म्याग्दीको मङ्गला गाउँपालिका–३ बरंजामा झ्याप्रेखोला तल्लो भैतेनी सिँचाइ आयोजनाको ७१० मिटर नहर निर्माण भएको छ ।
खानेपानी, सिँचाइ तथा जलस्रोत डिभिजन कार्यालय म्याग्दीमार्फत गत वर्षदेखि आयोजना निर्माण शुरु भएको थियो । झ्याप्रेखोला सिँचाइ आयोजनाको उपभोक्ता समितिका अध्यक्ष नन्दलाल कडेलले दुई वर्षको अवधिमा ७१० मिटर पक्की नहर निर्माण सकिएको जानकारी दिए ।
चालु आर्थिक वर्ष २०७७/ ७८ मा कार्यालयको रु १४ लाख ४५ हजार अनुदान र उपभोक्ताको रु एक लाख ५३ हजार श्रमदानबाट २७० मिटर नहर निर्माण भएको छ । यसैगरी मुहान संरक्षणका लागि १५ थान ग्यावियन पर्खाल निर्माण भएको छ ।
“गत पुस महिनामा सम्झौता गरेर असारमा सम्पन्न गर्ने लक्ष्य राखेका थियौँ”, अध्यक्ष कडेलले भने, “हामीले वैशाखमै निर्माण सकेर अन्तिम किस्ताको भुक्तानीसमेत लिइसक्यौँ ।” स्थानीय मजदुर परिचालन गरेर नहर निर्माण भएको थियो ।
गत आर्थिक वर्ष २०७६/ ७७ मा कार्यालयको रु २८ लाख अनुदान र उपभोक्ताको रु तीन लाख बराबरको श्रमदानमा ४८० मिटर नहर, मुहान र १० थान ग्यावियन पर्खाल निर्माण भएको थियो । अहिलेसम्म निर्माण भएको नहरबाट मौरेनीसम्म सिँचाइका लागि पानी चलाइएको छ ।
झ्याप्रे खोलामा मुहान भएको यो आयोजनाबाट १३ हेक्टर क्षेत्रफल जमीनमा सिँचाइ सुविधा पुग्ने खानेपानी, सिँचाइ तथा जलस्रोत डिभिजन कार्यालयका इञ्जीनियर बालकृष्ण बुढाथोकीले बताए । कुल दुई हजार ५०० मिटर नहर निर्माण भएपछि आयोजनाले पूर्णता पाउनेछ ।
आगामी आर्थिक वर्षमा थप बजेट व्यवस्थापन गरेर योजनालाई पूर्णता दिन पहल गरिएको कार्यालय र उपभोक्ता समितिले जनाएका छन् । सिँचाइ सुविधा भएपछि खाद्यबालीका साथै सुन्तला, किबीलगायत फलफूल र तरकारी खेती गर्न सहज हुने स्थानीयवासी मदन सापकोटाले बताए ।
नहरबाट पानी चलाइएको ठाउँमा यसपालि मध्य जेठमै धान रोपाइँ सकिएको छ । यसअघि कच्ची नहरमा थोरै स्रोतको पानी चुहावट हुने समस्या थियो । खेतीबालीमा सिँचाइ गर्न पालो कुर्नुपर्ने अवस्था थियो ।