काठमाडौँ / गुणस्तरहिन ह्याण्ड सेनटाइजर उत्पादन तथा बिक्री वितरण गर्ने आशिष प्याकुरेल पक्राउ परेका छन् । नावमी (NAWAMI) नामको उत्सव डिटरजेन्ट एण्ड कस्मेटिक उद्योग बालाजुबाट उत्पादित नक्कली सेनिटाइजर बजारमा बिक्री वितरण भइरहेको सूचनाको आधारमा प्रहरीले उनलाई पक्राउ गरेको हो ।
लाइफ लाइन सर्जिकल हाउसका सञ्चालक जिल्ला सुनसरी रामधुनी नगरपालिका – १ घर भई हाल जिल्ला ललितपुर महालक्ष्मी नगरपालिका – ४ इमाडोल शितलहाइट बस्ने २६ बर्षीय प्याकुरेललाई पक्राउ गरेको प्रहरीले जानकारी दिएको छ ।
उक्त सर्जिकल हाउस औषधी व्यवस्था विभाग तथा जिल्ला प्रशासन कार्यालय ललितपुरको रोहवरमा शिल गरी थप अनुसन्धान भइरहेको र उक्त नामका सेनिटाइजर बजारमा विक्री वितरण हुन नदिन सम्बन्धित निकायहरुसँग आवश्यक समन्वय समेत भएको प्रहरीले जानकारी दिएको छ ।
प्रहरीले काठमाडौँ जिल्ला कामपा – १४ कुलेश्वरबाट २१ कार्टुन, सेनिटाइजर समेत बरामद गरेको छ । साथै नक्कली सेनिटाइजर ओसारपसारमा प्रयोग भएका बा १२ च ९२६९ र लु अ अ ३२९४ न.को २ वटा गाडी समेत बरामद गरिएको बताइएको छ ।
प्रहरीका अनुसार पक्राउ परेका प्याकुरेललाई कमसल माललाई असल भनी झुक्याई विक्री वितरण गरेको एवं औषधीमा मिसावट गरी विक्री वितरण गरेको कसुरमा कालो बजारी तथा केही अन्य सामाजिक अपराध ऐन–२०३२अन्तर्गत कारवाहीको लागि महानगरीय प्रहरी परिसर ललितपुर पठाइनेछ ।
हाल विश्वभरी महामारीको रुपमा फैलिएको कोभिड-१९ का कारण सिर्जित बिकराल अवस्थामा सर्वसाधारणले प्रयोग गर्ने ह्याण्ड सेनिटाइजरको अत्याधिक माग भईरहेको सन्दर्भमा बिषम परिस्थितिको फाइदा उठाउदै बिभिन्न औषधीजन्य पसल एवं सर्जिकल हाउसहरुले आम सर्वसाधारणको स्वास्थ्यमा प्रतिकुल असर पार्ने गुणस्तरहिन सेनिटाईजर उत्पादन तथा बिक्री वितरण गरि मानव स्वास्थ्यमाथी खेलवाड गरि कालो बजारी भईरहेको भन्ने
महानगरीय अपराध महाशाखाका अनुसार बिशेष सूचनाका आधारमा “७५ प्रतिशत ह्याण्ड सेनिटाइजर” नामको सेनिटाइजर बजारमा खुलेआम बिक्री वितरण भइरहेको पाइएकोले त्यस्ता सेनिटाइजरको गुणस्तर जाँचका लागी औषधी व्यवस्था विभागको प्रयोगशालामा परीक्षणको लागी पठाइएको थियो ।
उक्त सेनिटाइजरमा Methanol रसायन २४५ भेटिएको र उक्त सेनिटाइजरमा प्रयोग भएको रसायनले मानव स्वास्थ्यमा घातक असर गर्ने भएकोले तत्काल उक्त उत्पादनमाथि नियन्त्रण गर्नु पर्ने जरुरी रहेको देखिएको थियो ।
महानगरीय अपराध महाशाखाबाट खटिएको प्रहरी टोलीले उक्त सेनिटाइजरको उत्पादन एवं प्याकिङ भइरहेको ललितपुर महालक्ष्मी नगरपालिका वडा नं. – ४ इमाडोल शितल हाइटमा रहेको भाडाको घरमा छापा मारेको हो ।
प्याकुरेलले घर भाडामा लिई औषधी व्यवस्था विभागमा दर्ता नगरी Repacked By RCB इण्डष्ट्रिज पर्सा, नेपाल उल्लेख गरिएको नक्कली स्टिकर प्रयोग गरी सेनिटाइजर तयारी तथा प्याकिङ गरी विक्री गर्ने गरेको स्थानबाट अ.२५,००० लिटर नक्कली सेनिटाइजर,२००० लिटर Methanol रसायन, ३६०० लिटर ETHYNIL रसायन, विभिन्न स्टिकरहरु समेत बरामद गरिएको प्रहरीले जनाएको छ ।
त्रिपुरेश्वरस्थित लाइफ लाइन सर्जिकल सप्लायर्सबाट अ. ५००० लिटर गरी करिब ३० हजार लिटर सेनिटाइजर बरामद गरिएको प्रहरीको भनाइ छ ।
बरामद सेनिटाइजरको जम्मा बजार मूल्य एक करोड ८० लाख रुपैयाँ बराबरको रहेको छ ।