काठमाडौँ / सेयर बजार ११.१० अङ्कले घटेको छ । बुधबार ५२.३६ अङ्कले बढेर २६६५.४५ बिन्दुमा पुगेको नेप्से परिसूचक आज घटेर २६५४.३५ बिन्दुमा झरेको हो । यसैगरी, सेन्सेटिभ इन्डेक्स १.९९ अङ्कले घटेर ४४६.८१ बिन्दुमा झरेको छ भने फ्लट इन्डेक्स ०.७९ अङ्कले घटेर १७८.९४ बिन्दुमा झरेको छ ।
यसैगरी सेन्सेटिभ फ्ल्ट इन्डेक्स ०.७६ अङ्कले घटेर १४९.०१ बिन्दु कायम भएको छ । यो दिन ८६ कम्पनीको सेयर मूल्य बढ्दा १४९ ओटाको घटेको छ । त्यस्तै, ८ ओटा कम्पनीको सेयर मूल्य भने स्थिर रह्यो । बिहीबार ३१८ धितोपत्रको १ करोड ५१ लाख ४ हजार ३३ कित्ता सेयर खरिद बिक्री भएको छ ।
बुधबार सेयर बजार उच्च रूपमा बढेसँगै बिक्रीकर्ता हाबी हुँदा यो दिन नेप्से घटेको छ । नेप्सेसँगै कारोबार रकम पनि आज घटेको छ । बुधबार ९ अर्ब २० करोड ३० लाख ८८ हजार रुपैयाँ बराबरको कारोबार भएकोमा आज घटेर ७ अर्ब ८५ करोड ७७ लाख ९२ हजार रुपैयाँ कायम भएको छ ।
यो दिन विकास बैंक र उत्पादन तथा प्रशोधन समूहको सूचकमा झिनो सुधार देखिए पनि अधिकांश सेक्टरमा पहिरो गएको छ । यस दिन वित्त समूहका लगानीकर्ताले सबैभन्दा बढी २.४३ प्रतिशतले गुमाएका छन् । त्यस्तै, निर्जीबन बिमा समूहको परिसूचक ०.७३ प्रतिशत, लगानी समूह ०.७९ प्रतिशत, होटल्स तथा पर्यटन समूह ०.७८ प्रतिशत, बैंकिङ समूहको परिसूचक ०.६१ प्रतिशत र हाइड्रोपावर समूहको सूचक ०.५५ प्रतिशतले घटेको छ । अन्य सबै समूहको सूचक पनि आज घटेका छन् ।
घटेको बजारमा यो दिन तीन कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ । सामुदायिक लघुवित्त वित्तीय संस्था, कर्पोरेट डेलभपमेन्ट बैंक र सिकलेस हाइड्रोपावर लिमिटेडको सेयर मूल्यमा आज पोजेटिभ सर्किट लागेको हो ।
त्यस्तै, सप्तकोशी हाइड्रोपावर र धौलागिरी लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य पनि आज ९ प्रतिशतभन्दा बढीले बृद्धि भएको हो ।
यता, दुई कम्पनीको सेयर मूल्यमा भने नेगेटिभ सर्किट लागेको छ । सुपरमादी हाइड्रोपावर र मन्दाकिनी हाइड्रोपावरको सेयर मूल्य १० प्रतिशतले घटेको हो ।
बिहीबार सप्तकोशी डेभलपमेन्ट बैंकको कारोबार रकम सर्वाधिक बढी छ । यो कम्पनीको ३० करोड ८९ लाख २९ हजार रुपैयाँको सेयर कारोबार भएको हो ।