काठमाडौँ / नेकपा (एमाले) का नेता एवं पूर्वमन्त्री महेश बस्नेतले रवि लामिछाने, कुलमान घिसिङ, दुर्गा प्रसाईँ, बालेन शाहलगायतलाई ‘पपुलिस्ट’ को संज्ञा दिएका छन् ।
आज (मंगलबार) काठमाडौँमा आयोजित साक्षात्कार कार्यक्रमलाई सम्बोधन गर्दै उनले रवि, बालेन, कुलमानलगायतले पपुलिजमको आडमा सामाजिक सञ्जालमार्फत अराजकता मच्चाइरहेको बताएका हुन् ।
यिनै पुपुलिस्टहरूको कारण गत २०७९ को प्रतिनिधि सभा सदस्य निर्वाचनमा एमालेका शंकर पोखरेल, प्रदीप ज्ञवाली, महेश बस्नेतलगायतका नेताहरू चुनावमा पराजित हुने अवस्था बनेको उनले स्मरण गरे ।
अहिले यिनै पपुलिस्ट शक्तिहरूले कांग्रेसका महामन्त्री गगन थापा, विश्वप्रकाशलगायतका नेताहरूमाथि आक्रमण गरिरहेको नेता बस्नेतको दाबी छ । पुराना दलहरू काम नलाग्ने भए भनेर आरोप लगाउँदै उदय भएका पपुलिस्ट शक्तिहरू अहिले काम नलाग्ने प्रमाणित भइसकेको उनको दाबी छ ।
साथै, नेता बस्नेतले रास्वपाका सभापति, पूर्व उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेलाई ‘पर्यटक सहकारी ठग’को संज्ञा दिए । ६७ करोड मात्रै नभएर लामिछानेले डेढ अर्बभन्दा बढी हिनामिना गरेको उनको आरोप छ ।
‘उहाँ अहिले सहकारी पर्यटक ठगजस्तो हुनुभएको छ । सात वटा जिल्लामा उहाँको मुद्दा चलेको छ । ६७ करोडमात्रै होईन डेढ अर्ब हिनामिना भएको भन्ने कुरा आएको छ । हुण्डीबाट अमेरिकामा पैसा पठाएको भन्ने कुरा आएको छ । प्रहरीले अनुसन्धान गर्ने क्रममा धेरै कुरा खुल्नमा आएको छ,’– उनले भने ।
साथै, उनले कांग्रेस उपसभापति धनराज गुरूङको सम्बन्धविच्छेद प्रकरणबारे पनि छानविन भइरहेको बताए । उनले वर्तमान सरकारले धनराजलाई पनि अनुसन्धानको दायरामा ल्याइसकेको बताउँदै भ्रष्टाचारीहरू कसैले पनि उन्मुक्ति नपाउने बताए ।
‘कतिपय सन्दर्भमा धनराजजीको कुरा आएको छ । उहाँको श्रीमतीसँगको डिभोर्स फेक हो कि के हो भन्ने कुरा अनुसन्धान भइरहेको छ । उहाँलाई पनि अनुसन्धानको दायरामा ल्याएको छ । बयान लिइसकेको छ,’– उनले भने ।
सबै सहकारी ठगहरूलाई अनुसन्धानको दायरामा ल्याउन र संसदीय विशेष समितिको प्रतिवेदन कार्यान्वयन गर्ने क्रममा सरकार प्रतिवद्ध रहेको उनले बताए ।
त्यस्तै, साइबर अपराधमा प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सिआईबी) को नियन्त्रणमा रहेका मेडिकल व्यसायी दुर्गा प्रसाईलाई उनले ‘अपराधिक ब्याकग्राउन्ड भएका अराजकतावादी’ को संज्ञा दिए । आफूहरूले प्रसाईँको अराजकताबारे पटक-पटक बोल्दै प्रहरीले धेरै गम्भीरतापूर्वक नलिएको बताए । प्रसाईँले प्रधानमन्त्री केपी शर्मा ओलीको कम्बोडियाको एक्जियटा कम्पनीमा ३२ अर्ब लगानी रहेको भ्रम फैलाएर आगामी मंसिर ७ गतेको कार्यक्रमलाई हिंश्रक बनाउन खोजेको नेता बस्नेतको आरोप छ ।
‘आज पछिल्लो बेलामा विशेष गरेर प्रधानमन्त्रीको कम्बोडियाको एक्जियटामा ३२ अर्बको लगानी छ भन्ने फेक डकुमेन्ट उनले प्रस्तुत गरे । प्रधानमन्त्रीले नाम केपी शर्मा ओली लेख्नुहुन्छ । त्यहाँ खड्का प्रसाद ओली भनेर लेखिएको छ । न हस्ताक्षर मिल्छ ? यो सबै कुरालाई फेक डकुमेन्ट बनाएर प्रधानमन्त्री र एमालेको बदनाम गर्ने र मंसिर ७ गते कार्यक्रम गर्छु भन्ने बहानामा त्यसलाई हिंश्रक बनाउन खोजियो,’– उनले भने ।
साथै, प्रसाईँले योजना बनाएर आफ्ना डिफेन्सर प्रयोग गरी अभियन्ता पुण्य गौतमको हत्या गराउने नियतले आक्रमण गराएको उनको आरोप छ । प्रसाईँले उनको विरूद्ध फरक मत राख्ने गभर्नरदेखि प्रहरी अधिकारीसम्मलाई भारतीय नम्बर प्रयोग गरेर धम्क्याएको नेता बस्नेतले बताए ।
