काठमाडौँ / सैनिक मञ्च टुँडिखेलमा अश्वकला प्रदर्शनीसहित घोडेजात्रा समारोह सम्पन्न भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलको प्रमुख आतिथ्यमा सम्पन्न समारोहमा टांगन घोडा दौड, चार्जर घोडा दौड, टेन्ट पेगिङ्ग, क्रस टेन्ट पेगिङ्ग, शो-जम्प, म्युजिकल राइडका साथै सैनिक डगहरुको कला प्रदर्शन समावेश गरिएको थियो ।
समारोहमा राष्ट्रपति पौडेलले म्युजिकल राईडमा प्रथम र द्वितीय हुने उप सेनानी प्रसिद्ध बानिया र उप सेनानी निरोज थापा तथा सो-जम्पमा प्रथम र द्वितीय हुने सह सेनानी अशोक खकुरेल र प्युठ ओम प्रकाश यादवलाई पुरस्कार प्रदान गरेका थिए ।
उक्त समारोहमा उपराष्ट्रपति, प्रधानमन्त्री, प्रधान न्यायाधीश, राष्ट्रिय सभाका अध्यक्ष, प्रतिनिधि सभाका सभामुख, मन्त्रीहरू, विभिन्न संवैधानिक निकायका प्रमुखहरू, नेपाल सरकारका सचिवहरू, अन्य सुरक्षा निकायका प्रमुखहरू, राजदूतहरू, विभिन्न मुलुकका सैनिक सहचारीहरू, सैनिक तथा गैर सैनिकहरू, सञ्चारकर्मीहरू एवं सर्वसाधारणसमेत उपस्थित भएका थिए ।