रिपुमर्दिनी सैनिक महाविद्यालयको २० औँ वार्षिकोत्सवको उपलक्ष्यमा आयोजित तीन दिने प्रधान सेनापति बृहत् विज्ञान प्रदर्शनी–२०८१ आज सकिएको छ ।
समापन कार्यक्रममा प्रधान सेनापति महारथी अशोक राज सिग्देलले प्रदर्शनीको अवलोकन गर्नुका साथै विज्ञान प्रदर्शनीमा सहभागी विद्यालयहरुका उत्कृष्ट प्रोजेक्टहरूलाई पुरस्कृत गरिएको छ ।
रिपुमर्दिनी सैनिक महाविद्यालयका संरक्षक सैनिक श्रीमती संघकी अध्यक्ष निता क्षेत्री सिग्देलले पनि विभिन्न विधामा उत्कृष्ट छात्रछात्राहरुलाई पुरस्कार वितरण गरेकी थिइन् ।
कार्यक्रममा प्रधान सेनापति महारथी सिग्देल तथा सैनिक श्रीमती संघकी अध्यक्ष क्षेत्री सिग्देलबाट संयुक्त रूपमा महाविद्यालयको वार्षिक मुखपत्र रिपुमर्दिनी रिदमको विमोचन गरियो ।
बलाध्यक्ष रथी प्रदीप जंग के.सी.ले फागुन ४ गते समुद्घाटन गरिएको उक्त प्रदर्शनीमा विभिन्न सामुदायिक तथा संस्थागत गरी कुल २५ वटा विद्यालयका ३९ वटा प्रोजेक्टहरूको सहभागिता थियो । ्
रिपुमर्दिनी सैनिक महाविद्यालयले वि.सं. २०७७ सालबाट सुरु गरेको प्रधान सेनापति बृहत् विज्ञान प्रदर्शनीको यो पाँचौँ संस्करण हो ।
प्रदर्शनीको विभिन्न विद्यालय तथा महाविद्यालयका विद्यार्थी, शिक्षक, अभिभावक तथा सर्वसाधारणले अवलोकन गरेका थिए ।
समापन कार्यक्रममा बलाधिकृत, बलाध्यक्ष, रथीबृन्द, अधिकृत, शिक्षकवर्ग तथा विद्यार्थीहरूको उपस्थिति रहेको थियो ।
विभिन्न सामुदायिक तथा संस्थागत विद्यालय तथा महाविद्यालयहरू सम्मिलित यस प्रकारको बृहत् विज्ञान प्रदर्शनीले विद्यार्थी तथा युवाहरूलाई विज्ञान, प्रविधि र अनुसन्धानमा प्रेरित गर्ने विश्वास लिइएको छ।