गलकोट नगरपालिका - 'एग्रो टुरिज्म’ सपना

गलकोट नगरपालिका - 'एग्रो टुरिज्म’ सपना

अर्थ डबली
सोमवार, आषाढ २८ २०७८
अर्थ डबली
सोमवार, आषाढ २८ २०७८ (अर्काइभ बाट)
  • गलकोट नगरपालिका - 'एग्रो टुरिज्म’ सपना

    गलकोट कृषि पर्यटन ‘एग्रो टुरिज्म’ विकासको सपना बोकेर गलकोटमा बृहत बहुउद्देश्यीय कृषि फार्म सञ्चालन गरिएको छ । गलकोट नगरपालिका–५ हरिचौरका ३९ वर्षका टोपबहादुर खत्री र गलकोट–७ मल्मका छुमबहादुर थापा मिलेर साझेदारीमा फार्म सञ्चालन गरेका हुन् । 

    images
    images

    खत्री १८ वर्ष हटिया बजारमा फोटोग्राफी व्यवसाय गर्दै आएका थिए भने थापा १९ वर्ष भारतीय सेनाका अवकास प्राप्त सैनिक हुन् ।  कोरोना कालमा धेरै व्यापार व्यवसाय बन्द भए पनि आफूलाई भने यही बेलामा व्यावसायिक फार्मको सोच आएको खत्रीले बताए । बन्द, हड्ताल, निषेधाज्ञामा असर नगर्ने भएकाले कृषि पेशा अगाल्ने योजना बनाइएको उनको भनाइ छ । 


    अठार वर्षको फोटोग्राफर व्यवसाय त्यागेर उनले हरिचौरको केही आफ्नै र केही रोपनी भाडाको जग्गामा बहुउदेश्यीय कृषि फार्म सञ्चालनमा ल्याएका छन् । भारतीय जलसेनामा हबल्दार पदमा अवकास प्राप्त थापाले सामान्य किराना पसल सञ्चालन गर्दै आउनुभएको थियो । खत्री र थापा नाताले भिनाजु साला हुन् । 

    गत माघदेखि संयुक्त लगानीमा उहाँहरुे २४ रोपनी जग्गामा रु एक करोड भन्दा बढीको लागतमा कृषि फार्म सञ्चालनमा ल्याएसँगै उत्साहित पनि हुन् ।  गलकोट–६ को मजुवा फाँटमा फैलिएको दरमखोला एग्रिकल्चर एण्ड लाइभस्टक फार्ममा पाँच तरकारी टनेल, हाँस ४००, बट्टाई ५००, लोकल कुखुरा ३००, माछा पाँच हजार र बङ्गुर १०७ छन् । तरकारी र बट्टाईका अण्डाले आम्दानी हुन थालेको कृषि फार्मले अन्य उत्पादन बढाउँदै लैजाने उद्देश्य राखेको छ । 

    उनीहरुले गत माघदेखि दरमखोला एग्रिकल्चर एण्ड लाइभस्टक फार्म सञ्चालनमा ल्याएका हुन् । अहिले कृषि फार्मलाई एग्रो टुरिज्मको हब बनाउने गरी पसल छाडेर साथ दिएको फार्मका सञ्चालक थापाले बताए । 

    “१८ वर्ष गलकोटमा फोटोग्राफी व्यवसाय गर्दै आएको थिए, अलि वृहत कृषि फार्म सञ्चालन गर्ने योजना पलायो”, सञ्चालक खत्रीले भने  “कृषि पेशा नै दीर्घकालीन होला भन्ने लाग्यो, कृषि रिसोर्टसहित कृषि पर्यटनसँग जोड्ने लक्ष्यसहित भिनाजुसँग मिलेर फार्म सञ्चालन गरेका हौं, हाम्रो योजना अनुसार फार्मलाई अझै ७५ प्रतिशत विकास र विस्तार गर्ने लक्ष्य छ, अहिले विस्तार र परीक्षणका क्रममा छौं भने केही कृषि तथा पशु उत्पादनलाई बजारिकरण समेत शुरु गरिसकेका छौं ।”

    उनका अनुसार उक्त फार्मभित्रै एग्रो रिसोर्ट सञ्चालन गर्ने लक्ष्य छ । फार्ममै २० जना भन्दा बढीलाई रोजगारी दिने उद्देश्य छ । अहिले आठ रोपनी आफ्नै जग्गा र अन्य जग्गा १५ वर्षलाई वार्षिक रु एक लाख ५० हजार भाडामा जग्गा लिएर फार्म सञ्चालनमा ल्याइएको उनले बताए ।  अहिले फार्ममा तीन जनालाई रोजगारी दिइएको छ । 

    भारतीय सेनाबाट अवकासपछि सानो पसल सञ्चालन गर्दै आएका अहिले सालाको योजनामा कृषि फार्ममा लगानी गरेको अर्का सञ्चालक थापाले बताए ।  

    फार्ममा ग्रास काप, नैनी प्रजातिका छ हजार माछा हुर्किरहेका छन् । माछालाई आगामी भदौमा बजार पठाउने तयारी रहेको सञ्चालक खत्रीले जानकारी दिए ।  

    कुखुरा, अण्डा, चल्ला, बङ्गुरका पाठापाठी, माछालगायतका अनेकौं पशुपक्षी तथा तरकारी उत्पादन गरी गलकोट बजारमा बिक्री गर्ने र एग्रो रिसार्ट सञ्चालनपछि त्यहाँ आएका पर्यटकलाई लक्षित गरी व्यापार गर्ने उनीहरुको लक्ष्य छ । खेमराज गौतम

    साताको लोकप्रीय