चामे–झोलुङुगे पुल उच्च जोखिममा, 

चामे–झोलुङुगे पुल उच्च जोखिममा, 

अर्थ डबली
मंगलवार, असार २९ २०७८
अर्थ डबली
मंगलवार, असार २९ २०७८ (अर्काइभ बाट)
  • चामे–झोलुङुगे पुल उच्च जोखिममा, 

    मनाङ/ लगातारको अविरल वर्षाले मस्र्याङ्दी नदीमा रहेको पुल उच्च जोखिममा परेको छ । जिल्लाको माथिल्लो मनाङ जोड्ने एकमात्र चामे झोलुङ्गे पुल जोखिममा परेको छ । चामे गाउँपालिका–४ र ५ जोड्ने सो  पुल मस्र्याङ्दी नदीमा आएको बाढीले धार काट्दै लगेपछि जोखिममा परेको सो गाउँपालिकाका सूचना अधिकारी लक्ष्मण गौलीले जानकारी दिए । 

    images
    images


    उनले भने, “जिल्लाको चामे ४ र ५ जोड्ने झोलुङ्गे पुल उच्च जोखिममा रहेको छ । गत जेठ ३१ गतेदेखि परेको अविरल वर्षापछि मस्र्याङ्दी नदीमा बाढी आएको छ । नदीको वहाव अझै उस्तै छ, घटेको छैन । नदीमा आएको बाढीले धार काट्दै लगेको छ । यस कारणले पुलको एकतिरको भाग ढल्किएको छ । झोलङ्गे पुलसम्म पानी आएको र ढल्किएपछि स्थानीयवासीको आवतजावत रोकिएको छ ।”

    नदीमा आएको बाढीले यही असार ४ गते माथिल्लो मनाङ जोड्ने मोटरेवल पुलमासमेत असर पु¥याएको थियो ।  अहिले पुलबाट आवातआवत बन्द छ । स्थानीयवासी यसपछि चामे झोलुङ्गे पुलबाट आवतआवत गर्दै आएका छन् । अहिले यो पुलमासमेत बाढीले क्षति पु¥याएपछि माथिल्लो मनाङसँगको सम्बन्धविच्छेद हुने सम्भावना बढेको उनले बताए । 

    उनले भने ,“ यो पुल नदीको बाढीले बगायो भने माथिल्लो मनाङसँगको सम्बन्धविच्छेद हुन्छ । ङिस्याङ गाउँपालिका–९ खाङसारस्थित विश्वकै अग्लो स्थानमा रहेको तिलिचो ताललगायतका पर्यटकीय क्षेत्रबाट सम्बन्ध टुट्नेहुन्छ ।”

     
    त्यस्तै नदीको बाढीले जिल्लाका दर्जनौँ पुल बगाएका छन् । जिल्लामा अविरल वर्षासँगै आएको बाढीपहिरोले करोडौँको भौतिक क्षति पु¥याएपछि यतिवेला मनाङवासी पीडामा छन् । मस्र्याङ्दी नदीलगायत अन्य सहायक खोलामा आएको बाढीले जिल्लामा घर, सडक, चैत्य, गुम्बा, पुललगायतका संरचनामा क्षति पुगेको छ । 

    जिल्लाको चार स्थानीय तह नै बाढीपहिरोबाट पूर्णरुपमा प्रभावित भएको छ । नासोँ, चामे र ङिस्याङ गाउँपालिका बाढीपहिरोबाट क्षतिग्रस्त भएको छ, भने नार्पाभूमि गाउँपालिका पहिरोबाट प्रभावित बनेको छ । 

     भेन्टिलेटर उपयोगमा आएन
      
     गण्डकी प्रदेश सरकारले प्रदान गरेको एक भेन्टिलेटर यहाँ प्रयोगमा आउन सकेको छैन । जिल्ला अस्पतालमा जनशक्तिको अभावमा भेन्टिलेटर थन्किएको हो । 

