बालबालिका न हुन्, घरबारविहीन भई खुला आकाशमुनि आउँदा पनि निस्फिक्री जीवन बाँचिरहेका छन् । न छानाको चिन्ता छ न मानाको । चिन्ता छ त केवल ‘खरानीको घर’ अरुको भन्दा राम्रोसँग कसरी ठड्याउने ! यही वैशाख १२ गते आगलागीबाट एक सयभन्दा बढी घर जलेर खरानी भएका महोत्तरीको मटिहानी–६ को जरलहवागाछी बस्तीमा अहिले यस्तै दृश्य देखिन्छन् ।
घरबास कहिले उठ्ने हुन् अहिलेसम्म टुङ्गो छैन तर त्यहाँका अबोध बालबालिका भने घर जलेकै ठाउँमा ‘खरानीको घर’ बनाउने खेलमा व्यस्त छन् । खरानी मुछेर दिनमा कैयन पटक घर बनाउँछन्, भत्काउँछन् । अनि एकअर्कालाई भन्छन्, “याह देख, हम त देवाल ठार कदेली (यी हेर, मैले त पर्खाल ठड्याएँ)।”
अचेल हरेक दिन स्थानीय अभिभावकले यस्तै दृश्य देख्नुपरेको छ । बालबालिकाका लागि रमाइलो खेल भएपनि देख्नेका लागि वैशाख १२ को कहालीलाग्दो दृश्य सम्झाएर पलपलमा मन छियाछिया बनाउने कारण बनिरहेका छन यी दृश्य ।
आगलागीबाट क्षतिग्रस्त वडासँग जोडिएको छिमेकी बस्तीका मोहम्मद इसराफिल राइन घर जलेर बनेको खरानीको सहारामा सपनाको घर सजाउने बालबालिकाको क्रियाकलाप हेरेर आफूले पनि आँशु रोक्न नसकेको बताउँछन्।
महोत्तरीको मटिहानी–६ को जरलहवागाछीमा यही वैशाख १२ गते आगलागीबाट घर नष्ट भएपछि खुला आकाशमुनि सुतेका बालबालिका । जरलहवागाछी बस्तीमा आगलागी हुँदा १०० भन्दा बढी घर जलेर नष्ट भएको थियो ।
तस्बिरः गोपालप्रसाद बराल, रासस