हेटौंडा अस्पतालमै अक्सिजन उत्पादन, दैनिक १५ वटा सिलिन्डर भर्न मिल्ने 

हेटौंडा अस्पतालमै अक्सिजन उत्पादन, दैनिक १५ वटा सिलिन्डर भर्न मिल्ने 

अर्थ डबली
आइतवार, जेठ ९ २०७८
अर्थ डबली
आइतवार, जेठ ९ २०७८ (अर्काइभ बाट)
  • हेटौंडा अस्पतालमै अक्सिजन उत्पादन, दैनिक १५ वटा सिलिन्डर भर्न मिल्ने 

    बागमती / मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानद्वारा सञ्चालित हेटौंडा अस्पतालमा आजदेखि अक्सिजन उत्पादन शुरु भएको छ ।

    images
    images

    दैनिक १०० बढी सिलिन्डर अक्सिजन खपत हुने हेटौंडा अस्पतालमा अक्सिजन अभावका कारण समस्या उत्पन्न भएपछि हेटौंडा उपमहानगरले तत्काललाई दैनिक १५ वटा सिलिन्डर भर्न मिल्ने अक्सिजन प्लान्ट निर्माण गरेको हो ।

    यसबाहेक दैनिक १५० सिलिन्डर अक्सिजन उत्पादन हुने प्लान्ट आगामी असार पहिलो सातासम्म निर्माण सम्पन्न गर्ने गरी उद्योग सङ्घ, हेटौंडाले निर्माण प्रक्रिया थालिसकेको छ ।

    हाललाई काठमाण्डौँका लागि भारतबाट ल्याइएको अक्सिजन प्लान्ट उपमहानगरपालिकाको समन्वयमा हेटौंडा अस्पतालमा जडान गरिएको हो । 

    “अक्सिजन प्लान्ट ल्याउने व्यावसायीको खरिद मूल्य  उपमहानगरपालिकाले दिने र काठमाडौँको लागि अर्को व्यवस्था गर्ने सहमतिमा अस्पतालमा अक्सिजन प्लान्ट जडान गरिएको हो”, हेटौंडा उपमहानगरपालिकाका प्रमुख हरिबहादुर महतले भने। 

    अक्सिजन नपाएरै अस्पतालमा उपचाररत बिरामीको ज्यान जाने अवस्था उत्पन्न भएपछि हतारहतार प्लान्ट जडान गरिएको र आजदेखि उत्पादन शुरु भएको उनको भनाइ छ ।

    अक्सिजन प्लान्ट जडान गर्नका लागि उपमहानगरपालिकाका कर्मचारी, काठमाडौँबाट आएका प्राविधिकले ४८ घण्टा दिनरात काम गरेको उनले बताए ।  

    प्रदेश दुईका जिल्लाहरूबाट समेत उपचारका लागि बिरामीहरू आउने भएका कारण अस्पतालले अक्सिजनको अभाव व्योहोर्नुपरेपछि  उपमहानगरपालिकाले इटहरी र नुवाकोटबाट दिनहुँ अक्सिजन ढुवानी गर्दै आएको छ । 

    साथै हेटौंडाको गौरीटारमा आइसोलेशन र गोरक्षश्वरमा स्वाब सङ्कलनको कामसमेत उपमहानगरले गर्दै आएको छ ।

    अहिले हेटौंडा अस्पतालमा आइसियु र भेन्टिलेटरसहित ५४ जना कोरोना सङ्क्रमणका बिरामीको उपचार भइरहेको छ । 

    अस्पतालका सबै बिरामीलाई अक्सिजन दिएर उपचार भइहेको मदनभण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानका रजिष्ट्रार तथा अस्पताल विकास समितिका अध्यक्ष राजेश प्रसाईँले बताए । 

    साताको लोकप्रीय