको तालिम गर्ने भनिन्छ ।
कफीको बोटको तालिमले बोटको राम्रो आकार हुनुको साथै बोटको उचाई हामीले चाहे अनुसारको बनाउन सकिन्छ ।य स कार्यले बोट दह्रो हुन्छ र उत्पादनशील हाँगाहरूको बृद्धि एवं विकास हुन्छ । साधारणतया कफीको बोटको तालिम २ तरिकाले गरिन्छ ।
एककाण्ड प्रणाली
कफीमा सेतो गंवारो कीराको आक्रमण बढी हुने र छाहारीभित्र लगाइएका कफीका बोटहरुलाई एक काण्ड प्रणाली अनुसार तालिम गरिन्छ यस तरिकाबाट बोटलाई तालिम गर्दा कफीको बिरुवा लगाएको ६-१२ महिना अर्थात जब बिरुवा ३ फिट अग्लो हुन्छ यस अवस्थामा बोटको मूल काण्डको टुप्पो आधा फिट काटी बोटको उचाई अढाई फिट कायम गरिन्छ ।
यसरी टुप्पो काट्ने कार्यलाई टपिङ्ग भनिन्छ, टपिङ्ग गर्नाले बोटको उचाई बृद्धि हुने कार्य राकिन गई मूलकाण्ड दह्रो हुनुको साथै सहायक हाँगाहरू फिजारिएर फैलिन गई फल लाग्ने हाँगाहरूको संख्या बढ्न जान्छ ।
टपिङ्ग गरेको १-२ वर्षसम्म टपिङ्ग गरेको ठाउँको तलको आंख्लाबाट निस्केका ठाडा मुनाहरू हटाई रहनु पर्छ ।
फल लाग्ने मुख्य र सहायक हाँगाहरू बलियो र मजबुत भइसकेपछि टपिङ्ग गरेको ठाउँको तलबाट पलाएका मूनाह मध्ये एक स्वस्थ्य मूनालाई बढन दिने र अरु मूनाहरुलाई हटाइ दिनु पर्छउक्त बढ्न दिइएको मूनालाई ५ फिट भन्दा बढी उचाईको पुगेपछि टपिङ्ग गर्नु पर्छ र बोटको उचाई ५ फिट कायम गर्नु पर्छ ।
टपिङ्ग गर्नको लागि बोटको उचाई जात अनुसार फरक-फरक हुन्छ, जुन निम्न अनुसार छ ।
१. अग्लो अराबिका-दुई तहको टपिङ्ग-पहिलो तह-२.५ फिट, दोस्रो तह - ५फिट
२. अराबिका होचो - सिङ्गल टपिङ्ग ३-५ फिट
३. रोबस्टा - सिङ्गल टपिङ्ग ३.५ - ५ फिट
बहुकाण्ड प्रणाली
कफीमा सेतो गंवारो कीराका प्रकोप कम हुन र छाहारीको व्यवस्था नभएका ठाउँमा बहुकाण्ड प्रणाली अनुसार बोटको तालिम गरिन्छ ।
यो तरिकाबाट दक्षिण अमेरिका, केन्या, तान्जानिया आदि देशहरुमा तालिम गर्ने गरिन्छ । यस विधिबाट कफीको बोटको तालिम गर्दा बोटको शुरू अवस्था देखि नै २ वा ३ वटा मूनाहरूलाई बढ्न दिई आफुले चाहेका उचाईमा टपिङ्ग गरिन्छ ।
अमेरिकामा कफीको बोट लाई शुरूमा ४-५ फिटको उचाईसम्म बढ्न दिई केही समय फल लिएर कफीको बोटको मूल हाँगालाई भुईमा नुगाई ३-४ वटा मूनाहरूलाई राखी अन्य हांगाहरुलाई हटाएर बोटको तालिम गरिन्छ ।
काँटछाँट
कफीको बोटले एक वर्ष पुराने हाँगाबाट मात्र फल दिने हुँदा प्रत्येक वर्ष लगातार काँटछाँटको आवश्यकता पर्दछ । कफीको बोटको वानस्पतिक बृद्धि र उत्पादन गर्ने भागको संतुलन कायम गर्न काँटछाँट अति नै आवश्यक र महत्वपूर्ण कार्य हो ।
काँटछाँट गर्दा रोग र कीरा लागेका, जमिनमा लत्रेका, सिधा माथी बढेका, सुकेका, एक अर्कामा खप्टिएका र मूल हाँगातर्फ फर्केका हाँगाहरू हटाइन्छ ।
