काठमाडौँ / नेपाल आयाल निगमले पेट्रोलको भाउ बढाएको छ भने डिजेल र मट्टितेलको भाउ घटाएको छ । निगमले आज राति १२ बजेदेखि लागु हुनेगरी पेट्रोल, डिजेल र मट्टितेलको मूल्य समायोजन गरेको हो ।
खाना पकाउने एलपी ग्यास र हवाई इन्धनमा भने मूल्य यथावत् राखिएको छ । समायोजित मूल्य अनुसार पेट्रोलको मूल्य प्रतिलिटर २ रुपैयाँ बढेको छ भने डिजेल र मट्टितेल प्रतिलिटर २ रुपैयाँले घटेको छ ।
योसँगै अब काठमाडौँ, पोखरा र दीपायल डिपो अन्तर्गतका पेट्रोल पम्पमा पेट्रोल हाल्दा प्रतिलिटर १६२ रुपैयाँ पर्नेछ भने डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर १५१ रुपैयाँ तोकिएको छ ।
यसैगरी, चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलबारी, नेपालगञ्ज, धनगढी र वीरगञ्ज डिपोमा पेट्रोल १५९ रुपैयाँ ५० पैसा र डिजेल मट्टितेल १४८ रुपैयाँ ५० रुपैयाँ पर्ने निगमले जनाएको छ ।
सुर्खेत र दाङ डिपो अन्तर्गतको क्षेत्रमा पेट्रोल १६१ रुपैयाँ र डिजेल तथा मट्टितेल १५० रुपैयाँ कायम भएको छ ।