काठमाडौँ / मिडिया स्पेस सोलुसन्स प्रालि र फ्युचरएक्स ट्रेड फेयर एन्ड इभेन्ट्स प्रालिले संयुक्त रूपमा नेपाल बिल्डकन अन्तर्राष्ट्रिय प्रदर्शनीको १०औँ संस्करण काठमाडौँको भृकुटिभण्डपमा आजदेखि सुरु हुँदैछ ।
विभिन्न देशका तीन सयभन्दा बढी ब्रान्डका डेढ सयभन्दा माथि स्टल रहेको सो प्रदर्शनी फागुन ८ देखि सुरु भएर ११ गतेसम्म चल्नेछ ।प्रदर्शनीमा विभिन्न देशका तीन सयभन्दा बढी प्रख्यात ब्रान्डका स्टल रहनेछन् ।
उक्त प्रदर्शनीमा निर्माणसम्बन्धी उद्योग, कम्पनी, डिलर तथा सबडिलर र विक्रेताले निर्माण व्यवसायसँग सम्बन्धित उत्पादनबारे जानकारी गराउने प्रदर्शनी र स्टल रहने आयोजकले जनाएको छ ।
“निर्माण सामग्री तथा उपकरण, केमिकल्स, युपिभिसीका झ्यालढोका, आर्किटेक्चरल हार्डवेयर, बाथरुम फिटिङ पाइप, टायल्स, कंक्रिट ब्लकलगायत उत्पादक कम्पनीले सहभागिता जनाउनेछन्,” आयोजकले उल्लेख गरेको छ ।
प्रदर्शनीले नेपालमा उत्पादन भइरहेका सामग्री र प्रविधिलाई पनि अन्तर्राष्ट्रिय बजारसम्म लैजान सहयोग पुग्ने आयोजकले विश्वास लिएको छ ।
आयोजकका अनुसार निर्माण क्षेत्रमा काम गरिरहेका नेपालका दिग्गज आर्किटेक्ट, इन्जिनियर, कन्ट्र्याक्टर, बिल्डर, इन्टेरियर डिजाइनरको समेत उल्लेख्य सहभागिता रहनेछ ।
निजी घर बनाउन चाहने, व्यापारिक कम्प्लेक्स, व्यावसायिक भवन बनाउने व्यक्ति तथा संस्थाको पनि उपस्थिति रहनेछ । चार दिनसम्म चल्ने प्रदर्शनीमा निःशुल्क प्रवेशको व्यवस्था गरिएको छ ।
प्रदर्शनीको टाइटल स्पोन्सर लुम्बिनी सेरामिक्स (लामिनार टायल्स) रहेको छ भने पावर्ड बाई प्रायोजकमा फ्लाइबर्ड र सहप्रायोजकमा पर्ल प्रेसिजन रहेका छन् ।
सहयोगी संस्थामा नेपाल निर्माण व्यवसायी महासंघ, सोसाइटी अफ कन्सल्टिङ आर्किटेक्चरल एन्ड इन्जिनियरिङ फम्र्स, सोसाइटी अफ नेप्लिज आर्किटेक्ट्स तथा इन्टेरियर डिजाइनर्स एसोसिएसन अफ नेपाल रहेका छन् ।