काठमाडौँ / हिमालयन बैङ्क लिमिटेडले भवन निर्माणको लागि शिलान्यास गरेको छ । बैङ्कले काठमाडौँ महानगरपालिका वडा नं २२, खिचापोखरी, न्यूरोडस्थित बैङ्ककै जग्गामा असोज १२ गते शुक्रबार भवन निर्माणको लागि शिलान्यास गरेको हो ।
बैङ्कका अध्यक्ष प्रचण्ड बहादुर श्रेष्ठले भवन निर्माणको शिलान्यास तथा विशेष पूजा गरेका थिए । उक्त विशेष समारोहमा बैङ्कका सञ्चालकहरू, प्रमुख कार्यकारी अधिकृत, उच्चपदस्थ कर्मचारीहरू लगायत अन्य कर्मचारीहरूको उपस्थिति थियो ।
उक्त समारोहमा बैङ्कका अध्यक्ष श्रेष्ठले बैङ्कले सो भवन निर्माणको लागि शिलान्यास गर्न पाउँदा खुशी व्यक्त गरे । सो अवसरमा उनले देशका विभिन्न प्रमुख शहरहरू जस्तै इटहरी, विरगंज, भैरहवाबाट बैङ्कले आफ्नै भवनबाट ग्राहकहरूलाई सेवा प्रदान गर्दै आइरहेको छ भने काठमाडौँको दरबारमार्गमा पनि भवन निर्माण अन्तिम चरणमा पुगेको जानकारी गराए ।
त्यस्तै, बैङ्कले भरतपुर र नेपालगन्जमा पनि निकट भविष्यमा आफ्नै भवन निर्माण गरि ग्राहकहरूलाई सेवा प्रदान गर्ने योजना रहेको बताए । सो अवसरमा बैङ्कका प्रमुख कार्यकारी अधिकृत अशोक शम्शेर राणाले भवन निर्माण पश्चात् बैङ्कले आफ्नै भवनबाट आफ्ना ग्राहकहरूलाई विशेष तथा परिष्कृत बैङ्किङ्ग सेवा–सुबिधा प्रदान गर्ने उद्देश्य राखेको बताए । यसबाट बैङ्कका ग्राहकहरूलाई थप सुविधा प्राप्त हुने विश्वास व्यक्त गरे ।
हाल बैङ्कले देशभरी रहेका १७६ शाखा, २६८ एटिएम, २० विस्तारित काउन्टर तथा १७ हजारभन्दा बढी विप्रेषण भुक्तानी केन्द्रहरूबाट ग्राहकहरूलाई सेवा प्रदान गर्दै आइरहेको छ ।