खेती गर्न न माटो चाहिने न मल, ‘हाइड्रोपोनिक’ प्रविधिबाट तरकारी खेती र माछापालन

खेती गर्न न माटो चाहिने न मल, ‘हाइड्रोपोनिक’ प्रविधिबाट तरकारी खेती र माछापालन

अर्थ डबली
आइतवार, असार ६ २०७८
अर्थ डबली
आइतवार, असार ६ २०७८ (अर्काइभ बाट)
  • खेती गर्न न माटो चाहिने न मल, ‘हाइड्रोपोनिक’ प्रविधिबाट तरकारी खेती र माछापालन

    बागलुङ / तलपट्टि सानो पोखरीमा माछा, माथि तरकारी बाली । खेती गर्न न माटो चाहिने न मल । त्यही पोखरीको पानीले तरकारी सिञ्चित गर्छ फेरि तल खस्छ । विद्युतीय प्रणालीमार्फत यो चक्र पूरा हुन्छ ।

    images
    images

    बागलुङ नगरपालिका–३ रात्माटाका अगुवा किसान बैकुण्ठ सापकोटाले यसरी नै ‘हाइड्रोपोनिक’ प्रविधिबाट तरकारी खेती र माछापालन गरिरहेका छन्। सापकोटाले गाउँमा पहिलोपटक यो आधुनिक प्रविधिको सफल परीक्षण गरेका हुन् । 

    उनअनुसार यसलाई ‘माटोविहीन’ खेती पनि भनिन्छ । बिरुवालाई चाहिने सूक्ष्म खाद्यतत्व पानीका माध्यमबाट दिइन्छ । पोखरीको पानीलाई विद्यतुीय मोटरमार्फत तानेर बाली लगाइएको ठाउँमा पुर्याइन्छ । 

    सापकोटाले चार मिटर लामो र साढे दुई मिटर चौडाइसहितको संरचनामा माछापालन र तरकारी खेती गरेको बताए । “यो नमूना परीक्षण जस्तो पनि हो, सम्भवतः जिल्लामै यो प्रविधिबाट खेती गरिएको पहिलोपटक हुनुपर्छ”, उनले भने । 

    पोखरीमा तीन सय माउर माछाका भुरा हुर्किरहेका छन् भने माथिपट्टि प्याज । ‘हाइड्रोपोनिक’ प्रविधिबाट सानो जरा हुने तरकारी बाली मात्र लगाउन सकिने उनको भनाइ छ ।

    प्याज, लसुन, धनियाँ, साग जस्ता तरकारी खेती त्यसमा फस्टाउँछ । सापकोटाले तरकारीका बाली लगाउन बाँस, प्लाष्टिक बोतल र गिलास प्रयोग गरेका छन्। “पोखरीको पानी मोटरले माथि तान्छ, त्यही पानी एकबाट अर्को हुँदै सबै बोतलमा पुग्छ र फेरि पोखरीमा खस्छ”, उनले भने । 

    हरेक बोतलको बीचमा प्वाल पारेर त्यसमा प्लाष्टिकको गिलास राखी त्यसमै तरकारीको बिरुवा लगाउने गरिएको उनको भनाइ छ । बिरुवा लगाउँदा माटाको खाँचो पर्दैन । आफूलाई चाहिने खाद्यतत्व र पोषण बिरुवाले पानीबाटै लिन्छ । माछाको दिसाले गर्दा पोखरीको पानीमा सूक्ष्म खाद्यतत्व हुने सापकोटाले बताए । 

    माछापालन नगरी तरकारी मात्रै लगाउँदा भने पानीमा बिरुवालाई चाहिने खाद्यतत्व मिसाउनुपर्ने हुन्छ । उनले माछापालन पनि गरेको भएर दुई÷तीन हप्तामा पोखरीको पानी फेर्दै आएका छन् । तरकारी मात्रै हुँदा त्यो झन्झट पनि हुँदैन । 

    धेरै परिश्रम गर्न पनि नपर्ने र थोरै ठाउँ भए पनि हुने भएकाले पछिल्लो समय यस प्रविधिप्रति किसान आकर्षित हुन थालेका छन् । घरका छत र कौसीमा पनि यो खेती गर्न सकिन्छ । 

    माटोमा भन्दा यस प्रविधिबाट गरिएको खेती छिटो र धेरै उब्जाउ हुने कृषि प्राविधिक बताउँछन् । ‘हाइड्रोपोनिक’ प्रविधि अपनाउँदा माटोजन्य रोगको पनि खतरा हुँदैन ।

    विषादी र रसायनिक मल प्रयोग नभएका कारणले किसानले फलाउने तरकारी जैविक हुन्छ । उनी  ‘हाइड्रोपोनिक’ प्रविधिबाट तरकारी खेतीको व्यावसायिक विस्तार गर्ने सोचमा  छन् । माछापालन र तरकारी खेती दुवै गर्न सकिने भएकाले यसप्रति अन्य किसान पनि आकर्षित हुने देखिन्छ ।

    व्यवसायी सापकोटाले माछापालनका लागि नगरपालिकाबाट रु आठ हजार अनुदानसमेत पाएको बताए । 

    उनी विगत केही वर्षदेखि ‘सापकोटा कृषि फार्म’मार्फत व्यावसायिक पन्छीपालन र तरकारी खेतीमा सक्रिय छन्। फार्ममा आठ कुखुरा र दुई चरा प्रजातिका गरी दश थरी पन्छी छन् । दुईवटा ‘टनेल’मा तरकारी छ । कृषिमा श्रम–पसिना बगाउन नहिच्किचाउने उनी घरमै बसीबसी मनग्य कमाइ गर्छन् । 

    साताको लोकप्रीय