आइसोलेशन सेन्टरमा निःशुल्क मासु र अण्डा

आइसोलेशन सेन्टरमा निःशुल्क मासु र अण्डा

अर्थ डबली
आइतवार, जेठ १६ २०७८
अर्थ डबली
आइतवार, जेठ १६ २०७८ (अर्काइभ बाट)
  • आइसोलेशन सेन्टरमा निःशुल्क मासु र अण्डा

    बागमती / बागमती प्रदेश राजधानी हेटौँडासहित मकवानपुर जिल्लाभित्र सञ्चालनमा रहेका कोभिड–१९ बिरामी उपचारका लागि स्थापित सबै आइसोलेशन सेन्टरलाई आवश्यक पर्ने मासु र अण्डा पुनः मकवानपुर कुखुरा व्यवसायी सङ्घले उपलब्ध गराउन थालेको छ ।

    images

    सङ्घले मकवानपुरका सबै आइसोलेशन सेन्टरका सङ्क्रमितलाई एक महिनासम्म हप्ताको दुई दिन मासु र दैनिक अण्डा उपलब्ध गराउन थालेको मकवानपुर कुखुरा व्यवसायी सङ्घका अध्यक्ष गोकुलनाथ पौडेलले बताए । 

    पहिलो चरणको कोरोना सङ्क्रमणको बेलामा पनि सबै आइसोलेशनमा एक महिनासम्म दैनिक अण्डा र हप्तामा दुई दिन मासु उपलब्ध गराएको सङ्घले दोस्रो चरणको सङ्क्रमणमा पनि सो कार्यलाई निरन्तरता दिएको हो । 

    सङ्क्रमितलाई पोषणतत्व परिपूर्तिका लागि प्रतिव्यक्ति दैनिक दुई  अण्डा र हरेक हप्ताको शनिबार र बुधबार मासु  उपलब्ध गराउने छ । मासु र अण्डा एकैचोटी ल्याउँदा बिग्रने भएकाले आवश्यकतानुसार उपलब्ध गराउने सङ्घले जनाएको छ ।

    सङ्क्रमितको घरघरमा जनप्रतिनिधि

    हेटौँडाका विभिन्न क्षेत्रमा होमआइसोलेशनमा बस्दै आएका कोभिड–१९ सङ्क्रमित घरबाहिर निस्कने गरेको जनगुनासो बढेपछि जनप्रतिनिधिले टोलटोलमा पुगेर सङ्क्रमितलाई घरमै बस्नका लागि आग्रह गर्दै आएका छन् । 

    सङ्क्रमित पूर्णरूपमा होमआइसोलेशनमा नबसी घरबाहिर निस्कने, बजार सामान खरिदका लागि आउने, व्यापार गर्नेजस्ता गुनासो आएपछि स्थानीय प्रशासन र जनप्रतिनिधि टोलटोलमा पुगेर सङ्क्रमितलाई घरमै बस्नका लागि आग्रह गर्दै आएका हुन् ।

    कोभिड–१९ का बिरामी बाहिर निस्कँदा झन् कोभिड सङ्क्रमण बढ्दै जाने अवस्थालाई मध्यनजर गर्दै प्रत्येक टोलटोलमा पुगी सङ्क्रमितलाई घरमै बस्न आग्रह गरिएको उपमहानगरपालिकाका प्रमुख हरिबहादुर महतले बताए । 

    हेटौँडा उपमहानगरपालिकामा सङ्क्रमित धेरै छन् । हेटौँडाका हरेक टोलटोलमा कोरोना सङ्क्रमित बढेका छन् ।

    पछिल्लोपटक हेटौँडाको वडा नं ४, ५, ९ र ११ का टोलटोलमा पुगेर सङ्क्रमितसहित स्थानीय बासिन्दालाई घरमै बस्न आग्रह गरिएको हो ।

    कोरोना नियन्त्रणका लागि स्थानीय प्रशासनले निषेधाज्ञा गरे पनि हेटौँडाका टोलटोलमा र गाउँस्तरमा भने सङ्क्रमित धेरै रहेकाले चेतना जगाउन पनि अनुगमन गरिएको प्रमुख महतले बताए । 

    स्थानीयस्तरमा टोल विकास संस्थालाई सक्रिय गराएर सङ्क्रमितलाई घरबाहिर ननिस्कनका लागि आग्रहसमेत गरिएको छ । 

    साताको लोकप्रीय