ग्रील तथा स्टील व्यवसायी महासंघ, नेपालले बृहत बनभोज तथा सांगितिक कार्यक्रम सम्पन्न गरेको छ ।
कार्यक्रममा महासंघ अन्तर्गत प्रदेश समिति, जिल्ला समिति, क्षेत्रीय समिति, एरिया समितिका पदाधिकारी तथा सदस्य एवं चार सय बढी व्यवसायीहरुको उपस्थिति रहेको थियो ।
कार्यक्रम आयोजना गोकर्ण जगडोल शहिद तथा निजामती पार्कमा भएको थियो । बृहत वनभोज एवं सांस्कृतिक कार्यक्रममा काठमाडौं भिजन स्टिल एण्ड आल्मोनियम स्टक्चर प्रा.लि.का मनिष गुरुङलाई आर्थिक सहयोग समेत गरेको महासंघले जनाएको छ ।
गोरखा सिरानचोकका गुरुङ सिंहदरवार भित्र रहेको गृहमन्त्रालयको कार्यक्षेत्रमा लडेर घाइते भई उपचारार्थ अवस्थामा छन् ।
गुरुङलाई औषधि उपचारमा समेत आर्थिक अभाव रहेकोले ग्रील तथा स्टील व्यवसायी संघ काठमाडौं पश्चिमक्षेत्रका अध्यक्ष सैलेश ठकुरीको पहलमा सहयोग गरेको हो ।
कार्यक्रममै उठेको एक लाख १० हजार रुपियाँ नगद महासंघका अध्यक्ष ठूलोबाबु श्रेष्ठले बिरामी मनिष गुरुङ लाई हस्तान्तरण गरे ।
कार्यक्रममा बोल्ने अधिकांश वक्ताहरुले ग्रील तथा स्टील व्यवसायलाई सम्मानजनक व्यवसाय बनाउन महासंघले खेल्नुपर्ने टिप्पणी गरेका थिए ।
अध्यक्ष ठुलोबाबु श्रेष्ठले के भने ?
गुण र दोषको आधारमा एवं कार्यसम्पादन मुल्याङ्कन गरेर जाँदा सबैको लक्ष्य भनेको महासंघ नै हो । आजैबाट महासंघलाई बलियो बनाउन लागौं ।
हार्डवेयर आफैंले मिस्त्री राखेर काम गर्न थालेको विषय उठेपछि विगतमा ग्रील व्यवसायीहरुले विभिन्न कम्पनी, रोलिङ मिलमा समेत ताला लगाएको हामीले विर्सिएका छैनौं ।
।
म आफ्नो नेतृत्वमा हुँदा महासंघलाई अगाडी बढाउन महत्वपुर्ण भूमिका निर्वाह गर्नेछु । भवन निर्माणको लागि आवश्यक पहलकदमी लिइरहेको छु । सरकारी निकायहरुसँग समन्वय र प्रदेश गठनसम्मका कार्यहरु भइरहेका छन् । यस्तै मजदुरहरुको सेफ्टी, रोजगारको सुरक्षा र सम्पूर्ण व्यवसायीहरुको संगठित हितको लागि सबैले मिलेर अघि बढे सम्भव छ ।
महासंघका केन्द्रिय सदस्य राजेश श्रेष्ठले संघ संस्थामा लाग्दा के हुन्छ ? भन्ने व्यवसायीहरुलाई मनिष गुरुङको उदाहारण दिदैं भने, “यस्तो अवस्था भोलिका दिनमा तपाई हाम्रोमा पनि पर्न सक्छ, संघ संस्था बिना सहयोग जुटाउन असम्भव छ ।अप्ठ्यारो परेको अवस्थामा साथ र सहयोग गर्न सक्छ।”
महासंघका केन्द्रिय अध्यक्ष ठुलोबाबु श्रेष्ठको प्रमुख आतिथ्यता एवं महासंघका वस्तुगत उपाध्यक्ष तथा वनभोज कार्यक्रम आयोजक समितिका संयोजक रुपेन्द्र बानियाँ (शिव) को सभापतित्वमा सम्पन्न कार्यक्रम महासंघका महासचिव विवेकदास श्रेष्ठले सञ्चालन गरेका थिए ।
कार्यक्रममा उपस्थित विभिन्न समितिका पदाधिकारी तथा सदस्य एवं व्यवसायीहरुलाई महासंघका वरिष्ठ उपाध्यक्ष अमृत बहादुर श्रेष्ठले स्वागत गरेका थिए ।
स्वागत मन्तव्य राख्दै वरिष्ठ उपाध्यक्ष श्रेष्ठले महासंघलाई एक ढिक्का बनाउन यस्ता कार्यक्रमहरुले महत्वपुर्ण भुमिका खेल्ने बताए ।
कार्यक्रममा ग्रील तथा स्टील व्यवसायी संघ काठमाडौं अन्तरगत पुर्व क्षेत्रको एरियाहरुको प्रतिनिधित्व गर्दै कपन एरियाका अध्यक्ष भेषराज श्रेष्ठ र पश्चिम क्षेत्रको एरियाहरुको प्रतिनिधित्व गर्दै बालाजु, खुसीबु, चःमती, ढल्को एरियाको अध्यक्ष राजकुमार खड्काले मनतव्य राखे ।
कार्यक्रममा पुर्व क्षेत्रका अध्यक्ष विष्णुकुमार श्रेष्ठ, पश्चिम क्षेत्रका अध्यक्ष सैलेश ठकुरी, काठमाडौं जिल्लाका अध्यक्ष सुनिलकुमार अमात्य, ललितपुर जिल्लाका महासचिव शिव सुनुवार, भक्तपुर जिल्ला अध्यक्ष, काभ्रेपलान्चोक जिल्ला अध्यक्ष, वागमती प्रदेश संयोजक डि आर पौडेल, महासंघका सल्लाहाकार संयोजक निरन्जनकुमार श्रेष्ठले मनतव्य राखेका थिए ।