काँटछाँट गर्ने कार्य फल टिपी सकेपछि फाल्गुण-चैत्र महिनामा गरिन्छ ।
पुराना बोटहरुमा हरेक ४ वर्षपछि अलि बढी मात्रामा हाँगाहरू काँटछाँट गर्नु आवश्यक हुन्छ ।
काँटछाँट गर्नाले कफीको बोटमा सुर्यको प्रकाश र हावाको राम्रो सञ्चार हुन्छ जसले गर्दा रोग र कीराको प्रकोप कम हुन्छ ।
कफीको बोटले एक वर्ष पुराने हाँगाबाट मात्र फल दिने हुँदा प्रत्येक वर्ष लगातार काँटछाँटको आवश्यकता पर्दछ ।
कफीको बोटको वानस्पतिक बृद्धि र उत्पादन गर्ने भागको सन्तुलन कायम गर्न काँटछाँट अति नै आवश्यक र महत्वपूर्ण कार्य हो ।
काँटछाँट गर्दा रोग र कीरा लागेका, जमिनमा लत्रेका, सिधा माथी बढेका, सुकेका, एक अर्कामा खप्टिएका र मूल हाँगातर्फ फर्केका हाँगाहरू हटाइन्छ ।
काँटछाँट गर्ने कार्य फल टिपी सकेपछि फाल्गुण-चैत्र महिनामा गरिन्छ । पुराना बोटहरूमा हरेक ४ वर्ष पछि अलि बढी मात्रामा हाँगाहरू काँटछाँट गर्नु आवश्यक हुन्छ ।
काँटछाँट गर्नाले कफीको बोटमा सुर्यको प्रकाश र हावाको राम्रो सञ्चार हुन्छ जसले गर्दा रोग र कीराको प्रकोप कम हुन्छ ।
काँटछाँट गरेका बोटहरूमा प्रशस्त उत्पादनशील हाँगाहरू निस्कन्छन्, हरेक वर्ष सन्तुलित किसिमले फल लाग्छ, फल पुष्ट हुन्छन्, छिटो पाक्छन् र फल गुणस्तरी हुन्छ ।
कफीमा काँटछाँट गर्दा गरिने महत्त्वपुर्ण कार्यहरू निम्न छन्
क. ह्याण्डलिङ
कफीको बोटको मूख्य हाँगाबाट बाक्लोसँग पलाएका नयाँ सहायक हाँगाहरूलाई हातले हटाउने कार्यलाई ह्याण्डलिङ गर्ने भनिन्छ ।
यो कार्य गर्दा मुख्य हाँगाको आंख्लाबाट दुवैतर्फ पलाएका सहायक हाँगाहरूमध्ये एकातिर एकभन्दा बढी नयाँ हाँगाहरूलाई हटाउनु पर्छ ।
यो कार्य जेठ-आषाढ र भदौ-असोज महिनामा गर्नु उपयुक्त हुन्छ ।
ख. सेन्टरिङ
कफीको बोटको मूल हाँगाबाट ६ इन्च वरिपरि नयाँ पलाएका हाँगाहरू हटाउने कार्यलाई सेन्टरिङ भनिन्छ । यसको मूख्य उद्देश्य मूल हाँगाको वरिपरिको भाग खुल्ला राख्नु हो ।
यो कार्यबाट बोटमा हावा र प्रकाशको राम्रो सञ्चार हुन पाउछ ।
यो कार्य आषाढ-श्रावण महिनामा गरिन्छ ।
ग. डिसकरिङ
कफीको बोटको मूल हाँगाबाट पलाएका ठाडा मूनाहरूलाई चोर हाँगा भनिन्छ ।
यी चोर हाँगाहरू अनुत्पादक हुनुको सार्थ बोटलाई प्रदान गरेको खाद्य तत्त्व लिन्छन् । त्यसैले मूल हाँगाबाट पलाएका ठाडा मूनाहरू हटाउनु पर्छ ।
यी ठाडा मूनाहरूलाई हटाउने कार्यलाई डिसकरिङ भनिन्छ ।
यो कार्य आषाढ-श्रावण महिना र कात्तिक-मङिसर महिनामा गरिन्छ ।
