शेयर बजारमा उत्साह : नेप्से ५४ अङ्कले बढ्दा ७ अर्बमाथिको कारोबार, यस्तो छ बजार बढ्नुको कारण 

शेयर बजारमा उत्साह : नेप्से ५४ अङ्कले बढ्दा ७ अर्बमाथिको कारोबार, यस्तो छ बजार बढ्नुको कारण 

अर्थ डबली
आइतवार, बैशाख १९ २०७८
अर्थ डबली
आइतवार, बैशाख १९ २०७८ (अर्काइभ बाट)
  • शेयर बजारमा उत्साह : नेप्से ५४ अङ्कले बढ्दा ७ अर्बमाथिको कारोबार, यस्तो छ बजार बढ्नुको कारण 

    काठमाडौँ / साताको पहिलो कारोबार दिन आइतबार शेयर बजार ५४ अङ्क अर्थात २.०७ प्रतिशतले बढेर २ हजार ६६५.११ बिन्दुमा उक्लिएको छ । 

    images
    images

    गत साता गिरावट आएको बजारले यस साताको सुरुवातमै आफ्नै लय समातेको हो । यो दिन कूल २२६ ओटा कम्पनीको ८३ हजार ४०४ पटकको व्यापारमा एक करोड ५८ लाख ३२ हजार ४०३ कित्ता शेयर खरिदबिक्री हुँदा ७ अर्ब ३६ करोड ८ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।

    एकातिर कोभिड १९ को दोस्रो लहर तीव्र रूपमा फैलिएको कारण धेरै मानिसहरू मानसिक तनाव झेलिरहेका छन् भने अर्कोतिर सरकारले जारी गरेको निषेधाज्ञाका कारण बजार, व्यवसाय, उद्योग, कलकारखाना र अफिसहरू बन्द छन् । यस्तो कठिन समयमा शेयर बजारले उचाई प्राप्त गर्नु निकै सकारात्मक भएको इन्भेष्टर फोरमका अध्यक्ष छोटेलाल रौनियार बताउछन् । 

    लगानीकर्ताहरूको मनोबल उच्च हुँदा बजारले गति लिएको उनको भनाई छ । बैंकको ब्याजदर बढ्छ, कोभिड १९ का कारण सम्पूर्ण आर्थिक क्षेत्र ठप्प हुन्छ र शेयर बजार बन्द हुन्छ भन्ने हल्लाले पनि पछिल्लो समय बजार घट्न सहयोग गरेको उनको बुझाइ छ ।

    प्राविधिक विश्लेषकहरूले केही अनाइनमा बजार घट्ने भन्दै गलत प्रचार प्रसार गरेको कारण साना तथा मझौला लगानीकर्ताहरू आत्तिएको भन्दै यस्तो गलत प्रवृत्तिले बजारलाई असर गर्ने उनले बताए । 

    “वर्तमान अवस्थामा सम्पूर्ण आर्थिक क्षेत्र ठप्प जस्तै छ, यस्तो कठिन समयमा पनि घरैमा बसेर शेयर बजारमा लगानी गरेर आम्दानी गर्न सकिन्छ ।” उनले भने । अर्थ मन्त्रालय, राष्ट्र बैंक, बीमा समिति, धितोपत्र बोर्ड, सिडिएसलगायतका सम्पूर्ण नियामक नियकाहरू शेयर बजारप्रति सकारात्मक भएको कारण पछिल्लो समय बजारले गति लिएको उनले बताए ।

    आज बजारमा १०/१२ ओटा कम्पनीको शेयरमूल्य मात्रै बढेको कारण बजार बढेको र ७० प्रतिशत कम्पनीको शेयरको मूल्य बढ्नै बाँकी रहेको उनको भनाइ छ ।

    अध्यक्ष रौनियारकाअनुसार अनलाइन प्रणालीमा सुधार आएसँगै विदेशमा हुने नेपालीहरूले पनि शेयर बजारमा लगानी बढाइरहेको र अझै बैंकिङ, होटल, हाइड्रोपावर लगायतका क्षेत्रमा लगानी बढ्ने कारण बजार अझै बढ्नेछ । 

    नयाँ कम्पनीहरूको आइपिओ आउनु र आइपिओ भर्ने तथा डिम्याट खाता खोल्नेहरुको संख्या बृद्धि हुनुले पनि आगामी दिनहरुमा बजारले नयाँ उचाइ प्राप्त गर्दै जाने उनको विश्वास छ ।

    अनलाइनमार्फत घरमै बसेर कारोबार गर्न सकिने भएको कारण निषेधाज्ञाका कारण अन्य क्षेत्रको व्यवसाय बन्द हुँदा ती क्षेत्रमा हुने लगानी पनि शेयर बजारमा आउने भएकोले बजार घट्ने कारण नभएको उनी बताउछन् । 

    लगानीकर्ताहरुलाई हल्लाको पछि नलाग्न र सही कम्पनी छनोट गरेर शेयर बजारमा लगानी गर्न समेत उनको आग्रह छ । 
    यसदिनको कारोबारमा विशाल बजार कम्पनी र महिला लघुवित्तको शेयरमूल्य सर्वाधिक बढी ९.९८ प्रतिशतले बढेको छ भने सिङ्गटी हाइड्रोको शेयरमूल्य पनि आज ९.९२ प्रतिशतले बृद्धि भएको छ । बढेको बजारमा एभरेष्ट बैंकको संस्थापक शेयरधनीहरुले भने सर्वाधिक बढी १.९९ प्रतिशतले गुमाएका छन् । 

    आज बजारमा एनसिसि बैंकको सर्वाधिक बढी ४२ करोड रुपैयाँ बराबरको कारोबार भएको छ भने नेपाल पुनर्बीमा कम्पनीको ४० करोड बराबरको शेयर कारोबार भएको छ । 

    आज कारोबारमा आएका सबै समूहको परिसूचकमा हरियाली छाएको छ । यसदिन बैंकिङ समूहको परिसूचक १.१२ प्रतिशत, विकास बैंकको १.३५ प्रतिशत, वित्त समूहको १.३० प्रतिशत, जीवन बीमा समूहको ३.३४ प्रतिशत र निर्जीबन बीमा समूहको परिसूचक ३.३७ प्रतिशतले बृद्धि भएको छ ।

    यसैगरी व्यापारिक समूहको परिसूचक २.११ प्रतिशत, अन्य समूहको ४.६१ प्रतिशत, म्युचुअल फण्ड समूहको ०.३२ प्रतिशत, लगानी समूहको ०.६५ प्रतिशत, हाइडरो पावर समूहको १.४६ प्रतिशत र होटल तथा पर्यटन समूहको परिसूचक ३.३८ प्रतिशतले बृद्धि भएको छ । 


    साताको लोकप्रीय