जिल्लाको म्याग्दे गाउँपालिकाका छवटा सामुदायिक वन मिलेर माउण्टेन तनहुँ सामुदायिक बेल तथा फलफूल प्रशोधन उद्योग सञ्चालनमा ल्याएका छन् ।
स्थानीय सिद्धबतासना, उमाचोक, भिरपानी, ज्यान्ट्याङ, बरच्याङ र पोसेली सामुदायिक वन उपभोक्ता समिति मिलेर उद्योग सञ्चालनमा ल्याएका हुन् ।
म्याग्दे गाउँपालिका–२ का तीन, १ का दुई र ३ का एक गरी छ सामुदायिक वनका गरी करीब एक हजार ३०० जनाको सहभागितामा अमृत बेल सर्वत उत्पादन गरिएको हो ।
‘गुणस्तर प्रमाणित बेल तथा फलफूलका उत्पादनको प्रयोग गरौँ, वन तथा प्राकृतिक स्रोतमा आधारित उद्यमको प्रवद्र्धन गरौँ’ भन्ने मूल नारा लिएर यहाँका सामुदायिक वनले एक किसिमको उदाहरणीय कार्यको थालनी गरेका छन् ।
वनमा खेर गइरहेको बेललाई सदुपयोग गर्दै आम्दानीको मुख्य स्रोत बनाएका छन् । बेललाई प्रशोधन गरी स्क्वायस बनाएर बिक्रीका लागि बजारमा ल्याउन थालिएको माउण्टेन तनहुँ सामुदायिक बेल तथा फलफूल प्रशोधन उद्योगका सञ्चालक विष्णुकुमार श्रेष्ठले जानकारी दिए ।
उद्योगमा उत्पादित जुस तनहुँको खैरेनीटार, दुलेगौडा, दमौली, कावासोती, काठमाडाँैलगायत शहरका अधिकांश आयुर्वेदिक पसलहरुमा सजिलै रुपमा पाउन सकिने उनले बताए ।
सात सय मिलिलिटर बोतलको रु २१० र ३०५ मिलिलिटर बोतलको रु १२५ खुद्रा मूल्य कायम गरिएको छ । शुरुमा उद्योग सञ्चालनमा ल्याउन रु आठ लाख ८५ हजार लगानी गरिएको थियो ।
हरियो वन केयर नेपालले रु ३० लाख, डिभिजन वन कार्यालयले रु पाँच लाख, म्याग्दे गाउँपालिकाले करीब रु दुई लाख र घरेलु तथा साना उद्योग विकास समितिबाट रु ९५ हजार सहयोग प्राप्त भएको थियो ।
म्याग्दे गाउँपालिका–२ स्थित साठीमुरेमा रहेको करीब दुई रोपनी सार्वजनिक जग्गा गाउँपालिकाले उपलब्ध गराएपछि करीब रु १३ लाख खर्चेर उद्योगको भवन निर्माण गरिएको उद्योग व्यवस्थापन समितिका सचिव कमला शाहीले बताए ।
छ वटै सामुदायिक वनको प्रतिनिधि रहने गरी ११ सदस्यीय व्यवस्थापन समिति गठन गरिएको छ । डिभिजन वन, घरेलु, उद्योग वाणिज्य सङ्घ र सामुदायिक वन महासङ्घ समितिका पदाधिकारीहरु रहने गरी सल्लाहकार समिति गठन गरिएको छ ।
पराम्पराकालदेखि नै वनमा रहेका बेलका रूख काटेर दाउरामा प्रयोग गर्ने गरिए पनि अहिले बेलका रूख काट्न प्रतिबन्ध लगाइएको व्यवस्थापन समितिका अध्यक्ष केशबहादुर रानाभाटले जानकारी दिए ।
सिद्धबतासना सामुदायिक वनमा चार वर्षअघि १६ हजार बेलका बिरुवा लगाइएको थियो । सोही वनमा १६ हजार चापका बिरुवासमेत रोपिएको छ । उनले भने, “हरियो वन केयर नेपालले वनमा वृक्षरोपण गर्नुपर्छ भन्ने बानीको विकाससमेत गराएको छ ।”
विसं २०७२ मा उद्योग स्थापना गरिए पनि भवन निर्माणका लागि केही समय रोकिन पुगेको थियो भने भूकम्पपछि कोरोनाले पनि काम गर्न बाधा पु¥याएको व्यवस्थापन समितिले जनाएको छ ।
समितिले चार वर्षसम्म आएको मुनाफाको ८० र चार वर्षपछि २० प्रतिशत कोषमा राख्ने त्यसपछि बाँकी रहेको सामुदायिक वनलाई बाँडफाँट गर्ने योजना छ । उद्योग शुरु गरेयता करीब रु आठ लाख मुनाफा कमाएको बताइएको छ ।