आत्मनिर्भर अर्थतन्त्र निर्माणमा सबै लागौँ : अर्थमन्त्री शर्मा

आत्मनिर्भर अर्थतन्त्र निर्माणमा सबै लागौँ : अर्थमन्त्री शर्मा

अर्थ डबली
आइतवार, साउन ३ २०७८
अर्थ डबली
आइतवार, साउन ३ २०७८ (अर्काइभ बाट)
  • आत्मनिर्भर अर्थतन्त्र निर्माणमा सबै लागौँ : अर्थमन्त्री शर्मा

    काठमाडौँ / अर्थमन्त्री जनार्दन शर्माले आत्मनिर्भर अर्थतन्त्र निर्माणका लागि नेपाल उद्योग परिसङ्घले अघि बढाएको ‘मेक इन नेपाल–स्वदेशी’ अभियान कार्यान्वयनमा सरकारले बलियो साथ दिने बताएका छन् । 

    images
    images

    नेपाल उद्योग परिसङ्घको प्रतिनिधिमण्डलसँगको भेटमा उनले आफ्नो प्राथमिकता पनि आत्मनिर्भर अर्थतन्त्र निर्माण रहेको जनाउँदै निजी क्षेत्रले अघि बढाएको अभियानमा आफ्नो साथ रहने स्पष्ट पारे । 

    अर्थमन्त्रीले भने, “हाम्रो आयात उच्च रहेको, निर्यात कमजोर रहेको र विदेशी मुद्रा सञ्चिती पनि कम रहेको देखेँ ।”

    उनले यो अवस्थामा अब परिवर्तन ल्याउन जरुरी रहेको उल्लेख गरे । उनका अनुसार त्यसका लागि सरकार र निजी क्षेत्र मिलेर नेपालमै उत्पादन वृद्धि गर्ने र आयात न्यूनीकरण गर्नेतर्फ सोच्नुपर्छ । 

    अर्थमन्त्री शर्माले आर्थिक विकास, रोजगारी सिर्जना र आत्मनिर्भर अर्थतन्त्र निर्माणका लागि निजी क्षेत्रलाई सधैँ साथमा लिएर अघि बढ्ने बताए। उनले औद्योगिक वातावरण सिर्जनाका लागि निजी क्षेत्रलाई सहयोग गर्न आफू सधैँ तयार रहेको उल्लेख गरे।

    “सरकारको उद्देश्य अर्थतन्त्रको सबलीकरण नै हो”, मन्त्री शर्माले भने, “निजी क्षेत्रका लागि लगानीको वातावरण तयार गर्न र नीतिगत सहजीकरण गर्न हामी सदैव तयार छौँ, तपाईंहरूले लगानी बढाउनुस् ।” 

    उनले आफू निजी क्षेत्रबाट रचनात्मक सुझाव र सल्लाह लिएर अघि बढ्ने पनि बताए । उनले कोभिड– १९ को महामारीले अर्थतन्त्रमा परेको प्रभाव न्यूनीकरण गर्दै अघि बढ्न सरकारलाई निजी क्षेत्रको सहयोग आवश्यक पर्नेमा जोड दिए । मन्त्री शर्माले असल औद्योगिक क्षेत्रमा लगानीयोग्य वातावरण सिर्जना आफ्नो प्राथमिकतामा रहेको बताए । 

    कार्यक्रममा परिसङ्घका अध्यक्ष सतिशकुमार मोरले अर्थमन्त्रीमा नियुक्त भएकामा उनलाई नेपाल उद्योग परिसङ्घका तर्फबाट बधाई ज्ञापन गरे ।

    अध्यक्ष मोरले सबै नेपाली नागरिकलाई खोप र आर्थिक पुनरोत्थान आजको प्रमुख आवश्यकता भएको बताए । निजी क्षेत्रलाई खोपमा प्राथमिकतामा राख्न पनि अध्यक्ष मोरले आग्रह गरे । 

    कोभिडले आत्मनिर्भर अर्थतन्त्र निर्माणको आवश्यकता बोध गराइदिएको उल्लेख गर्दै उनले त्यसलाई वास्तविकतामा परिणत गर्न नेपाल उद्योग परिसंघले ‘मेक इन नेपाल–स्वदेशी’ अभियान सञ्चालन गरेको जानकारी गराए । 

    परिसङ्घका वरिष्ठ उपाध्यक्ष विष्णुकुमार अग्रवालले सरकारले घोषणा गरेका नीतिको प्रभावकारी कार्यान्वयन गर्नुपर्नेमा जोड र्दिए ।  

    उनले कोभिड–१९ बाट कमजोर बनेको अर्थतन्त्रलाई चलायमान बनाउन मौद्रिक नीतिबाट पनि सम्बोधन हुने अपेक्षा निजी क्षेत्रले गरेको उल्लेख गरे । 

    साताको लोकप्रीय