    जनशक्ति नहुँदा भेन्टिलेटर  सञ्चालनमा आउन नसकेको  अस्पतालका डा प्रतिभा गौलीले जानकारी दिए । उनले भने ,“कोभिडका बिरामीका लागि उपचार गराउन भेन्टिलेटरका सबै सामग्री छन् । जडान गरिएको छैन । भेन्टिलेटरसम्बन्धी तालीम प्राप्त डाक्टर भए सहज हुन्थ्यो, जनशक्ति अभावले सेवा प्रवाहमा समस्या भएको छ ।” 

    अस्पतालमा भेन्टिलेटरसहित दुई श्ययाको सघन उपचार कक्ष निर्माणका लागि सामान खरीद गरिएको छ । जटिल बिरामीका लागि भेन्टिलेटरको सामग्री भए पनि दक्ष विशेषज्ञ नहुँदा प्रयोगमा आउन नसकेको उनले बताए । 

     

    १५४ सङ्क्रमित

    जिल्लामा कोरोनाबाट १५४ सङ्क्रमित भइसकेका छन् । अहिले जिल्लामा सक्रीय सङ्क्रमितको सङ्ख्या १७ रहेको जनस्वास्थ्य कार्यालयका प्रमुख बद्री आचार्यले जानकारी दिए । 

    उनका अनुसार सङ्क्रमितमध्ये १६ जना जिल्लाभित्रैको संस्थागत आइसोलेशन केन्द्रमा उपचार भइरहेको छ  भने एक जनालाई पोखरा पठाइएको छ । जिल्लाका चार स्थानीय तहमध्ये हालसम्म नार्पाभूमि गाउँपालिकामा सङ्क्रमितको सङ्ख्या शून्य अवस्थामा रहेको प्रमुख आचार्यले बताए ।  

    चामेमा ६०, ङिस्याङमा ६२ र नासोँ गाउँपालिकामा ३० जनालाई  सङ्क्रमण पुष्टि भएको थियो ।

     तीमध्ये अहिले ङिस्याङका १० र नासोँका सात सङ्क्रमितको उपचार भइरहेको कार्यालयको तथ्याङ्क छ । १३७ जना निको भएर घर फर्किसकेका छन् ।  हालसम्म सङ्क्रमणका कारण दुई जनाको मृत्यु भएको  छ । 

    कोरोना खोप बचाउन सकस 

    जिल्लामा दोस्रो चरणमा ल्याएको कोरोना भाइरसविरुद्धको खोप बचाउन मुस्किल भएको छ । जिल्लामा बाढीपहिरोपछि विद्युतीय, सडक, फोन इन्टरनेटमा अवरुद्ध हुँदा खोप बचाउन मुस्किल भएको हो । तत्कालका लागि पोखराबाट नेपाली सेनाको हेलिकप्टरमार्फत आइसप्याक मगाइएको जनस्वास्थ्य कार्यालयका प्रमुख आचार्यले बताए । 

    उनले भने, “बाढीपहिरो पश्चात् जिल्लामा पोल ढलेपछि बिजुली अवरुद्ध भएको छ । पच्चीस दिनदेखि तत्कालका लागि पोखराबाट मगाइएको आइसप्याकमा खोपलाई सुरक्षित तवरले राखेका छौँ ।  यसरी कति दिन राख्ने ?  खोप खेर जाने सम्भावना बढ्दै गएको छ ।”

    यस्तै विकट नार्पाभूमिमा खोप कसरी लैजाने भन्ने चिन्ता थपिएको छ । “ त्यहाँ पुग्न हिँडेर जान मात्र तीन दिन लाग्छ । अहिले त झन् बाढीपहिराले सबै बाटोघाटो भत्काउनाका साथै बगाएर लगेको छ । हिँडेर जान सम्भव छैन”,  उनले भने । नवीन लामिछाने

    साताको लोकप्रीय