भाँचिएर, कीराले खाएर, हावाहुरी वा छाहारीदार बिरुवा काँटछाँट गर्दा सहायक एवं मूल हाँगा भाचिए पुनर्योबनिकरण राम्रोसँग फल दिइरहेको कफीको बोटको काण्ड वा मुख्य हांगाहरु कुनै कारणवश भाँचिएर, कीराले खाएर, हावाहुरी वा छाहारीदार बिरुवा काँटछाँट गर्दा सहायक एवं मूल हाँगा भाचिएमा बोट अनुत्पादक बन्छ । यस्तो अवस्थामा बोटको काण्डलाई जमिनबाट ३० से.मी.माथि ४५ डिग्रीको कोणमा छड्के कटाइ गरिन्छ ।
यस कार्यलाई फेद कटाई भनिन्छ ।
यो कार्य फागुन - चैत्र महिनामा गर्नु पर्छ । बोटलाई काटी सकेपछि बोर्डपेष्ट लगाउनु पर्छ । काटेको भागको केहि तलबाट धेरै मुनाहरु निस्कन्छन् । यी मुनाहरू मध्ये एक स्वस्थ मुनालाई राखी अन्य मुनाहरु हटाउनु पर्छ र उक्त मुनालाई एकल काण्ड प्रणालीअनुसार तालिम गर्नु पर्छ ।
यसरी विकसित भएको बोटलाई अन्य कफीको बोटलाई गरिने कार्यहरु मलजल, गोडमेल काँटछाँट जस्ता कार्यहरू नियमित रूपले गरी उत्पादन लिन सकिन्छ ।
कफीका दानाको प्रशोधन
नोक्सान हुन नपाओस् भनेर कफीलाई जति सक्दो चाँडो प्रशोधन गर्नुपर्छ । निम्नलिखित दुईवटा प्रक्रियाबाट कफीको प्रशोधन गरिन्छ ।
क) सुख्खा विधि स्पानीको स्रोत कम भएका ठाउँमा यो विधि अपनाइन्छ । भर्खरै टिपिएका दानालाई राम्ररी फिँजाएर घाममा सुकाइन्छ ।
बिग्रन नदिनका लागि दिनभरि नै दाँतीका सहायताले ओल्टाइपल्टाइ गरिन्छ भने राती छोपेर राखिन्छ । पानी पर्योम भने ओतमा राख्ने व्यवस्था गरिन्छ । कफीका दानामा रहेको चिसोपना ११५ मा नझरुन्जेल कयौं हप्तासम्म यसरी नै सुकाइन्छ । त्यसपछि कफीका सुख्खा दानालाई छनौटका लागि गोदाम घरमा लगिन्छ ।
ख) चिस्यान विधि स् यस विधिमा कफीका दाना टिपिसकेपछि दानाभित्रको गुदी निकालिन्छ र बाँकीरहेका बोक्रालाई मात्र सुकाइन्छ ।
सबैभन्दा पहिले भर्खरै टिपिएका कफीका दानालाई गुदी निकाल्ने मसिनमा हालेर गुदी र बोक्रालाई अलग अलग पारिन्छ ।
गुदीलाई पानीले धोइन्छ र सुकाएर ऊध्र्वच्छदका रूपमा प्रयोग गरिन्छ । कफीका दानालाई पानीमा डुबाउँदा हलुका दाना माथिमाथि तैरिन्छन् भने गह्रौँ तथा पाकेका दाना पानीमा डुब्छन् । त्यस्तै ती दानालाई पटक पटक पानीमा डुबाएर साना ठुला दानालाई अलग अलग पारिन्छ ।
त्यसपछि ती दानाहरूलाई किण्वीकरणका लागि पानी भरिएका ठुलाठुला भाँडामा हालेर दानाको अवस्था, मौसम र उचाइका आधारमा १२ देखि ४९ घन्टासम्म डुबाएर राखिन्छ । यसो गरिसकेपछि कफीका दानाका बोक्रामा टाँसिएको बाहिरी पत्र उक्किन्छ । किण्वीकरण गरिसकेपछि ती दाना खस्राखस्रा हुने हुँदा तिनलाई थप सफा पानीमा हालिन्छ । अन्ततः ती दाना सुकाउनका लागि तयार हुन्छन् ।
