राष्ट्रिय वाणिज्य बैङ्कको वार्षिकोत्सव सम्पन्न, बैङ्कको सुधारका लागि सरकार उदार भएको अर्थमन्त्रीको दावी

राष्ट्रिय वाणिज्य बैङ्कको वार्षिकोत्सव सम्पन्न, बैङ्कको सुधारका लागि सरकार उदार भएको अर्थमन्त्रीको दावी

बिहिवार, माघ ११ २०८०
बिहिवार, माघ ११ २०८०
  • images
    images
    राष्ट्रिय वाणिज्य बैङ्कको वार्षिकोत्सव सम्पन्न, बैङ्कको सुधारका लागि सरकार उदार भएको अर्थमन्त्रीको दावी

    काठमाडौँ / राष्ट्रिय वाणिज्य बैङ्क लिमिटेडको ५९औँ वार्षिकोत्सव समारोह अर्थमन्त्री डा. प्रकाशशरण महतको प्रमुख आतिथ्यतामा बुधबार एक समारोहकाबीच सम्पन्न भएको छ । 

    कार्यक्रममा अर्थमन्त्री महतले गतवर्ष भन्दा यो वर्ष अर्थतन्त्र राम्रो भैसकेको बताउँदै सीमित साधन स्रोतबाट बढी भन्दा बढी प्रतिफल प्राप्त गर्ने दिशामा लाग्नुपर्ने आवश्यकता रहेको बताए । 

    अहिले राष्ट्रिय वाणिज्य बैङ्क राम्रो अवस्थामा रहेको बताउँदै बैङ्क तथा वित्तीय संस्थाहरूले उत्पादनमूलक क्षेत्रमा लगानी गरी आर्थिक विकासमा थप योगदान गर्नुुपर्ने बताए । उनले सरकारले बैङ्कको सुधारका लागि उदार भएर कार्य गर्ने गरेको समेत बताए । सो अवसरमा अर्थमन्त्री महतले बैङ्कको थापाथली शाखाको नवनिर्मित भवनको उद्घाटन गरेका थिए । 

    साथै, उनले कार्यक्रममा बैङ्कको ५९औँ वार्षिकोसत्वको अवसरमा प्रकाशन गरिएको विशेषाङ्क स्मारिका उपहार–२०८० विमोचन गरेका थिए । कार्यक्रममा पूर्वकर्मचारी सम्मान कार्यक्रम, उत्कृष्ट शाखा कार्यालय, सर्वोत्कृष्ट/उत्कृष्ट बैङ्क सेवा पुरस्कार घोषणा गरिएको थियो । 

    कार्यक्रममा नेपाल राष्ट्र बैङ्कका गभर्नर महाप्रसाद अधिकारीले अर्थतन्त्र सुधार हुँदै गएको बताउँदै अर्थतन्त्रमा राष्ट्रिय वाणिज्य बैङ्कको महत्त्वपूर्ण योगदान हुने गरेको बताए । नेपाल राष्ट्र बैङ्कले लिने नीति समग्र अर्थतन्त्रको विकासको लागि हुने र राष्ट्र बैङ्कले ल्याउने नीति अग्रणी रूपमा राष्ट्रिय वाणिज्य बैङ्कले कार्यान्वयन गर्ने गरेको बताए । 

    बैङ्क सञ्चालक समितिका अध्यक्ष दिलीप कुमार ढुङ्गानाले बैङ्किङ क्षेत्रमा बढ्दै गएको प्रतिस्पर्धात्मक वातावरण तथा तीव्र रूपमा ग्राहकका आकाङ्क्षाहरू परिवर्तन भइरहेको सन्दर्भमा यस बैङ्कले ठुला उद्यमी तथा साना व्यवसायीदेखि सबै प्रकारका ग्राहकका आकाङ्क्षालाई सम्बोधन गर्ने गरी बैङ्किङ सेवा सुविधाहरूमा गुणस्तरीयता अभिवृद्धि गर्दै अझ बढी विश्वसनीय, सुरक्षित, प्रविधियुक्त तथा ग्राहकमैत्री बनाउन प्राथमिकताका साथ कार्य गरिरहेको बताए । 

    बैङ्कका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले बैङ्कको वर्तमान स्थिति र समग्र योजनाको बारेमा जानकारी गराउँदै बैङ्कले आफ्ना सम्पूर्ण श्रोतहरूको उच्चतम उपयोग गरी बैङ्कको समग्र उत्पादकत्वमा वृद्धि गर्न आवश्यक कदमहरू चालेको छ । 