नेता बस्नेतले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई ‘लोकप्रियताको जगमा आफूलाई भ्रष्ट छवि बनाइरहेका व्यक्ति’ को रूपमा चित्रण गरे । पाटन उच्च अदालतले कुलमानले २ अर्ब १५ करोड उहाँको ठेक्का प्रक्रिया अनियमित गरेको भनी फैसला गरिसकेको उनको दाबी छ । कुलमान प्राधिकरणको एमडी भएदेखि नै उनका दाजुभाइ संलग्न भएका कम्पनीले मात्रै प्राधिकरणका ठेक्का पाइरहेको उनको आरोप छ ।
‘कुलमान घिसिङ लोकप्रियताको जगमा आफूलाई भ्रष्ट छवि बनाइरहेका व्यक्ति हुन् । यो कुरामा कुनै डाउट रहेन । यो कुरा हिजो भन्दा हामीमाथि साथीहरूले आलोचना गर्नुभएको थियो । आज पाटन उच्च अदालतले २ अर्ब १५ करोड उहाँको ठेक्का प्रक्रिया अनियमित हो भनेर फैसला गरेको स्थिति छ । उहाँ एमडी भएदेखि नै उहाँका दाजुभाइ जोडिएका कम्पनीबाहेक अरू कुनै पनि कम्पनीले ठेक्का प्राप्त गरेका छैनन्,’– नेता बस्नेतले भने ।
विद्युत प्राधिकरणमा कार्यरत तलका हाकिमहरूलाई तार किन्ने, विद्युतको पोल गाड्ने र मर्मत गनेसम्मका अधिकार भएपनि कुलमानले केन्द्रीकृत गरेर सामुहिक रूपमा ठेक्का गरिरहेको नेता बस्नेतको आरोप छ । कुलमानको एक जना भाइले लामा कन्स्ट्रक्सनको ३० प्रतिशत शेयर किनेर साँगादेखि बनेपासम्मको ठेक्का लिएको नेता बस्नेतले बताए ।
साथै, कुलमानका राजनीतिक संरक्षकहरू तत्कालीन शासक प्रचण्डलगायतलाई उक्त ठेक्कावापत १४ करोड रकम बुझाइएको नेता बस्नेतको आरोप छ । कुलमानले ठेक्का प्रक्रियाका लागि ३५ वटा भन्दा बढी कम्पनी दर्ता गरेको, सोसल मिडिया र युट्युवहरूलाई आफ्नो पक्षमा परिचालन गरेको र आफ्नो दम्भको कुनै सीमा नै नराखी अराजकता मच्चाएको उनको आरोप छ ।
साथै, ट्रान्समिसन लाइनको डिपिआर हेरेर कुलमानले आफ्ना मान्छेहरूलाई सस्तोमा जग्गा खरिद गर्न लगाउने र पछि त्यही जग्गा महँगोमा प्राधिकरणले खरिद गर्नेगरेको उनको आरोप छ । कुलमानको लगानी रहेको १२ वटा हार्डवेयर पसलहरू रहेको, कुलमानका दाजुभाइहरूले त्यसलाई सञ्चालन गरेको र हाइड्रो पावरहरूमा आफ्नै हार्डवेयर पसलबाट सामान खरिद गर्न बाध्य बनाइने गरिएको नेता बस्नेतको आरोप छ ।
कुलमानको यी विषय अख्तियार दुरूपयोग अनुसन्धान आयोगदेखि सार्वजनिक लेखा समितिको विषय बनिसकेको उनले बताए । उनले कुलमान भ्रष्टाचारमा रमाइरहेको टिप्पणी गरे । ‘कुलमानजी पपुलरारिटीको आडमा नेपाली जनताको सम्पत्तिमाथि भ्रष्टाचार गरिरहेका छन् । अकुत सम्पत्ति कमाइरहेका छन्, गडबड गरिरहेका छन् । यो कुरा हामीले भन्न सक्नुपर्छ । यसलाई उजागर गर्नसक्नुपर्छ,’– नेता बस्नेतले भने ।
साथै, डेडिकेटेड टंङ्क लाईनको बक्यौता विवादका सन्दर्भमा लाल आयोगको प्रतिवेदनअनुसार अगाडि बढ्नुपर्ने उनले बताए । त्यस्तै, काठमाडौं महानगरपालिका प्रमुख बालेन्द्र शाहलाई उनले ‘तोडफोडका नेता’ को संज्ञा दिए । उनले बालेन पनि विभिन्न भ्रष्टाचारमा संलग्न रहेको आरोपलगाए ।
‘बालेनजी तोडफोडका नेता हुन् । बालेनजीका समर्थक र शुभचिन्तकहरू जो हिजो हामीसँग बोल्न चाहन्थेनन्, आज उहाँहरू हामीलाई भेटिरहेका छन् । के गर्नु दाई, हामीलाई बर्बाद पार्यो भनिरहेका छन्,’– उनले भने ।
बालेनको दम्भ, घमण्ड निकै बढिरहेको, आफ्ना निश्चित व्यक्तिहरूलाई लाभ हुने काम गरिरहेको, काठमाडौं प्लाजादेखि लिएर धेरै ठाउँमा अनियमितताको कुरा उठिरहेको, ध्वंसबाहेक निर्माणका काम केही नरेको उनले बताए । बालेनकै एस म्यानहरूले दलहरू नै बलियो भएर जानुपर्ने सुझाव दिइरहेको उनले बताए ।