दानालाई सुकाउने : चिस्यान विधिबाट कफीको प्रशोधन गरिँदा गुदी निकालेर किण्वीकरण गरिएका दानाहरूलाई लगभग ११५ चिसोपना होउन्जेल सुकाउनु पर्दछ र भण्डारणका लागि तयार गर्नुपर्दछ । यी दानाहरू अझै खपटाभित्रै हुने हुँदा घाममा सुकाए पनि हुन्छ । मेसिनका सहायताले पनि सुकाउन सकिन्छ । सुकिसकेपछि दानाहरूलाई सिसल वा जुटका बोरामा राखिन्छ ।
दानाको पिसानी
बोक्रे कफीलाई निम्न ढङ्गले प्रशोधन गरी निर्यात गरिन्छ ।
अ) बोक्रा ताछ्ने
चिस्यान विधिबाट प्रशोधन गरिने कफीबाट बोक्रा छुटाउन मेसिनको प्रयोग गरिन्छ । यस मेसिनले सुकेका दानाबाट सबै भुस हटाइदिन्छ ।
आ) रङ्ग्याउने
बोक्रा ताछिसकेपछि बाँकी रहेको चाँदी रङको तहलाई रङ्ग्याउने मेसिनले हटाइदिन्छ ।
इ) स्तरीकरण गर्ने र छुट्याउने
आकार र बजनका आधारमा कफीका दानालाई राम्ररी छुट्याइन्छ । रङ्सम्बन्धी केही तुस बाँकी रहेको छ कि भनेर राम्ररी जाँच गरिन्छ ।
१० देखि २० को स्तरले दानाको साइजको प्रतिनिधित्व गर्दछन् । यस संख्याले गोलो आकारको प्वालको प्रतिनिधित्व गर्दछन् । १० नम्बरको दाना भन्नुको अर्थ एक इन्चको ६४ औं भागको प्वाल भएको दाना भन्ने बुझिन्छ । बिभिन्न चरणमा आकार परीक्षण गरेर दानाको परीक्षण गरिन्छ । गह्रौँ तथा हलुका वजनका आधारमा पनि दानाहरूको वर्ग छुट्याउने गरिन्छ ।
त्यसपछि खराब दानाहरूलाई अलग्याइन्छ । जटिल मेसिनहरूको प्रयोग गरेर खराब दानाहरूलाई छुट्याउने गरिन्छ । उपयुक्त आकार, रङ विनाका वा अन्य किसिमबाट अस्वीकृत हुन सक्ने दानाहरूलाई निकालिन्छ ।
यस्ता दानाहरू बढी कुहिएका वा कीराले आक्रमण गरेका हुन सक्छन् । हातले वा मेसिनको प्रयोग गरेर यो प्रक्रिया सम्पन्न गर्न सकिन्छ । यो सबै गर्नुको अर्थ उच्च गुणस्तरका दानाहरूको मात्र निर्यात होस् भन्ने हो ।
ई. कफीको निर्यात : यसरी पिँधिएको कफीलाई ‘ग्रीन कफी’ भनिन्छ । पाटाका र सिसलका बोरामा हालेर यसरी तयार गरिएको कफीलाई निर्यात गरिन्छ ।
कफीको चखाइ स्उत्पादनका प्रत्येक चरणमा गुण तथा स्वादको परीक्षण गर्नका लागि कफी चाखिन्छ । यस प्रक्रियालाई ‘कपिङ’ भनिन्छ । जाँचकीले सर्वप्रथम हेर्दाखेरि कस्ता देखिन्छन् भनेर दानाहरूलाई जाँच्दछ ।
त्यसपछि साना भुटाइ गर्ने प्रयोगशालामा ती दानालाई भुटिन्छ र तत्कालै सावधानीपूर्वक तापक्रम नियन्त्रण गरिएको उम्लिएको पानीमा हालिन्छ । जाँचकीले सुगन्धको पनि जाँच गर्दछ ।
केही समय त्यसै छाडिसकेपछि कपका सिरानमा बसेको पाप्रो उप्काउँछ । चाख्नुभन्दा अगाडि पुनः त्यसलाई सुँघ्छ । त्यसपछि चाख्नका लागि छिटो छिटो सास तान्दै एक चम्ची कफी सुरुप्प पार्छ ।
कफीको भुटाइः भुटेपछि हरिया कफीका दान खैरा रङका हुन्छन् । खैरा दाना बजारमा लगेर बेच्नका लागि तयार हुन्छन् । भुट्ने मेसिनको तापक्रम ५५० डिग्री फरेनहाइट हुन्छ । दानाहरू भुटाइको पूरा प्रक्रियाभरि घुमिरहन्छन् जसले गर्दा ती डढ्न पाउँदैनन् ।
