काठमाडौँ / महानगर यातायात प्रालिद्वारा टाटाका थप ४० वटा बसहरू सञ्चालनमा ल्याएको छ । बिहीबार काठमाडौँमा पत्रकार सम्मेलनको आयोजना गरी विहीबारदेखि टाटाका थप ४० वटा बसहरू सञ्चालनमा ल्याइएको प्रालिका उपाध्यक्ष सन्तोष खतिवडाले जानकारी दिएका हुन् । उनका अनुसार नयाँ बस थपिएसँगै महानगरका बसहरूको सङ्ख्या ८९ पुगेको छ ।
उनले भने, “हाल काठमाडौँको चक्रपथमा यात्रुहरुलाई सेवा दिदै आएको महानगर यातायातले टाटाका थप ४० वटा बसहरू आजैदेखि सचालनमा ल्याउँदैछ । नयाँ बस थपिएसंगै हाम्रा वसहरुको संख्या ८९ पुगेको छ । सिप्रदी ट्रेडिङ प्रा.लि.का प्रमुख कार्यकारी अधिकृत राजनबाबु श्रेष्ठको हातबाट ती बसहरूको चावी लिदै गर्दा थप जिम्मेवारीको महसुश गरेका छौँ ।”
नयाँ बसहरू सञ्चालनमा आएसँगै महानगर यातायातले चक्रपथ बाहेकका अन्य गन्तब्य र रुटहरुमा पनि सेवा विस्तार गर्ने भएको छ । आजैदेखि महानगर यातायातले काठमाडौंको चन्द्रागिरी, गोदाम र थानकोटदेखि काभ्रेको बनेपा हुँदै धुलिखेलसम्मका रुटमा यात्रुहरूलाई सेवा प्रदान गर्न सुरु गर्नेछ ।