काठमाडौँ / च्याउ उत्पादनक किसान संघ, नेपाल र त्रिभुवन विश्वविद्यालयले च्याउको अध्ययन, अनुसन्धानका लागि सहकार्य गर्ने भएका छन् । विश्वविद्यालयले च्याउका प्रजातीका गुणस्तर निर्धारण, नियन्त्रण गर्ने र उक्त विषयमा किसानले सहयोग पुर्याउनेलगायतका विविध ११ बुँदे समझदारी पत्रमा विश्वविद्यालयका तर्फबाट जैविक प्रविधि केन्द्रीय विभागका प्रमुख डा. गिरीराज त्रिपाठी र च्याउ उत्पादक किसान संघ नेपालका अध्यक्ष सन्तोष कार्कीले हस्ताक्षर गरेका हुन् ।
सो सम्झौताले च्याउको आनुवंशिक सुधार, रैथाने प्रजातीहरूको संरक्षण तथा व्यावसायिक उत्पादनको प्रविधि विकास गर्न सहयोग पुग्ने च्याउ उत्पादक किसान संघले जनाएको छ ।
सम्झौताअनुसार च्याउ उत्पादक किसान संघ र विश्वविद्यालयले खाद्य तथा औषधिजन्य च्याउ तथा ढुसीजन्य पदार्थमा अनुसन्धान नवप्रवर्तन र प्रविधि–उद्यमोदयका लागि ज्ञान तथा प्राविधिक सहयोग आदन–प्रदान गर्ने भएका छन् ।
विश्वविद्यालयले च्याउका प्रजातीका गुणस्तर निर्धारण, नियन्त्रण गरी आवश्यकता अनुसार च्याउ किसानहरूलाई उपलब्ध गराउने अध्यक्ष कार्कीले बताए ।साथै, विश्वविद्यालय र च्याउ किसान संघले च्याउको अध्यन, अनुसन्धान, नवप्रवर्तन र प्रविधि उद्ययमोदयका लागि स्वदेशी तथा विदेशी संघ संस्थासँग प्रस्ताव पेस, परियोजना सञ्चालनमा सहकार्य गर्ने भएका छन् ।
सम्झौताअनुसार विश्वविद्यालयले च्याउको आनुवंशिक सुधार, रैथाने प्रजातीहरूको संरक्षण तथा व्यावसायिक उत्पादनको प्रविधि विकास गर्न काम गर्नेछ । सो कार्यका लागि संघले सहयोग गर्ने अध्यक्ष कार्कीले जानकारी दिए ।
साथै, च्याउको प्रजातीअनुसार वातावरणीय अनुकुलन प्रविधि विकास गरी व्यवसायिक उत्पादन प्रविधिका लागि कार्य गरिने कार्की बताउँछन् । उनका अनुसार च्याउका विभिन्न प्रजातीमा लाग्ने रोगहरूको अनुसन्धान गरी निराकरणका अनुसन्धान गरिनेछ ।
औषधिजन्य र बहुमूल्य च्याउका प्रजातीहरूको पहिचान, उत्पादन प्रविधि विकास गरी व्यवसायीकरणका लागि प्रविधि तथा ज्ञान हस्तान्तरण गर्ने सम्बन्धमा पनि विश्वविद्यालय र च्याउ किसान संघले सहकार्य गर्ने भएका छन् ।
“सम्झौताअनुसार नेपालभित्र उपलब्ध भएका खाद्य तथा औषधिजन्य च्याउ प्रजातीका श्रोतहरूको पहिचान र आनुवंशिक संरक्षण गर्ने सम्झौता भएको छ भने व्यवसायिकरणका विषयमा तालिमा सञ्चालन गरिनेछ,” अध्यक्ष कार्कीले भने ।
त्यसैगरी, च्याउको व्यवसायिक तथा उत्पादनको विविधिकरण गरिनेछ । दुवै पक्षले हरेक वर्ष सहकार्यको प्रगतिमा समीक्षा गर्ने उनले बताए । दुवै पक्षको सहमतिमा समय सापेक्ष संशोधन तथा थपघट क्रमिक रूपमा गरिने अध्यक्ष कार्कीले जानकारी दिए ।