काठमाडौँ / राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले नवनियुक्त सहायक (प्रशासन सेवाका) ९५ जना र बरिष्ठ सहायक स्तरका २ जना गरी जम्मा ९७ जना कर्मचारीहरूलाई चौध दिने पूर्व सेवाकालिन तालिम काठमाडौँमा सञ्चालन गरिरहेको छ ।
बैंकले लोक सेवा आयोगबाट सञ्चालित लिखित परीक्षा तथा अन्तरवार्ताबाट कोशी, मधेश र बागमती प्रदेशका लागि प्रदेशगत रूपमा छनौट भएका नवनियुक्त कर्मचारीहरूलाई पूर्व सेवाकालिन तालिम प्रदान गरेको हो ।
तालिमको उद्घाटन गर्दै बैंकका प्रमुख कार्यकारी अधिकृत देवेन्द्ररमण खनालले यस बैंकप्रति जनताको अत्यन्तै विश्वास रहेको र त्यस विश्वासलाई जोगाईराख्न फ्रन्टलाइनमा बस्ने कर्मचारीहरूले सदैव जिम्मेवार भएर सेवा दिनुपर्ने बताए ।
उनले विभिन्न प्रक्रियापश्चात बैंकले युवा कर्मचारीहरूलाई नियुक्ति दिएको बताउँदै बैंकिङ्ग क्षेत्रमा भएको बढ्दो जोखिमलाई न्यूनीकरण गरी कार्य गर्नुपर्ने जानकारी दिए ।
कार्यक्रममा बैंकका नायब प्रमुख कार्यकारी अधिकृतहरू सरस्वती अधिकारी र देवेशप्रसाद लोहनीले नवनियुक्त कर्मचारीहरूलाई कार्यस्थलमा जिम्मेवारी बहन गर्दा अपनाउनुपर्ने कर्तव्य बोध गराएका थिए ।
कार्यक्रममा मानव संशाधन विभागका विभागीय प्रमुख भीमप्रसाद घिमिरेले नवनियुक्त सहायक तथा बरिष्ठ सहायह ९७ जना कर्मचारीहरूलाई बैंकको कर्मचारी सेवा विनियमावली बमोजिम शपथ गराएका थिए ।
कार्यक्रम माानव संशाधन विभागका विभागीय उपप्रमुख हरिबाबु आचार्यले सञ्चालन गरेका थिए । कार्यक्रममा बैंकका उपकार्यकारी अधिकृतहरू विनयरमण पौडेल, दुर्गा कुमारी कँडेल, विभागीय प्रमुख पद्यमा लक्ष्मी जि.सी.लगायत कर्मचारीहरूके उपस्थिति रहेको थियो ।
बैंकको हाल ७ प्रदेश, ७७ जिल्लाका सबै सदरमुकाममा सहित २९४ वटा शाखा कार्यालय, ७२ वटा एक्सटेन्सन काउन्टर, ३१२ वटा एटिएम र ९९ वटा शाखा रहित बैंकिङ्ग रहेको छ ।