जब दानाको ४०० डिग्री तापक्रम हुन्छ ती खैरा रङका देखिन थाल्छन् भने दानाभित्र रहेको तेल निस्किन थाल्छ । हामीले पिउने गरेको कफीबाट आउने सुगन्ध र स्वाद यसै तेलबाट उत्पादन भएको हो । भुट्ने मेसिनबाट निकाल्नासाथ कफीका दानाहरूलाई हावा वा पानीका सहायताले तत्काल चिस्याइन्छ ।
बजार
कुनै पनि उत्पादित वस्तुको बजार सबैभन्दा महत्त्वपूर्ण कुरा हो । उत्पादित वस्तुको बजार भएन भने सबै कुरा निरर्थक हुन्छ । नेपालमा उत्पादन गरिने अराबिका जातको कफी सबैभन्दा महँगो र गुणस्तरीय कफी हो ।
उच्च स्थानमा उत्पादन गरेको कफीको माग विश्व बजारमा निकै छ । पछिल्लो समयमा आएर नेपालमा खुलेका क्याफे तथा कफी हाउस एवं स्तरीय होटलमा नेपाली अर्गानिक कफीको प्रयोगको कारण नेपालको कफीले नेपाली बजारलाई पनि धान्न नसकेको अवस्था छ ।
यसको साथै नेपालमा खुल्दै गएका कफी कम्पनीको कारण पनि उत्पादित कफी विदेशमा नै पठाउनुपर्छ भन्ने छैन । हुन त नेपालमा उत्पादित कफीमध्ये करिब ६० प्रतिशत निर्यात हुन्छ र ४० प्रतिशत मात्र नेपालमा खपत हुने गरेको छ ।
नेपालमा उत्पादित कफी विदेश निर्यात भएपछि नेपाली बजारको लागि भारतबाट वा इटालियन कफीको आयात भइरहेको अवस्था छ ।
पछिल्लो रेकर्डअनुसार नेपालमा वार्षिक ४५० मेट्रिक टन कफी उत्पादन हुन्छ भने आन्तरिक तथा बह्य मागलाई हेर्ने हो भने १० हजार मेट्रिक टनभन्दा बढीको वार्षिक माग भइरहेको पाइन्छ । यसबाट के बुझ्न सकिन्छ भने उत्पादित कफीको लागि अहिले मात्र होइन, वर्षौ वर्षसम्म पनि बजारको अभाव देखिँदैन ।
कफी खेती गर्दा जान्नै पर्ने कुराहरू
कफी खेतीको के महत्त्व छ ?
कफी बालीलाई एक बर्षे बाली जस्तो खनजोत बढी गर्न नपर्ने, पहाडको भिरालो, पाखो जमिनमा लगाउन मिल्ने, भूक्षयबाट बचावट गर्ने र बर्षे बालीको तुलनामा आर्थिक रुपमा २/३ गुणासम्म बढी फाइदाजनक पाइएकोले यसको विशेष महत्व छ ।
यो एक औद्योगिक बाली भएकाले प्रशोधन, बजारीकरण आदि मूल्य श्रृङ्खलासँग जोडिएको हुँदा रोजगारी सिर्जना हुने भएकोले यसको आर्थिक महत्त्व पनि त्यत्तिकै छ ।
निर्यातयोग्य बालीको रूपमा कफीको सम्भाब्यता कस्तो छ ?
नेपालको ८०० देखि १५०० मिटर उचाईमा लगाएको कफीको गुणस्तर राम्रो भएकोले यसले अन्तर्राष्ट्रिय बजारमा विशेष पहिचान बनाएको हो ।
यस बाहेक यसमा पाइने क्याफिन भन्ने तत्त्वले गर्दा पिउँदा स्फूर्ति प्राप्त हुने भएकोले पनि पेय पदार्थको रूपमा लोकप्रिय भै निर्यातयोग्य बालीको रूपमा राम्रो सम्भाब्यता भएको अवस्था छ ।
साभार : एग्रो आर्ट नेपाल