पछिल्लो समयमा योगको प्रभावकारिताको बारेमा निकै चर्चा हुने गरेको पाइन्छ । स्मरण शक्ति बढाउन, आफ्नो शरीर र मनलाई शान्त राख्न, मोटोपन घटाउन र फूर्तिलो तथा शरिरका अङ्गलाई तन्दुरुस्त राख्नको लागि योग फलदायी भएको बताइन्छ ।
तर अझै पनि हामी धेरै मानिसलाई योग कुन अवस्थामा कस्ता मानिसहरुले कसरी गर्दा बढी फलदायी हुन्छ भन्ने थाहा नहुनसक्छ ।
तल यसका बारेमा चर्चा गरिएको छ
खाली पेट बिहान योग गर्नु सबभन्दा राम्रो हुन्छ। अन्य समयमा गर्नुपर्दा टन्न खाएको ४ घन्टा र हल्का खाएको दुई घन्टापछि योग गर्नु राम्रो हुन्छ ।
चस्मा र कन्ट्याक लेन्स झिकेर अभ्यास गर्नुपर्छ । दिसा–पिसाब सकेर मात्र अभ्यास गर्नु राम्रो हुन्छ । हरेक दिन एउटै समयमा २० मिनेटदेखि ९० मिनेटसम्म योग गर्नु राम्रो हुन्छ ।
प्रत्येक योगासनको अवधि १५ सेकेन्डदेखि बिस्तारै बढाएर ३ मिनेटसम्म पुर्याउन सकिन्छ। योग गर्दा खुकुलो तथा सजिलो किसिमको लुगा लगाउनुपर्छ ।
योग अभ्यासको लागि शान्त, सफा, हावादार तथा न्यानो ठाउँ छनौट गर्नुपर्छ । शरीरलाई जबरजस्ती जोड पर्ने गरी अभ्यास गर्नुहुँदैन । योग अभ्यास सकेर आधा घन्टापछि मात्रै खाना खानु उपयुक्त हुन्छ ।
महिलाले महिनावारी भएको बेला तल्लो पेटमा बल पर्ने गरी अभ्यास गर्नुहुँदैन । यस्तो बेला कीर्तन, ध्यान, प्रणायम गर्नु राम्रो हुन्छ ।
सामान्यतया अगाडि टाउको झुकाएर गर्ने अभ्यासले तनाव कम गर्नुका साथै मनोबल उच्च गराउँछ। तर मुटु, हर्निया तथा उच्च रक्तचाप भएकाले यो अभ्यास गर्नु हुँदैन।
कम्तीमा ३ देखि ६ महिना नियमित अभ्यास गरेपछि मात्रै फाइदा लिन सकिन्छ । उच्च रक्तचाप, मुटुरोग, श्वासप्रश्वास, अनिद्रा तथा स्मरणशक्ति न्यून भएकाले प्राणायाम गर्दा श्वास रोक्न हुँदैन।
अपरेसन गरेका बिरामीले कम्तीमा २ वर्षपछि अथवा विज्ञको सल्लाह लिएर र दीर्घ रोगीले पनि विज्ञको सल्लाहअनुसार योग अभ्यास गर्नुपर्छ।
यसरी गर्नुहोस् योग
योग गर्नुअघि सबैभन्दा पहिले सजिलो आसन छान्नुपर्छ । त्यसपछि आसनमा आरामसँग बस्नुपर्छ । आसनमा बसेपछि ढाड र गर्दनलाई सीधा पार्नुपर्छ ।
योग गर्दा श्वासलाई ध्यान दिनुपर्छ । दिमागलाई स्वस्थ राख्न श्वासप्रश्वासको भूमिका महत्वपूर्ण हुन्छ । अबको स्टेजमा शरीरलाई बिस्तारै हल्कासँग उठाउनुहोस्, सीधा उभिनुहोस्, अनि दुवै खुट्टा एकै ठाउँमा जोडेर राख्नुपर्छ ।
पूरा शरीरलाई मिलाएर खुट्टा जोडेर राख्नुपर्छ । अब दाहिने गोडालाई बिस्तारै उठाएर देब्रे तिघ्रामा सटाउनुहोस् । श्वास लिएर दुवै हातलाई जोडेर नमस्ते मुद्रामा राख्नुहोस् ।
अब श्वास छाड्दै दुवै हत्केला माथि लानुपर्छ । त्यही आसनमा ३० सेकेन्डसम्म रहनुपर्छ । दाहिनेतर्फबाट आसनको अभ्यास गरेपछि सन्तुलनका लागि सोही प्रक्रिया देब्रेतिरबाट पनि गर्नुपर्छ ।