बुटवल / शाइन रेसुङ्गा डेभलपमेण्ट बैङ्कले शाइन बिजनेस प्रिजेन्टेसन कम्पिटिसन सिजन १ सफलतापूर्वक सम्पन्न गरेको छ । रूपन्देही र कपिलवस्तु जिल्लाका ११ वटा व्यवस्थापन सङ्कायका कलेजका ५२ जना स्नातक तहका बिद्यार्थीहरूले शाइन बिजनेस प्रिजेन्टेसन कम्पिटिसन सिजन–१ मा भाग लिएका थिए ।
जसमा विद्यार्थीहरूले “SWOT Analysis of Shine Resunga Development Bank Limited” बिषयमा निर्णायकहरूको उपस्थितीमा आ-आफ्नो प्रस्तुति राखेका थिए ।
अनलाइन मार्केटिङ सेवाहरूमा केन्द्रित रहेको स्टार्ट-अप कम्पनी वन स्क्वायर कन्सलट्यान्टले शाइन बिजनेस प्रिजेन्टेसन कम्पिटिसनलाई भिजुअल पार्टनरकोरूप सहयोग गरेको थियो ।
द एसआर होटल, ड्राइभरटोल रुपन्देहीमा एक औपचारिक कार्यक्रम आयोजना गरी सहभागी क्याम्पसका क्याम्पस प्रमुखहरू, कार्यक्रम संयोजकहरू र बिद्यार्थीहरूबीच प्रतियोगिताको बिजेता घोषणा गरिएको थियो ।
सहभागीहरूमध्ये क्षितिज इन्टरनेशनल कलेजका तर्फबाट बीबीए-बीआईका विद्यार्थीहरू क्रमशः प्रमिश राई बान्तवा, प्रियंका अर्याल, सुमित प्रसाद काशौधन र प्रशंसा अधिकारीको टोली सिजन–१ बिजेता घोषणा भएका थिए ।
त्यसैगरी, लुम्बिनी बाणिज्य क्याम्पसका तर्फबाट बीबीएका विद्यार्थी क्रमशः गणेश सुवेदी, कृति न्यौपाने, रक्षा श्रेष्ठ र सन्तोष न्यौपानेको टोली फस्ट रनरअप भएका थिए भने कपिलवस्तु बहुमुखी क्याम्पसकातर्फबाट बीबीएसका विद्यार्थीहरू क्रमशः सन्तोष कुमार विश्वकर्मा, ओमकार मिश्र, गुडिया अग्रहरी र निशा गुप्ताको टोली सेकेन्ड रनर अप घोषित भएका थिए ।
बिजेता टिमका सदस्यहरुलाई नगद १५ हजार, ट्रफी, स्वर्ण पदक, प्रशंसा पत्र र आकर्षक उपहार, सेकेन्ड रनर अप टिमका सदस्यहरूलाई नगद १० हजार, ट्रफी, रजत पदक, प्रशंसा पत्र र आकर्षक उपहार त्यसैगरी तेस्रो टिमका सदस्यहरूलाई नगद पाँच हजार, ट्रफी, कांस्य पदक, प्रशंसा पत्र र आकर्षक उपहारसहित क्रमशः पुरस्कृत गरिएको थियो ।
शाइन बिजनेस प्रिजेन्टेसन कम्पिटिसनमा एक्सिस कलेज, एम्स कलेज, बुटवल मोडल कलेज, बुटवल कालिका क्याम्पस, बुटवल बहुमुखी क्याम्पस, सिद्धार्थ इन्टरनेशनल कलेज, लुम्बिनी बाणिज्य क्याम्पस, क्रिमसन कलेज अफ टेक्नोलोजी, साई ग्लोबल कलेज, क्षितिज इन्टरनेशनल कलेज र कपिलवस्तु बहुमुखी क्याम्पससहित ११ वटा कलेजहरूको सहभागीता रहेको थियो ।
कार्यक्रमलाई सम्बोधन गर्दै शाइन रेसुङ्गा डेभलपमेण्ट बैङ्कका नायव प्रमुख कार्यकारी अधिकृत लोक राज पनेरुले यस प्रतियोगिता आयोजना गर्नुको मुख्य उद्देश्य विद्यार्थीहरूलाई कर्पोरेट संसार परिचित गराउनु र विद्यार्थीहरूलाई भविष्यको रोजगारी र उद्यमशीलता अवसरहरूको लागि तयार पार्नु रहेको बताए ।
साथै, शाइन रेसुङ्गा डेभलपमेण्ट बैङ्कले आगामी दिनमा पनि यस्तै कार्यक्रमहरू आयोजना गर्न प्रतिबद्ध रहेको पनेरुले बताए ।
नेपाल राष्ट्र बैङ्कबाट जारी निति निर्देशन तथा अन्य प्रचलित ऐन कानुनको पूर्ण पालना गर्दै संस्थागत सुसाशन, नविनतम् सोच, सरल र सहज ग्राहक सेवा र सम्पूर्ण स्टेकहोल्डर्सको हितमा कार्य गर्ने शाइन रेसुङ्गा डेभलपमेण्ट बैंक लिमिटेडले हाल ५ वटा प्रदेशमा ८४ वटा शाखा कार्यालय, १ वटा एक्सटेन्सन काउन्टर र १६ वटा एटिएम नेटवर्कमार्फत बैङ्किङ्ग सेवा प्रदान गर्दै आइरहेको छ ।
सो विकास बैङ्कले ग्रामिण बैङ्किङ्गलाई उच्च प्राथमिकतामा राख्दै वित्तीय पहुँचमा महत्त्वपूर्ण भूमिका निर्वाह गरेको छ ।