    बैङ्कका ग्राहकहरूलाई पनि गुणस्तरीय सेवा प्रदान गर्न बजारको माग अनुसारको सम्पूर्ण सेवा तथा सुविधाहरू उपलब्ध गराउँदै आएको छ । साथै, कर्जाको गुणस्तर, कर्मचारीको वृत्ति विकास र दिगो व्यावसायिक विकासका लागि पनि उचित कदमहरू उठाइएका छन् । बैङ्कले प्रविधिको स्तरोन्नतिको लागि आइटी इन्हान्समेन्ट रोडम्यापलाई अगाडि बढाएको छ । 

    सो प्रोजेक्ट हाल बैङ्कमा प्रयोगमा रहेको कोर बैङ्किङ सफ्टवेयर (सिबिएस)लाई प्रतिस्थापन गरी अत्याधुनिक कोर बैङ्किङ सिस्टमको खरिद गरी कार्यान्वयनमा ल्याउने प्रक्रियामा रहेको छ । 

    उनले बैङ्कका सम्पूर्ण प्रक्रियाहरू, कार्यविधि एवम् पद्धतिहरूलाई सुधार गरी बैङ्कको काम कारवाही छिटो, छरितो र स्तरिय बनाउन बिजनेस प्रोसेस रि–इन्जिनियरिङको प्रोजेक्ट अगाडि बढाई क्रमशः कार्यान्वयन गर्दै लगिएको छ ।

    सरकारी पाराको आरोपलाई हदैसम्म हटाई बैङ्कलाई हरेक पक्षबाट सुदृढ, सबल र ग्राहकमैत्री बनाउने योजना रहेको बताए । उनले २०८० पुस मसान्तसम्म बैङ्कले ३ खर्ब ३७ अर्ब रुपैयाँ निक्षेप सङ्कलन गरी २ खर्ब ५६ अर्ब रुपैयाँ कर्जा लगानी गरेको बताए । 

    News1.JPG

    कार्यक्रममा पूर्व गभर्नर एवं बैङ्कका पूर्व कार्यकारी अध्यक्ष डा. तिलक रावल, बैङ्कमा क्रियाशिल तीन वटै ट्रेड युनियनका अध्यक्षहरू क्रमशः रा.वा.बैङ्क कर्मचारी संघ नेपालका अध्यक्ष लक्ष्मीप्रसाद पाण्डेय, नेपाल वित्तीय संंस्था कर्मचारी संघ, रा.वा. बैङ्कका अध्यक्ष ईश्वरबहादुर सिंह, नेपाल राष्ट्रिय कर्मचारी सङ्गठन, रा.वा. बैङ्कका अध्यक्ष दिपेन्द्र कार्की, रा.वा.बैङ्क पूर्व कर्मचारी संघका अध्यक्ष दिनेशविक्रम थापाले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । 

    ५९ वर्ष अघि २०२२ साल माघ १० गते मुलुकको आर्थिक क्षेत्रकोे विकासमा टेवा पु¥याउने उद्देश्यका साथ स्थापना भएको यो बैङ्कसँग कारोवार गर्ने कुल ग्राहकको सङ्ख्या करिब ४१ लाख पुगेको छ भने भौगोलिक उपस्थितिको हिसाबले ७ वटै प्रदेशका ७७ वटै जिल्ला र सबै जिल्ला सदरमुकाममा समेत गरी जम्मा २८६ शाखा कार्यालयहरू सञ्चालनमा रहेका छन् । डिजिटल बैङ्किङ्ग क्षेत्रमा समेत बैङ्कले उल्लेखनीय फड्को मारेको छ । 

    ५९ औँ वार्षिकोत्सवको अवसरमा गत माघ ५ गते आयोजना गरिएको रक्तदान कार्यक्रममा देशैभरिबाट ४७७ जना रक्तदाताहरूले रक्तदान गरेका थिए । साथै काठमाडौँ तथा सातै प्रादेशिक कार्यालयहरूले वित्तीय साक्षरताका लागि प्रभातफेरी कार्यक्रम गरिएको थियो । 

    कार्यक्रममा शेयरधनीहरू, नेपाल राष्ट्र बैङ्कका कार्यकारी निर्देशकहरू, बैङ्क सञ्चालक समितिका सदस्यहरू, पूर्व अध्यक्षहरू, पूर्व प्रमुख कार्यकारी अधिकृतहरू, विभिन्न संस्थानहरूका प्रमुखहरू, बैङ्कका नायव प्रमुख कार्यकारी अधिकृतहरू, उपकार्यकारी अधिकृतहरू, विभागीय प्रमुखहरू, शाखा प्रबन्धकहरू लगायत कर्मचारीहरूको भव्य उपस्थिति रहेको थियो ।  

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार